(Japan) 12 th September | 2024 | Thursday | 1:22:19 AM || (Nepal) 10:07:19 PM
 
 


जापानमा महाभूकम्प चेतावनी अवधि सकियो, 'सावधानी र तयारी सँधै आवश्यक' : विज्ञ

  POSTED ON : Sunday, 18 August, 2024 | Views : 822

जापानमा महाभूकम्प चेतावनी अवधि सकियो, 'सावधानी र तयारी सँधै आवश्यक' : विज्ञ


टोकियो, जापान ।

प्रधानमन्त्री किशिदा फुमियोले पूर्व निर्धारित एक हप्ताको बिदेश भ्रमण उड्ने दिन बिहाननै रद्द गरेपछि जापानको मौषम विज्ञान एजेन्सीले दिएको महाभूकम्पको चेतावनी एकाएक महत्वपूर्ण विषय बनेको थियो । अघिल्लो बिहिबार साँझ एजेन्सीले मियाजागी प्रान्तमा ७.१ म्याग्निच्युडको भूकम्प गएपछि जारी गरेको चेतावनी यो बिहिबार साँझ ५ बजेबाट हटेको छ । तर विज्ञहरु भन्छन् महाभूकम्पको चेतावनी हटेको हो जोखिम टरेको हैन ।


यो भनेको के हो त ?

जापानको मौसम विज्ञान एजेन्सीले प्रशान्त महासागरको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प आउन सक्ने सम्भावित भूकम्पका लागि आफ्नो सल्लाह अवधिको अन्त्य भएपनि मानिसहरूलाई आफ्नो सतर्कता अवस्थालाई कम नगर्न आह्वान गरेका छन् ।

एजेन्सीले एक हप्ता अघि दक्षिणी जापानको मियाजाकी प्रिफेक्चरमा ७.१ म्याग्निच्युडको भूकम्प गएपछि नानकाई ट्रफको छेउमा ठूलो भूकम्प जाने जोखिम सामान्यभन्दा बढी रहेको बताएको थियो ।

भूकम्प नानकाई ट्रफको वरपरको क्षेत्रमा गएको थियो जहाँ एक महा भूकम्पको भविष्यवाणी गरिएको छ र देशको प्रशान्त तटको धेरै भाग उच्च जोखिममा रहेको सल्लाह दिइएको थियो ।

अधिकारीहरूले भनेका थिए कि एडभाइजरीको मतलब भूकम्प निश्चित समयमा निश्चित रूपमा जान्छ भन्ने होइन। तर उनीहरुले २९ प्रिफेक्चरका ७०० भन्दा बढी नगरपालिकालाई सम्भावित विपद्का लागि आफ्नो तयारी चेकजाँच गर्न भनेका थिए ।

नानकाई ट्रफ क्षेत्रमा भूकम्प जान्छ चाहिँ कहिले ?

नानकाई ट्रफको भूकम्पको दिन नजिकिँदै गरेको विज्ञहरु बताउँछन् । अनुमान गरिएको छ कि ८ भन्दा माथि ९ म्याग्निच्युड सम्मको हिंस्रक कम्पनले विशाल सुनामी निम्त्याउनेछ ।

सबैभन्दा खराब स्थितिमा ३००,००० मानिसहरुले ज्यान गुमाउन सक्ने विज्ञहरूले अनुमान गरेका छन्, केही इन्जिनियरहरूले पूर्वाधार नष्ट भएपछि क्षति १ सय ३० खर्ब येन पुग्नसक्ने बताएका छन् ।

नानकाई ट्रफ भूकम्पको केन्द्रबिन्दु जमिनको नजिक छ, त्यसैले भूकम्प पछि आउन सुनामी आउने समय छोटो रहँदा उद्दार र सुरक्षित स्थानमा जान समय कम रहनेछ ।

नानकाई ट्रफ भूकम्पहरू नानकाई ट्रफको छेउमा आउने ठूला भूकम्पहरू हुन्, जुन तोकाईदेखि क्युसुसम्म पूर्वदेखि पश्चिमसम्म लगभग ७०० किलोमिटर क्षेत्रमा फैलिएको छ ।

यस क्षेत्रमा करिब एक सयदेखि १५० वर्षमा ८ म्याग्निच्युडका ठूला भूकम्प गएका छन् । यसलाई आधार मान्ने हो भने यस क्षेत्रमा महाभूकम्प जाने समय नजिकिएको छ । अर्थात् अबको अधिकतम ३० बर्ष भित्रमा निश्चित रुपमा ८ देखि ९ म्याग्निच्युडको भूकम्प जाने अवस्था छ । त्यसैले तत्कालको लागि एकाध दिनमा जाने पूर्व चेतवनी त हटेको छ तर जोखिम टरेको छैन यथावत छ ।

जापानमा बसोबास गर्ने आधा मानिस विपद्बाट प्रभावित हुनसक्ने यस्तो प्रलयकारी अवस्था आएमा सहयोग गर्न सक्ने र सहयोग गर्नेको संख्या बराबर हुन्छ । प्रत्येक व्यक्तिले एक पटकमा एक व्यक्तिलाई मद्दत गर्नुपर्ने हुन्छ । परिणाम स्वरूप, सरकारको उद्दार शक्ति अपर्याप्त हुनेछ यसर्थ आफ्नो प्रयासले आफैं बाँच्नको लागि योजना र तयारी सँगै गरेर बस्नुपर्छ । यो नै अबको लागि एकमात्र र पहिलो विकल्प हो ।