(Japan) 12 th September | 2024 | Thursday | 1:41:48 AM || (Nepal) 10:26:48 PM
 
 


अमेरिकाले आजकै दिन सन् १९४५ मा आणविक बम खसाएर नागासाकी ध्वस्त बनाएको थियो

  POSTED ON : Friday, 09 August, 2024 | Views : 506

अमेरिकाले आजकै दिन सन् १९४५ मा आणविक बम खसाएर नागासाकी ध्वस्त बनाएको थियो


टोकियो, जापान ।

फ्याट म्यान नामको आणविक बम खसाएर सन् १९४५ अगष्ट ९ मा आजकै दिन मा अमेरिकाले जापानी सहर नागासाकीमा आक्रमण गरेको थियो । त्यसअघि अमेरिकाले जापानको हिरोसिमामा पहिलो पटक परमाणु बम प्रहार गरेर १ लाख भन्दा बढिको ज्यान लिएको थियो । 

१९४१ को डिसेम्बर ७ मा जापानले अमेरिकाको पर्ल हार्बरमा बम आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा प्रत्यक्ष सहभागी भएको थियो । बम आक्रमणमा कम्तीमा २३ सय अमेरिकी सैनिक मारिएका थिए । त्यसलगत्तै अमेरिकाले जापानमाथि बदला लिने घोषणा गरेको थियो ।

दोस्रो विश्वयुद्धका दौरान १९४५ अप्रिल ३० मा सोभियत संघको सेनाले जर्मनी कब्जा गरेको थियो । जर्मनीका तानाशाह हिटलरले आत्महत्या गरेपछि मे ८ मा जर्मनीले आत्मसमर्पण गरेको थियो । जर्मनीले आत्मसमर्पण गरेसँगै युरोपमा दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । तर, एसियामा जापानले भने लडाइँ जारी राखेको थियो ।

कमजोर भइसकेको जापान पराजित हुने अवस्थामा पुगिसकेको थियो । तर आत्मसमर्पण गर्न अस्वीकार गरेको जापानलाई बदला लिने नियत सहित अमेरिकाले हिरोसिमामा ‘लिटिल ब्वाई’ परमाणु बम प्रहार गरेको थियो । जसमा परेर कुल १ लाख ६६ हजार नागरिक मारिएका थिए ।

त्यसलगत्तै आत्मसमर्पणका लागि गरेको आग्रह जापानले अस्वीकार गरेपछि अमेरिकाले नागासाकीमा ‘फ्याट म्यान’ बम खसालेको हो । जापानले त्यसको ६ दिनपछि मात्र आत्मसमर्पण गरेको थियो । दुईवटा बम आक्रमणका कारण कम्तीमा दुई लाख १० हजार मासिनको मृत्यु भएको थियो ।

दशकौं सम्म आणविक बमले तहस नहस र आणविक विकिरणको असरले उब्जनी नहुने हिरोसिमा र नागासाकीलाई मेहनती जापानीहरुले ५ दशक पछि पूर्ववत अवस्थामा फर्काइ विश्वकै उत्कृष्ठ शहरको दर्जामा पुर्याइसकेका छन् ।