टोकियो, जापान ।
जापान विद्यार्थी सेवा संगठन जास्सो एक स्वतन्त्र प्रशासनिक एजेन्सीद्वारा गरिएको एक अध्ययनले मे १, २०२३ सम्म ९०,७१९ विदेशी विद्यार्थीहरू जापानी भाषा विद्यालयहरूमा भर्ना भएका छन् ।
यो सन् २०११ मा पहिलो पटक जास्सोले अध्ययन थाले यताको सबैभन्दा ठूलो संख्या हो । विद्यार्थी संख्या सन् २०११ को तुलनामा ४०,००० ले बढेकोमा हालसम्मको बृद्धि प्रतिशत ८३.६ प्रतिशत पुगेको छ ।
विश्वविद्यालय र व्यावसायिक कलेजहरूमा भर्ना भएकाहरू सहित विदेशी विद्यार्थीहरूको सङ्ख्या, कुल संख्या २७९,२७४ पुगेको छ । बार्षिक बृद्धि २०.८ प्रतिशतले बढ्दा अघिल्लो बर्षको तुलनामा ४८,००० ले बढेको छ । सन् २०१९ मा कोभिड महामारि अघि शिखरमा पुगेपछि यो संख्या घटेको थियो । तर २०२३ मा कोभिड महामारी हटेपछि पहिलो पटक अघिल्लो वर्षको तुलनामा बढेको छ ।
जास्सोका एक अधिकारीले भने 'महामारीको समयमा यात्रा प्रतिबन्धका कारण पहिले जापानमा अध्ययन गर्न छोडेका विद्यार्थीहरूले फेरि प्रयास गर्ने निर्णय गरेको देखिन्छ ।'
राष्ट्रियता अनुसार, विद्यार्थीहरूको सबैभन्दा ठूलो संख्या चीनबाट आएका छन् । जुन संख्या ११७,४९३ अर्थात् कुल संख्या ४१।४ प्रतिशत रहेको छ । त्यसपछि नेपाली विद्यार्थीहरुको संख्या रहेको छ । हालसम्म ३७,८७८ नेपाली भाषा विद्यार्थी जापान आउँदा यो संख्या कुल प्रतिशतको १३.६ प्रतिशत हुन आउँछ ।
नेपालपछि भियतनामी विद्यार्थी ३६,३३९, दक्षिण कोरिया १४,९४६, म्यानमार ७,७७३ रहेको छ ।
नेपाल, म्यानमार, बंगलादेश र संअमेरिकाका विद्यार्थीहरूको संख्या अहिले सन् २०१९ मा कोभिड महामारि पूर्वको संख्या भन्दा बढी छ। एसियाली देशहरूका विद्यार्थीहरू जापानमा अध्ययन गर्नेहरूको ठूलो आकर्षण देखिन्छ । जापानमा भाषा अध्ययन गर्ने बिदेशी विद्यार्थी मध्ये एशियाली देशबाट २५४,२२४ अर्थात् कुल संख्याको ९१ प्रतिशत रहेको छ ।
सबैभन्दा धेरै विदेशी विद्यार्थीहरू स्वीकार गर्ने विश्वविद्यालयमा वासेदा विश्वविद्यालय रहेको छ । वासेदा विश्वविद्यालयले ५,५६० विद्यार्थी स्विकार गर्दा टोकियो विश्वविद्यालयमा ४,६५८ जना र तेस्रोमा रित्सुमेइकान विश्वविद्यालयमा ३,०२७ जना बिदेशी भाषा विद्यार्थी भर्ना भएका छन् ।