टोकियो, जापान ।
जापानमा साइकल चलाउने गर्नुभएको छ वा चलाउने योजनामा हुनुहुन्छ भने तपाईंले होसियारी अपनाउनुपर्ने नयाँ कडा कानुन बारे बुझ्नुपर्ने भएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने साइकल यात्रुलाई कडा कारबाही गर्ने विधेयकलाई जापानका सांसदहरूले सर्वसम्मतिले अनुमोदन गरेका छन् ।
सडक ट्राफिक ऐन संशोधन विधेयक माथिल्लो सदनले शुक्रबार पारित गरेको हो ।
यसअघि कार र मोटरसाइकलमाथि जरिवानाका लागि प्रयोग गर्ने गरिएको ‘निलो टिकट’ जुन साना अपराधहरूको लागि थमाउने गरिन्थ्यो अब साइकलहरूमा पनि लागू हुने भएको छ ।
संशोधित कानूनले ११३ उल्लङ्घनका घटनाका लागि जरिवाना तोकेको छ र १६ बर्ष वा माथिका मानिसहरूलाई यो नियम लागू हुन्छ । नयाँ परिवर्तित कानुन दुई वर्ष भित्र लागू हुनेछ ।
साइकल यात्रीहरू संलग्न हुने दुर्घटनाहरू बढ्दै गएका र प्रहरीले ट्राफिक बत्तीहरू बेवास्ता गर्ने र चिन्हहरू बेवास्ता गर्ने, र मोबाइल फोन प्रयोग गर्ने जस्ता खतरनाक व्यवहारहरूमाथि कारवाहीहरु बढाउँदै गएको छ ।
नयाँ कानुन अनुसार सबैभन्दा कडा नियम मदिरा पिएर साइकल चलाउनेहरुमाथि तोकिएको छ । जस अन्तर्गत मदिराको प्रभाव अन्तर्गत साइकल चलाउनेहरुलाई तीन वर्ष सम्म कैद वा ५००,००० येन, वा लगभग ३,२०० डलर सम्म जरिवाना हुनेछ ।