टोकियो, जापान ।
विश्वमै सबैभन्दा धेरै सार्वजनिक बिदा हुने देशको रुपमा नेपालको आलोचना भइरहँदा जापानमा रहेको नेपाली राजदूतावास टोकियोले भने बर्षभरिमा केवल १२ दिन मात्र सार्वजनिक बिदामा दूतावास बन्द रहने सूचना सार्वजनिक गरेको छ ।
राजदूत सहित केवल ४ जना नेपाल सरकारका कर्मचारीको भरमा झण्डै २ लाख नेपालीलाई सेवा प्रदान गर्दै आएको नेपाली राजदूतावास टोकियोले सेवाग्राहिको कामको चापलाई मध्यनजर गर्दै बार्षिक सार्वजनिक बिदा दुई तिहाई बढिले कटौति गरेको देखिन्छ ।
३५ दिन नेपालमा सार्वजनिक बिदा हुने गरेको भएपनि दूतावासले केवल १२ दिन सार्वजनिक बिदामा दूतावास बन्द रहने सूचनामा उल्लेख छ ।
जस अनुसार नेपाली मितिलाई अँग्रेजी मितिमा हेर्दा अप्रिल २९ र ३० तारिख गोल्डेन विकको दुई दिन मात्र सार्वजनिक बिदा राखिएको छ । यस बाहेक मे ३ तारिख जापानको संविधान दिवसको बिदा रहेको छ ।
जेठ ५ तारिख मे २८ मा नेपालको गणतन्त्र दिवस बिदा रहेको छ भने असोज ३, सेप्टेम्बर १९ तारिख नेपालको राष्ट्रिय दिवसको बिदा रहेको छ ।
असोज १७, अक्टोबर ३ मा बडा दशैंको घटस्थापना तथा १० र ११ तारिख सप्तमी फूलपाती र महानवमीको बिदा रहेको छ । बडा दशैंको दिन साप्ताहिक बिदा परेकाले यहाँ समावेश गरिएको छैन ।
यस बाहेक कार्तिक १५, अक्टोबर ३१ मा तीहारको लक्ष्मी पूजा, पुष १७, जनवरी १ तारिख अँग्रेजी नयाँ बर्ष एवं माघ २९ फेब्रुवरी ११ जापानको राष्ट्रिय स्थापना दिवस बिदा रहेको छ भने फागुन १२ फेब्रुवरी २४ मा जापानका सम्राटको बिदामा नेपाली राजदूतावास बन्द रहनेछ ।
यस पटक बडा दशैं तथा तीहार सहित अन्य महत्वपूर्ण नेपाली चाडहरु शनिवार र आईतबार परेका कारण दूतावासले ति बिदाहरुमा अन्य सट्टा बिदा राखेको छैन भने बैशाख १ गते नेपालको नयाँ बर्षको बिदा समेत यस्तै संयोगमा पर्दा दूतावास खुल्ने दिन धेरै पर्न गएको छ ।
जापानका लागि महामहिम राजदूत डा। दूर्गाबहादुर सुवेदीले राजदूतको कार्यभार सम्हालेदेखिनै दूतावासको बार्षिक बिदा कटौति सहित दूतावास खुल्ने दिन र समयमा सुधार गर्दै दूतावासले उपलब्ध गराउने सेवाहरुलाई छिटो छरितो बनाउने प्रयास गर्दै आएको देखिन्छ ।
यहि प्रयास अन्तर्गत दूतावासले विक्रम संवत् २०८१ सालको लागि दूतावास खुल्ने दिन बृद्धि गरि सार्वजनिक बिदाहरुलाई कटौति गरेर केवल १२ दिनमा सिमित बनाएको देखिएको छ ।