टोकियो, जापान ।
नेपाली राजदूतावास टोकियोले जापानभर रहेका नेपालीहरुलाई विद्युतीय राहदानी (पासपोर्ट) सहित विभिन्न सन्सुलर सेवा उपलब्ध गराउँदै आएको छ । राजदूतावासबाट नियमित र बेलाबखत विभिन्न प्रान्तहरुमा घुम्ति सेवा मार्फत विद्युतिय राहदानी बनाउने सुविधा प्रदान हुँदा पासपोर्ट बनाउन नेपाल जानुपर्ने बाध्यता हटेको छ ।
पछिल्लो समय नेपाल सरकारले पासपोर्ट बनाउँदा लाग्ने शूल्कमा केहि परिवर्तन गरेपछि राजदूतावास टोकियोले पनि पासपोर्ट बनाउँदा लाग्ने शूल्कमा परिवर्तन गरेको छ ।
दूतावासले एक विज्ञप्ति जारी गर्दै २०२३, जुन १९ तारिख सोमबार, आईतबारबाटै लागू हुनेगरि नयाँ शूल्क लागू भएको जनाएको छ ।
विज्ञप्ति अनुसार नेपाल सरकार, मन्त्रिपरिषदको २०८० साल जेठ २४ गतेको निर्णय अनुसार राहदानी नियमावली, २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरी नियमावलीको अनुसूची ४ मा संशोधन भै विद्युतीय राहदानीको राजश्व दस्तुरमा परिर्तन गरिएको छ ।
परिवर्तिन नियमानुसार जापानबाट पासपोर्ट बनाउँदा सन् २०२३ जुन १८ तारिख आइतबारबाट ६६ पृष्ठको राहदानी दस्तुर ३४ पृष्ठको राहदानी दस्तुर सरह तोकिएको छ । जस अनुसार अब जापानबाट ३४ वा ६६ पृष्ठ जुनसुकै पृष्ठको राहदानी बनाउँदा १८,००० येन राजश्व बुझाउनुपर्नेछ ।
त्यसैगरि जापानमा जन्मेका बच्चाको पहिलो पटक राहदानी बनाउँदा यसअघि जस्तै राजश्व दस्तुर जापानी येन १५,००० बुझाउनुपर्नेछ ।
अनलाइन फर्म भरेर पालो कुरेर बसेका सेवाग्राहीले भरेको फाराम भएको विवरण अनुसार नै ३४ वा ६६ पेजको साधारण राहदानीका लागि लाइभ इन्रोल हुने र सोही अनुसार ३४ र ६६ पेजको राजहदानी जारी हुने समेत नेपाली राजदूतावास जापानले जनाएको छ ।