(Japan) 31 st May | 2026 | Sunday | 1:46:00 PM || (Nepal) 10:31:00 AM
 
 

जापानमा गर्मीबाट हुने असर र जोगिने उपायहरु, यसरी गर्नुस् आफ्नो स्वास्थ्य हेरचाह

Gokarna Adhikari   POSTED ON : Sunday, 18 June, 2023 | Views : 3598

जापानमा गर्मीबाट हुने असर र जोगिने उपायहरु, यसरी गर्नुस् आफ्नो स्वास्थ्य हेरचाह


टोकियो, जापान ।

जापानमा हरेक बर्ष जुन, जुलाई र अगष्ट महिनामा उच्च गर्मी हुने गर्दछ । कतिपय अवस्थामा जुन पहिलो साता देखि सेप्टेम्बर मध्यसम्म पनि गर्मी हुने गर्दछ । गर्मीको समयमा कयौं स्थानमा ४० डिग्रिसम्म तापक्रम पुग्दा दैनिक जीवन कष्ठकर बनाउँदछ ।

गर्मीकै कारण शरिरमा पानिको मात्रामा कमि, शारिरिक कमजोरी, बढि परिश्रम, अन्तरनिहित रोग जस्ता कारण हजारौं व्यक्तिमा हृदयघात, बेहोस् हुने तथा अन्य शारिरिक समस्याहरु देखिएर अस्पताल भर्ना हुनुपर्ने अवस्था आउने गरेको छ । यस मध्ये दर्जनौं व्यक्तिको वर्षेनी गर्मीकै कारण उत्पन्न शारिरक समस्याले निधन हुने गरेको छ । तर अस्पताल भर्ना वा ज्यान जानसक्ने गर्मीलाई टार्न सामान्य सावधानी पनि पर्याप्त बन्न सक्छ ।

उच्च गर्मीबाट जोगिन के गर्ने ?

- गर्मीको समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने ।

- बाहिर निस्कनै परेमा पातलो कपडा लगाउने, छाता ओढ्ने

- घाममा बाहिर निक्लंदा चिसो रुमाल बोक्ने र बेलाबेलामा अनुहार तथा टाउको ढाक्ने

- सफा पानि, चिसो पेय पदार्थ, फलफूलको रस तारन्तार पिउने शरिरमा पानिको मात्रा कम हुन नदिने

- गर्मी भयो भनेर मदिरा सेवन नगर्ने, यसले झन धेरै असर गर्दछ

- चिसो पानीले समय मिलेसम्म दिनको दुई तीन पटक शरिर पखाल्ने नुहाउने

- घाम लागेको समयमा बाहिरि काम सकभर बिहान बेलुका गर्ने

- कफी, सोडा, चिया जस्ता पेय पदार्थले बढि पिसाब गराउने भएकाले सकभर कम पिउने

- चिनीको मात्रा बढी भएको पेय पदार्थ वा झोल पदार्थ कम पिउने

- घर बाहिरको यात्रामा निक्लंदा साथमा पानिको बोतल बोक्ने

- गर्मीको समयमा शारिरिक व्यायाम कम गर्ने वा आराम गर्दै विस्तारै गर्ने

- घर, कोठामा रहँदा पंखा, एसी लगायत विद्युतिय सामग्री प्रयोग गरेर कोठालाई चिसो बनाउने

- घरको झ्याल ढोका पुरै बन्द नगर्ने, धेरै गर्मी वा धेरै चिसो भएमा झनै असर गर्ने हुँदा हावा सामान्य आउजाउ हुने ठाउँ राख्ने

- रात वा दिनको समयमा सुत्दा एसि धेरै चिसो बनाएर नसुत्ने

- गर्मीमा मादक पदार्थ पिएर, एसि चलाएर सुत्दा ज्यान समेत जानसक्ने जोखिम हुने भएकाले मादक पदार्थ नपिउने वा कम पिउने र त्यस्तो समयमा एसि धेरै चिसो नबनाई सामान्य तापक्रममा राख्ने

- गर्मीको समयमा तिर्खा लाग्ला पानी वा अन्य तरल पदार्थ एकछिनमा पिउँला भनेर ढिलाई गर्नु हुँदैन । पसिना, पिसाब तथा गर्मीले तातिएर सामान्य समयमा भन्दा धेरै पानिको मात्रा शरिरलाई चाहिने हुँदा एक पटकमा आधा लिटरसम्म र जतिसक्दो धेरै पटक सफा पानि वा पेय पदार्थ तारन्तार पिइरहनु पर्दछ ।

यसैगरी, गर्मीबाट जोगिन तरल पदार्थको नाममा मदिराजन्य वा धेरै बढी चिनी भएको तरल पदार्थ भने सेवन गर्नु हुँदै । यसले फाइदा भन्दा असर धेरै गर्छ किनभने यस्ता पेय पदार्थले शरीरमा भएको तरल पदार्थमा कमी गराउँछ ।

स्वास्थ्य विशेषज्ञहरुका अनुसार गर्मीबाट राहत पाउने नाममा धेरै चिसो पेय पदार्थ सेवन गर्नु हुँदैन । धेरै बढी चिसो भएको पेय पदार्थले तपाईंको पेट दुख्ने समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा सधैं आफूसँग भएको पानी वा फलको रस पिउनु पर्दछ ।

दुई तीन घण्टासम्म तिर्खा नलागेपनि पनि पानी वा तरल पदार्थ पिउनुपर्दछ । प्रत्येक घण्टा २ देखि ४ ग्लास तरल पदार्थ सेवन गर्नु गर्मीको समयमा स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

शरिरलाई आवश्यक मात्रामा पानि पुगेको छ वा छैन भनेर आफैंले पनि जाँच्न सकिन्छ । यसको लागि आफ्नो पिसाबको रंग हेर्न सकिन्छ । सफा र सेतो पिसाब भए शरीरमा तरल पदार्थको मात्रा सन्तुलित छ भन्ने बुझ्नुहोस् पहेंलो, रातो रंग वा धमिलो भए पानी नपुगेको बुझेर जतिसक्दो तरल पदार्थ तारन्तार नियमित पिउने गर्नुहोस् ।

बढी गर्मीको समयमा बाहिर निस्किनु परेमा वातानुकूलित भएको ठाउँमा केहि बेर बिताउन सकिन्छ । जस्तै शहरबजार तिर सपिङ मल, कन्भिनियन्स स्टोर, रेल स्टेसन लगायत एसि चलिरहेका वातानुकूलित ठाउँमा केही समय बिताएर शरिर चिसो बनाउन सक्नुहुन्छ ।

गर्मीबाट जोगिन समुन्द्र, खोला नाला, पौडी पोखरी आदिमा गएर पनि शरिरको तापक्रम सामान्य राख्न सकिन्छ । तर केहि बेर चिसो पानिमा बसेर त्यो भन्दा धेरै समय घाम वा गर्मी स्थानमा बस्नुभयो भने त्यसले खासै फाइदा गर्दैन त्यसैले यस्तो कुरामा ध्यान दिनुहुन अनुरोध गर्दछौं । स्वास्थ्य विशेषज्ञहरु गर्मीमा धेरै तरल पदार्थ पिउन, वातानुकुलित मौषममा बस्न तथा चिसो पानीले नुहाउनु धेरै फाइदाजनक हुने बताउँछन् ।

तपाईं रहेको ठाउँको तापक्रम अत्यधिक बढेको छ भने घरबाहिरको गतिविधिलाई बिहानदेखि साँझसम्म कम गर्नु अर्को उपयुक्त विकल्प हो । यस बाहेक अत्यधिक गर्मीका बेला दिनहुँ गरिने व्यायामहरु कम गर्न वा बन्द गर्नसक्नुहुन्छ । व्यायाम गर्नुपरेमा आधा वा एक घण्टाको बिचमा चिसो पानी पिउन भने भुल्नु हुँदैन ।

बाहिरी यात्रा गर्दा गर्मी मौसममा चौतारी, रुख, पार्क वा घाम छेक्ने र हावा चल्ने चिसो ठाउँहरुमा बस्नु पनि गर्मीबाट जोगिने अर्को उपाय हो ।

गर्मीलाई सामान्य नठानौं, ख्यालख्यालमै ज्यान जान सक्छ

गर्मीबाट बृद्धबृद्धा वा शारिरिक रुपमा कमजोर व्यक्ति मात्र हैन जुनसुकै व्यक्ति  जुनसुकै समयमा सिकार हुन सक्छन् ।

विशेषगरि शिशु र स-साना बालबालिका, ६५ वर्ष नाघेका बृद्ध व्यक्तिहरू, मानसिक समस्या भएका, शारीरिक रूपमा रोगी गर्मीको जोखिममा रहेका व्यक्तिहरु हुन् । यसमा पनि मुख्य रूपले मुटुसम्बन्धी रोग र उच्च रक्तचाप भएकाहरू गर्मीबाट उच्च जोखिममा रहेका हुन्छन् । किनभने सामान्य गर्मीबाट उत्पन्न हुने समस्याहरु पनि मुटुको रोग र ब्लड पेसर हाइ भइका व्यक्तिहरुको लागि ज्यान लिनसक्ने जोखिम हुन्छ ।

गर्मीबाट मुख्यत निम्न असरहरु पर्ने वा संकेत देखिन्छन् । यदि तपाईंमा पनि गर्मीको समयमा तल उल्लेखित कुनै संकेत देखिएमा माथि उल्लेख गरिएका उपायहरु अपनाउनुहुन अनुरोध गर्दछौं ।

- मुटुको चाल बढ्ने

- श्वासप्रश्वास र रक्तचाप कम हुने

- गर्मी महशुस भएपनि शरीरबाट पसिना ननिस्कने

- कुनै रोग नभएपनि गर्मी हुँदै जाँदा अकस्मात टाउको अत्यधिक दुख्ने

- रिंगटा चक्कर लाग्ने, बेहोस अचेत हुने

- शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी भयो भने

- शरिरको छाला सुक्खा, रातो र तातो हुने