टोकियो, जापान ।
नेपाल सरकारले नयाँ आर्थिक विधयेकसँगै विदेशबाट नेपाल जाने यात्रुले भन्सार नतिरी र तिरेर लैजान पाउने सामानको सूचीमा परिमार्जन गरेको छ । जसमा सुनमा नयाँ व्यवस्था सँगै सामाजिक सुरक्षामा आवद्ध भएका र नभएका बिच छुट सुविधामा फरक नीति अपनाएको छ ।
विदेशबाट जाने यात्रुले भन्सार नतिरी लैजान पाउने सामानहरूः
-लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान,
-औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि,
-शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान,
-सुनको गहना पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म ।
-चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया । तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाको रुपमा लैजान पाइने छैन ।
-ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर एक, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक एक थान ।
तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने छ ।
साथै त्यस्तो थप एक थान वा बढि लिएर जाने नयाँ सेलुलर मोबाइल फोनको हकमा भन्सार नियमानुसार शूल्क तिर्नुपर्नेछ ।
-बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक-एक थान ।
-पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरू एक-एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, व्याडमिन्टन सेट, गायक सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता सामान)
- सात किलोग्रामसम्म खाद्य परिकार,
- मदिरा एक लिटरसम्मको एक बोतल ।