टोकियो, जापान ।
नेपाल जाने हवाई यात्रुहरुको लागि खुशीको खवर छ । नेपाल सरकारले कोरोना भाइरस रोकथामका लागि अपनाएको भ्याक्सिन पासपोर्ट वा पिसिआर रिपोर्टको अनिवार्य नियम हटाएर कोभिड पूर्वकै जस्तो कुनैपनि कागजात नचाहिने नियम लागू गरेको छ ।
सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि अनिवार्य गरेको पीसीआर नेगेटिभ रिपोर्ट वा पिसिआर रिपोर्टको प्रावधान हटाएको हो । योसँगै अब जापान सहित विश्वभरबाट नेपाल जाने यात्रुहरुले कोभिड सम्वन्धि नियम पालना गर्दै कोभिड खोप लगाएको प्रमाणपत्र वा पिसिआर रिपोर्ट साथमा बोक्नुपर्ने छैन ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आइतबार पत्र लेख्दै कोभिड-१९ प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएसँगै हालसम्म लागू झण्झट हटेको हो ।
३१ वैशाखमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले हवाई यात्रुका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य गरिएको नियम हटाउने निर्णय गरेको हो ।
सोही अनुसार प्राधिकरणले यो नियमन कार्यान्वयन थालेको हो । पुरानो नियम हटेसँगै अन्तराष्ट्रिय गन्तव्यबाट नेपाल जाने यात्रुले खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिर्पोट जस्ता कोभिड नियमका कुनैपनि शर्त अनिवार्य पालना गर्नुपर्नेछैन ।
तर, नेपालबाट विदेश जाने यात्रुको हकमा भने आफु जुन देशमा जान लागेको हो सो देशको नियमानुसार कागजात पुरा नगरेको खण्डमा बिमानस्थलले उडान अनुमति दिनेछैन ।
विश्व स्वास्थ्य संकठनले ५ मे २०२३ मा कोभिड-१९ लाई विश्वव्यापी महामारीबाट हटाएको छ ।
जापान, दक्षिण कोरिया, अमेरिका सहित युरोपेलि देशहरुले यसअघिनै आफ्नो देश प्रवेशमा लागू गरेको कोभिड खोप वा पिसिआर रिपोर्टको नियमलाई खारेज गरिसकेका छन् । चिन लगायत केहि देशमा भने अझै पिसिआर वा खोप प्रमाणपत्र जस्ता कागजात पेश गर्नुपर्ने नियम यथावत रहेको छ ।