(Japan) 31 st May | 2026 | Sunday | 2:37:22 AM || (Nepal) 11:22:22 PM
 
 

जापान भ्रमणमा आउनेले गर्नुपर्ने तयारी, 'प्रपोज' र 'मिसन' नखुले बिमानस्थलबाटै फिर्ता

Gokarna Adhikari   POSTED ON : Wednesday, 10 May, 2023 | Views : 5532

जापान भ्रमणमा आउनेले गर्नुपर्ने तयारी, 'प्रपोज' र 'मिसन' नखुले  बिमानस्थलबाटै फिर्ता


टोकियो, जापान ।

जापानले सन् २०२३ को जनवरी देखि अप्रिलसम्मको ४ महिनाको अवधिमा नेपालबाट आएका ३१ जना नेपालीलाई नेपाल फर्काइदिएको छ । यसरी फर्काइएकामा टोकियो स्थित नारिता बिमानस्थलमा नेपाल एयरलाईन्स मार्फत आएकाहरुको मात्र तथ्यांक हो यो ।


नेपाल एयरलाईन्सको सिधा उडान बाहेक 'ट्रान्जिट' मार्फत आएका, जापान भ्रमणको 'प्रपोज' र 'मिसन क्लियर' खुलाउन नसक्ने अन्य कतिजनालाई जापानको अध्यागमनले फिर्ता पठाइदिएको छ त्यसको तथ्यांक जापान अध्यागमनले कतै सार्वजनिक गरेको पाईंदैन । नेपाल सरकारले यसको तथ्यांक राखेको होला भन्ने भरपर्दो आधार छैन ।

तर आफ्नो हवाई उडान मार्फत गएर जापानले फर्काइदिएका अनि उहि उडान मार्फत फिर्ता ल्याउनुपर्दा फिर्ता हुँदाको हवाई शुल्क ति यात्रुले नतिर्ने वा तत्काल हवाई टिकट शुल्क बुझाउन नसक्ने भएका कारण नेपाल एयरलाईन्सलाई नैतिक दबाव बढ्दा विज्ञप्तिनै निकालेर नेपाल एयरलाईन्सले यसबारेमा यात्रुहरुलाई स्पष्ट पार्ने प्रयास गरेको छ । नेपाल एयरलाईन्सले मुख्यत जारी गरेको विज्ञप्तिमा खुलाउन खोजेका मुख्य विषयहरु बारे नेपाल एयरलाईन्सकै जापान शाखाका प्रमुख तिलक लामिछानेले विस्तृत जानकारी जापानसमाचारलाई दिनुभएको छ ।

पर्यटकका रुपमा जापान भ्रमणमा आएपनि 'भिजिट' भिषामा आउनेहरुबाट जापान अध्यागमनले के को लागि घुम्न आउन लागेको हो ?

जापानको कुन कुन ठाउँ घुम्ने हो ?

जापानको कुन कुन ठाउँमा बस्ने, होटल लगायतको बुकिगं विवरण साथै

जापानमा खर्च गर्नको लागि क्रेडिट कार्ड, बैंक व्यालेन्स वा साथमा नगद के कति बोकेर आएको छ ? 

नि फिर्ता कहिले हुने हो ?

त्यसको लागि दुई तर्फी हवाई टिकट सुनिश्चित गरेको प्रमाण विवरण माग गर्ने गरेको छ ।

जापान भ्रमणमा आउँदा नै भ्रमणको उद्देश्य नखुलेको, साथमा नगद रकम न्यून वा नबोकेको, जापान भ्रमण गर्ने विवरणहरु केही पेश गर्न नसकेको, आवश्यक कागजात अपुग, दुई तर्फी हवाई टिकट नलिएको तथा जापान आएपछि फर्कने सुनिश्चित हुनसक्ने कुनैपनि आधार नदेखेकाहरुलाई जापानले यहाँको बिमानस्थलहरु अवतरण गरेरपनि अध्यागमन चेकजाँचबाट फर्काइदिएका मुख्य कारणहरु हुन् ।


नेपाल एयरलाईन्स जापान शाखाका प्रमुख तिलक लामिछाने जापानबाट स्पोन्सर भएकाको हकमा सामान्यत त्यति समस्या नदेखिएको भएपनि जापान भ्रमणका लागि आउने भन्दै 'आवश्यक कागजात पुरा नगरेका तथा भ्रमण गरेर फर्कन्छु' भन्ने आधार पेश गर्न नसक्नेहरुमाथि जापानको अध्यागमनले कडाई गरेको बताउनुहुन्छ ।

'कोभिड नियम खुकुलो बनाएर पर्यटक भिषा जारी गरेको गत महिनाहरुको सुरुवाती दिनमा यस्ता समस्या धेरै देखिएपनि हालका दिनमा धेरै मात्रामा घटेको' लामिछानेको भनाई छ ।

'नेपालबाट जापान स्पोन्सरमै बोलाउनुहुने व्यक्तिहरुले पनि आफ्ना बोलाएका आफन्त, परिवारका सदस्यहरु वा जो कसैलाई जापान कुन ठाउँमा जाने, जापानबाट बोलाएका व्यक्तिको नाम, ठेगाना, सम्पर्क नम्वर जस्ता कुरा अनिवार्य रुपमा लेखेर ल्याउन लगाउने गर्नु आवश्यक छ ।'

नेपाल एयरलाईन्स जापानका कन्ट्रि मेनेजर लितक लामिछाने भन्नुहुन्छ 'सामान्य लाग्ने कुराहरुले पनि बिमानस्थलमा भाषागत समस्याले गर्दा यात्रुहरुले घण्टौं दुःख र झण्झट पाइराख्नु भएको छ भने जापानका अध्यागमन कर्मचारीहरुलाई पनि सास्ती भइरहेको छ ।'

'जापानले ल्याउन नपाउने भनेका सामान नल्याउने, भ्रमणको उदेश्य स्पष्ट भएका, दुवै तर्फी हवाई टिकट खरिद गरेर तयारी सहित आउने व्यक्तिहरुलाई जापान भ्रमणमा समस्या छैन ।' कन्ट्रि मेनेजर लामिछानेले भन्नुभयो 'अहिलेपनि नेपाल सरकारको कोभिड नियम पुरानै छ, जापान आउँदा कुनैपनि कोभिड सम्वन्धि नियम पालना गर्नु नपरेपनि जापानबाट नेपाल जाने सबै यात्रुले पुरानै कोभिड नियम अनुसार २ वा सो भन्दा बढि कोभिड खोप लगाएको प्रमाणपत्र वा पिसिआर परीक्षण रिपोर्ट पेश गर्नुपर्छ यस्ता जानकारी लिएर मात्र यात्रा गर्नुहोला ।'