टोकियो, जापान ।
कोभिड-१९ संक्रमण नियन्त्रण उपाय अन्तर्गत जापानले अप्रिल २९ तारिखबाट जापान प्रवेशको लागि तोकिएका सबै नियम हटाएको छ ।
सीमा नियन्त्रण अन्तर्गत लगाइएका यस्ता नियमहरु हटेसँगै अब अप्रिल २९ तारिखबाट जापान प्रवेश गर्ने व्यक्तिहरुले भ्याक्सिन पासपोर्ट वा पिसिआर रिपोर्ट केहिपनि बुझाउनुपर्ने छैन ।
यसअघि जापान प्रवेश गर्ने सबैले कम्तिमा तीन वटा कोभिड-१९ खोप लगाएको बारकोड वा क्युआर कोड सहितको प्रमाणीकरण वा प्रस्थान गर्नुअघि ७२ घण्टा भित्र लिइएको नेगेटिभ कोरोना भाइरस परीक्षण प्रमाणपत्र पेश गर्नुपर्ने थियो ।
अब भने जापान आउने यात्रुहरुको लागि प्रवेश नियम कोभिड संक्रमणपूर्वकै अवस्थामा फर्किएको छ ।
नेपालले नियम परिमार्जन नगर्दा यात्रुलाई दुविधा र सास्ती
जापानले नियम खुकुलो बनाएपछि जापान प्रवेश गर्ने यात्रुलाई सहज भएको छ । तर नेपालले भने कोभिड सम्वन्धि पुरानो नियममा कुनै परिमार्जन गरेको छैन ।
अमेरिका सहित अधिकाशं पश्चिमा देशहरुले जापानले अपनाएको परिवर्तन यसअघिनै लागू गरिसकेका छन् । अर्थात् ति देश जाँदा कोरोनाको खोप लगाएको प्रमाण वा पिसिआर रिपोर्ट चाहिँदैन । तर नेपालले भने कोभिड महामारीको सुरुमा लगाएको नियम अझै यथावत राखेको छ । अर्थात् अहिले पनि नेपाल जाने व्यक्तिले पिसिआर वा भ्याक्सिन पासपोर्ट बुझाउनुपर्छ ।
'हामीले जापान सरकारको नियम परिवर्तन भएसँगै नेपालबाट नेपाल एयरलाईन्सको उडानमा आउने यात्रुहरुका लागि भ्याक्सिन पासपोर्ट वा पिसिआर चाहिने नियम हटाइसकेका छौं' नेपाल एयरलाइन्सका लागि जापान प्रमुख तिलक लामिछानेले भन्नुभयो 'अब नेपालबाट नेपाल एयरलाईन्समा जापान आउने यात्रुले कोरोनाको कुनैपनि नियम पालना गर्नुपर्दैन । अर्थात् खोप वा पिसिआर रिपोर्ट चाहिँदैन । तर जापानबाट नेपाल जाने यात्रुले भने पहिलाको जस्तै पिसिआर रिपोर्ट वा कम्तिमा दुईवटा भ्याक्सिन लगाएको भ्याक्सिन पासपोर्ट बुझाउनुपर्छ । यो हामीले लागू गरेको नियम नभई नेपाल सरकारले तोकेको नियम हो ।'
नेपाल एयरलाईन्सका जापान कन्ट्रि मेनेजर लामिछानेका अनुसार जापानले गरेको कोभिड सम्वन्धि परिवर्तित नियमबारे नेपाल सरकारका निकायलाई जानकारी गराइसकिएको छ । तर नेपाल सरकारले आफ्नो पुरानो नियमलाई परिमार्जन गरेको छैन । अर्थात् जापान मात्र नभई जुनसुकै देशको उडानबाट नेपाल आउने यात्रुले पिसिआर रिपोर्ट वा कम्तिमा दुईवटा भ्याक्सिन लगाएको भ्याक्सिन पासपोर्ट बुझाउनुपर्छ ।
लामिछानेले नेपालबाट आउने सबै यात्रुको लागि पिसिआर वा भ्याक्सिन पासपोर्टको नियम हटेपनि जापानको बिमानस्थल इमिग्रेसनमा जापान प्रवेश बारेको विवरण भर्न यात्रुहरुले समय लगाउने गरेको बताउँदै सबै यात्रुले भिजिट जापान वेव मार्फत आफ्ना सम्पूर्ण विवरण भनेर अन्तिममा आउने क्यूआर कोडको स्किृन सट गरेर वा प्रिन्ट गरेर ल्याएमा जापानको बिमानस्थलमा चेकिगं छिटो र सहज हुने जानकारी दिनुभयो ।