टोकियो, जापान ।
जापानले कोभिड सम्वन्धि यसअघि लगाएका सबै अध्यागमन नियमहरु खारेज गरेको छ । सीमा नियन्त्रण अन्तर्गत लगाइएका यस्ता नियन्त्रण नियमहरु हटेसँगै अब शनिवार (अप्रिल २९ तारिख) बाट जापान प्रवेश गर्ने व्यक्तिहरुले भ्याक्सिन पासपोर्ट वा पिसिआर रिपोर्ट बुझाउनुपर्ने छैन ।
जापानले गोल्डेन वीक बिदाहरूमा यात्रुहरूको संख्यामा वृद्धि हुने आशामा शनिबार सबै आगमनहरूका लागि लगाइएको कोभिड-१९ सीमा नियन्त्रणका नियमहरु हटाउने घोषणा गरेको हो ।
मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले शुक्रबार जापानले सबै प्रवेशकर्ताहरूलाई कम्तिमा तीन वटा कोभिड-१९ खोप डोजको प्रमाणीकरण वा प्रस्थान गर्नुअघि ७२ घण्टा भित्र लिइएको नेगेटिभ कोरोनाभाइरस परीक्षण पेश गर्न आवश्यक रहेको नियम हटाएको जानकारी गराएका छन् । यो घोषणासँगै जापान आउने यात्रुहरुको लागि प्रवेश नियम कोभिड संक्रमणपूर्वकै अवस्थामा फर्किएको छ ।
जापानले सुरुमा मे ८ मा सीमा नियन्त्रणका उपायहरु समाप्त गर्ने योजना बनाएको थियो, त्यही दिन कोरोना भाइरसको कानुनी स्थितिलाई मौसमी इन्फ्लुएन्जाको सामान्य संक्रामक रोगहरूको स्थितिमा सूचिकृत गर्ने घोषणा गरेको थियो । तर यस सप्ताहन्तमा सुरु हुने 'गोल्डेन विक' बिदाको अन्त्यसँग मिलाउन सरकारले यसलाई हप्तादिन अघि सारेको हो ।
सरकारले मुख्य भूमि चिनबाट आएका आगन्तुकहरूलाई एयरपोर्टहरूमा पिसिआर परीक्षण गर्न गर्ने गरेको अनुरोध पनि एकैसाथ हटाएको छ ।
डिसेम्बरको अन्तमा, जापानले चीनमा संक्रमणको विस्फोटक बृद्धिको बीचमा मुख्य भूमि चीनबाट आउने सबै यात्रुहरुलाई भाइरसको लागि स्क्रीनिंग गर्नुपर्ने नियम लागू गरेको थियो ।
चिनबाट आउने यात्रुहरुमा कोभिड संक्रमण अत्यन्त न्यून पाएपछि जापानी सरकारले विमानस्थलहरूमा अनियमित परीक्षण गर्ने गरेको थियो । अब त्यसलाई पनि हटाउने सरकारी निर्णय भएको मूख्य सचिव मात्सुनोले बताएका छन् ।
मे ८ माबाट जापानले हानेदा, नारिता र अन्य तीन प्रमुख विमानस्थलहरूमा नयाँ जीनोमिक निगरानी कार्यक्रम सुरु गर्नेछ । जस अन्तर्गत ज्वरो लगायतका लक्षणहरू भएका प्रवेशकर्ताहरूलाई नयाँ संक्रामक रोगहरू पत्ता लगाउन स्वैच्छिक रुपमा परीक्षण गर्न अनुरोध गर्नेछ ।