(Japan) 31 st May | 2026 | Sunday | 2:39:39 AM || (Nepal) 11:24:39 PM
 
 

जापानमा नेपालीको जनसंख्या १ लाख ४० हजार पुग्यो (विस्तृतमा)

Gokarna Adhikari   POSTED ON : Thursday, 06 April, 2023 | Views : 4928

जापानमा नेपालीको जनसंख्या १ लाख ४० हजार पुग्यो (विस्तृतमा)


टोकियो, जापान ।

सन् २०२२ को अन्त्यसम्ममा जापानमा नेपालीहरुको जनसंख्या १ लाख ३९ हजार ३९३ पुगेको छ । जापानको अध्यागमन तथ्यांक अनुसार विदेशीको रूपमा दर्ता भएका नेपालीको संख्यामा उल्लेख्य बृद्धि हुन थालेको छ ।

जापानमा सन् २००० मा केवल ३,६४९ नेपालीहरु दर्ता भएर बसेको तथ्यांक रहेकोमा सन् २०२२ मा एकै बर्ष ४२ हजार नेपाली जापान प्रवेश गरेका छन् ।

सन् २०१० को शुरुवातदेखि जापानमा विदेशीहरूको संख्यामा तीब्र बृद्धि भइरहँदा नेपालीहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको देखिन्छ । जापानमा सबैभन्दा धेरै भियतनामी बासिन्दाहरूको संख्यामा तिब्र बृद्धि देखिन्छ । त्यस पश्चात फिलिपिन्स र एशियाली देशहरु बाहेक ब्राजिली नागरिकहरुको संख्या उच्च रहेको छ ।

जापानमा नेपालीको संख्यामा तिव्र बृद्धि हुनुको एउटा कारणमा नेपालमा १० वर्षे गृहयुद्ध र युद्धका क्रममा राजपरिवारको हत्याका कारण उत्पन्न भएको अशान्तिलाई मान्ने गरिन्छ । २०१४ मा जापानमा शरणार्थी आवेदकहरू ५,००० मध्ये १,२९३ जना नेपाली थिए । जुन राष्ट्रियताको आधारमा सबैभन्दा बढी हो ।


यस्तो छ जापानमा नेपालीहरुको तथ्यांक

गत बर्ष जापानमा बढेका बिदेशीहरुमा तेस्रो धेरै नेपाली छन् । नेपालीहरु गत बर्ष ४२ हजार २ सय ८४ जना थपिएको जापान सरकारको तथ्यांकमा उल्लेख छ ।

पहिलोमा भियतनाम छ, एकै बर्ष ५६ हजार भन्दा बढि भियतनामी जापानमा थपिएका छन् ।

हाल जापानमा रहेका सबैभन्दा धेरै विदेशीमा चिनियाँ नागरिक ७ लाख १६ हजार, भियतनामी ४ लाख ३२ हजार र दक्षिण कोरियाली नागरिक ४ लाख ११ हजार रहेको छ । नेपाल भन्दा बढि जनसंख्या रहेकामा फिलिपिनी नागरिक २ लाख ९८ हजार र ब्राजिल २ लाख ९ हजार रहेको छ ।

नेपाल भन्दा कम रहेका देशमा ईण्डोनेसिया, थाई लगायत देशहरु छन् ।

अघिल्लो बर्ष सन् २०२२ मा जापानमा नेपालीहरुको जनसंख्या केवल ९७ हजार १ सय ९ जना रहेको थियो ।

जापानमा हाल पारिवारिक भिषामा बस्ने सबैभन्दा धेरै रहेका छन् । विवरण अनुसार पारिवारिक भिषामा ४२,३१७ जना नेपाली जापानमा रहेका छन् । दोस्रोमा अध्ययनका लागि आएका विद्यार्थीहरु छन् । उनिहरुको संख्या ३९ हजार ६ सय ५६ रहेको छ । 

यसैगरि इन्जिनियर/मानविकी/अन्तर्राष्ट्रिय सेवाहरूमा विशेषज्ञहरूका रुपमा रोजगाररत २५ हजार ७ सय २७ जना रहेका छन् । यस बाहेक स्थायि बासिन्दाको संख्या ६ हजार ३ सय ८० पुगेको छ । यसैगरि प्राविधिक प्रशिक्षणमा १२ सय ६६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

यसैगरि विशिष्ट कौशल क्षमतामा रहेका २३ सय ४० जना रहँदा विशिष्ट गतिविधिको लागि तोकिएको भिषामा रहने नेपालीहरु २१ सय ९० जना रहेका छन् । 

१७ हजार २ सय ७ जनालाई अन्य शिर्षकमा राखिँदा यस अन्तर्गत विशिष्ट शिपयुक्त भिषामा रहेका कुक लगायत कामदारहरु समेतलाई राखिएको देखिन्छ ।

जापानको स्थायि नागरिकको रुपमा रहने नेपालीहरु केवल ३ जना रहेको तथ्यांकले देखाउँछ ।


विगतको तथ्यांक र जापानमा नेपालीको अवस्था

सन् २०१८ को अन्त्यमा जापानमा नेपाली विद्यार्थीहरुको संख्या २८,९८७ रहेको थियो, यो चीन र भियतनाम पछि तेस्रो ठूलो संख्या हो ।

त्यसपछि २६,०१७ जना आश्रित परिवार, १२,५४७ दक्ष कामदारहरु तथा ८,५४१ इन्जिनियरहरू/मानविकी/अन्तर्राष्ट्रिय सेवाहरूमा विशेषज्ञहरूका रुपमा रोजगाररत थिए ।

यस बाहेक ४,४८० स्थायी बासिन्दाहरू, र ४,०५६ जना नेपालीहरु तोकिएका अन्य गतिविधिहरूमा संलग्न थिए ।

दक्ष सीप युक्त भिसामा बस्नेको संख्या चीनपछि दोस्रो स्थानमा छ । जसमध्ये धेरै दक्ष सीपमा रहेकाहरु नेपाली र भारतीय रेस्टुरेन्टहरूमा शेफको रूपमा काम गर्छन् ।

जापानभर नै नेपाली रेष्टुरेन्टको संख्या तीव्र गतिमा बढिरहेको छ । तर दक्ष सीपमा रहेका भएपनि उनिहरुले पाउने तलब, सेवा र सुविधा भने अधिकाशंको जापान सरकारले तोकेको भन्दा ज्यादै न्यून हुने गरेको छ । कागजी रुपमा मात्र यस्ता भिषामा रहेकाहरुको तलब तथा सेवा सुविधा उल्लेख हुने गरेको उनिहरुको गुनासो रहने गरेको छ ।

प्रीफेक्चरको आधारमा, टोकियोमा सबैभन्दा धेरै २७,५९८, आइचीमा ९,०९३, चिबा ६,८०१, कानागावा ६,४२५, फुकुओका ६,३७९, र साइतामा प्रान्तमा ६,२८२ जना बसोबास गर्दछन् ।

मध्य टोकियो क्षेत्र बाहिर आइची र फुकुओका प्रान्तहरू तथा ओकिनावा प्रिफेक्चरमा पनि धेरै नेपालीहरुको बसोबास रहेको छ । ओकिनावामा २,१३९ जना नेपालीहरुको बसोबास रहेको छ । जुन त्यस क्षेत्रमा रहेका बिदेशीहरुको १० औं ठूलो संख्या हो । ओकिनावा प्रान्तमा विशेषगरि विद्यार्थी भिषामा रहने नेपालीहरु रहेका छन् ।

रोचक कुरा त के भने टोकियोको शिन्जुकु वार्डमा रहेको शिन ओकुबो स्टेशन वरपरको क्षेत्रमा जापानमै सबैभन्दा धेरै नेपालीहरुको बसोबास रहेको छ । थप रूपमा, ओकिनावा प्रिफेक्चरमा विदेशी कामदारहरू मध्ये ३० प्रतिशत नेपाली छन् । जुन सबैभन्दा धेरै प्रतिशत हुन आउँछ ।