(Japan) 31 st May | 2026 | Sunday | 2:35:22 AM || (Nepal) 11:20:22 PM
 
 

जापानमा अप्रिल १ बाट साइकल चलाउँदा अनिवार्य हेल्मेट लगाउनुपर्ने

GOKARNA ADHIKARI   POSTED ON : Friday, 31 March, 2023 | Views : 2696

जापानमा अप्रिल १ बाट साइकल चलाउँदा अनिवार्य हेल्मेट लगाउनुपर्ने


टोकियो, जापान ।

सडक दुर्घटना घटाउन र दुर्घटनामा हुने घाईते तथा क्षति कम गराउने उद्देश्य सहित जापानले साइकल चालकहरुका लागि अप्रिल १, २०२३ बाट नयाँ नियम लागू गरेको छ । त्यो हो अप्रिल १ तारिख देखि सबैले साइकल चलाउँदा अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ।

तपाईंलाई लाग्न सक्छ जापानमा मार्च ३१ तारिखसम्म यताउी हेर्दा हेलमेट लगाएर साइकल चलाउने मान्छे थोरै छन् । तर यस्तो दृश्य अब देख्न मुश्किल पर्नेछ ।

सरकारको यस्तो नियम नागरिकको एक दायित्व हो, अर्थात् अनुरोधात्मक नियम । जसलाई प्राय जापानीहरुले पालना गर्ने गर्दछन् । यद्यपी हेलमेट नलगाउनेहरुका लागि कुनै जरिवाना तोकिएको छैन ।

गम्भीर साइकल दुर्घटनाहरूको श्रृंखला बढ्दै गएपछि सरकारले हेल्मेट अनिवार्य लगाउने नियमलाई लागू गरेको हो । सरकारी तथ्यांक अनुसार देशैभर साइकलसँग जोडिएका दुर्घटनाका संख्याहरु तिब्र रुपमा बृद्धि भइरहेको छ ।

राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार सन् २०२२ मा देशभर ६९ हजार ६ सय ९४ साइकल सम्बन्धी दुर्घटना भएका थिए र हरेक वर्ष सवारी दुर्घटनाको प्रतिशत बढ्दै गएको छ ।

यसबाहेक, अघिल्लो वर्ष सम्म पाँच वर्षमा २,१४५ व्यक्तिको मृत्यु भएको थियो, जसमध्ये ६० प्रतिशत घातक टाउकोमा चोटका कारण भएका थिए ।

साइकल चलाउँदा हेल्मेट लगाउने सम्बन्धमा हालसम्म १३ वर्ष मुनिका बालबालिकाले हेल्मेट लगाउन अभिभावकले पहल गर्नुपर्ने कानुनी प्रावधान रहेको थियो ।

तर, सबै मानिसलाई हेलमेट पहिरन बानी बसाल्दा दुर्घटनाबाट हुने नोक्सानीलाई न्यूनीकरण गर्न ऐन संशोधन गरी अप्रिल १ तारिखबाट लागू गरिएको हो ।

हालकै तथ्यांक हेर्ने हो भने हेलमेटलाई अनिवार्यता नगर्दा मृत्यु दर २.२ गुणाले बढेने देखिएको छ ।

जापान अटोमोबाइल फेडरेशनले साइकलहरू बीचको टक्करबाट हुने दुर्घटनाको असर करिब १७ गुणा बढी भएको बताएको छ ।

थप रूपमा, राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार अघिल्लो वर्ष पाँच वर्षमा साइकल दुर्घटनाको मृत्युदर हेलमेट लगाउनेहरूको तुलनामा हेलमेट नलगाउनेहरूको लागि २.२ गुणा बढी रहेको पाइएको छ ।

हेलमेट नलगाउँदा गम्भीर चोटपटक लाग्न सक्छ, जस्तै हातखुट्टा भाँचिने, टाउकोमा गम्भिर चोट सहित मृत्युको जोखिम धेरै बढाउँछ ।

तीन वर्षअघि एक निजी संस्थाले साइकल चलाउँदा हेल्मेट प्रयोगको दरमा गरेको सर्वेक्षण अनुसार राष्ट्रिय औसत ११.२ प्रतिशत थियो भने एहिमे प्रिफेक्चरमा २९ प्रतिशत सहित पहिलो स्थानमा थियो। एहिमे प्रान्त देशभरमै सबैभन्दा बढि साइकल प्रयोग र धेरै हेलमेट प्रयोगकर्ता रहेको प्रान्त हो । जसलाई साइकलको राजधानीको रुपमा पनि लिने गरिन्छ ।

राष्ट्रिय प्रहरी एजेन्सीले ट्राफिक दुर्घटनाबाट बहुमूल्य आफ्नो जीवन बचाउन र अरुका कारण समेत हुनसक्ने क्षति न्यूनिकरण गर्न सबैलाई अनिवार्य हेलमेट प्रयोग गर्न आग्रह गरेको छ ।

हेलमेट प्रयोग नगरेका साइकल यात्रीहरुलाई प्रहरीहरुले जुनसुकै बेला जहाँसुकै रोकेर चेकजाँच र सोधपुछ गर्न सक्ने भएकाले जापानमा साइकलमा यात्रा गर्दै हुनुहुन्छ भने अनिवार्य आफ्नै सुरक्षा, कानुनी झण्झट, झमेलाबाट जोगिन पनि अनिवार्य हेलमेट प्रयोग गर्नुहोला है !