(Japan) 31 st May | 2026 | Sunday | 2:37:04 AM || (Nepal) 11:22:04 PM
 
 

जापानमा के नेपालीको ज्यानको मुल्य १० लाख येन मात्रै हो ?

  POSTED ON : Tuesday, 28 March, 2023 | Views : 5562

जापानमा के नेपालीको ज्यानको मुल्य १० लाख येन मात्रै हो ?


टोकियो, जापान ।

सन् २०१७ मार्च महिनाको १५ तारिख, टोकियो महानगरिय प्रहरीको कुनै कष्टडी । उनलाई चारैतिर प्रहरीले घेरेर अठ्याएका छन् । गम्भिर अपराधका दोसीलाई जस्तैगरि प्रहरीले उनलाई हातखुट्टा र घाँटी कक्रक्क पारेर हलचल गर्न नसक्नेगरि अँठ्याउँदै छन् । प्रहरी कष्टडी भित्र राख्न लगिंदैगर्दा उनि जोडबलले बाहिर निस्कन खोजिरहेका देखिन्छन् । भनिरहेका छन्- 'सर म जान्छु । म घर जान चाहन्छु सर !'

तर एक दर्जन बढि प्रहरी अधिकारीहरुको सामु उनको केही लाग्दैन । उनको हातलाई बाँधेर कालो डोरि जस्तो वस्तुले कम्मरमा कसिन्छ, घुँडामा अर्को रातो/खैरो कलरको डोरीले बाँधिन्छ अनि खुट्टामा अर्को प्रहरीले कालो फिताले बाँध्छन् र फुस्काउन नसक्नेगरि खाली भुईंमा लडाएर छाड्छन् ।

भिडियो फुटेज हेर्दा बिहानको ६ बजेर ५० मिनेटमा करिव १५ मिनेट जतिमा यो सब सकेर सबै प्रहरी अधिकारीहरु फर्कन्छन् र पुन ८ बजेतिर त्यहिँ पुग्छन् ।

यसपटक तीनजना निलो बर्दि लगाएका र दुई जना निलो/सेतो सर्टमा रहेका ५ जना अधिकारीहरुले खालि भुईंमा एक घण्टा लडेर थाकेका उनलाई उठाउँछन् । बाहिर निकाल्छन् । सो क्रममा दोस्रो पटक प्रहरीकै अधिकारी भिडियो क्यामेराबाट भिडियो पनि खिचिरहेको देखिन्छ । अघिल्लो पटक भिडियो नखिचेको समयमा जति जर्बजस्ती र बल प्रयोग गरेर बाँध्ने काम भएको जस्तो देखिन्छ, दोस्रो पटक भिडियो खिच्दा भने न्याप्किन जस्तो केही वस्तुले एक प्रहरी अधिकारीले उनको मुखमा र्याल, पसिना वा वा त्यस्तै केही पुछिदिएको देख्न सकिन्छ ।

प्रहरी कष्टडिबाट बाहिर निकालिएका उनलाई अन्यत्र लगेको सिसिटिभि फुटेजमा देख्न सकिन्छ । त्यस भन्दा बाहिर जे जति भएको प्रहरी अधिकारीहरुले बताएका छन् । त्यसको भिडियो बाहिर सार्वजनिक भएको छैन । 'म घर जान्छु सर !' भन्दै अलाप र बिलौना गर्दै विन्ति बिसाएका ति नेपाली पुरुष थिए अर्जुन बहादुर सिंह । जो अहिले संसारमा छैनन् ।

अर्जुन भिडियोमा देखाइएकै दिन अर्थात् २०१७ मार्च १५ तारिख केही घण्टापछि अकस्मात स्वास्थ्य खराबीले अचेत पर्छन् । उनलाई तत्काल अस्पताल लगिएपनि उपचारको क्रममा बितेको प्रहरीको भनाई छ ।

३९ बर्ष उमेरका अर्जुनलाई सार्वजनिक स्थानमा भेटिएको अरुको नामको क्रेडिट कार्ड राखेको आरोपमा पक्राउ गरिएको थियो । अर्जुनलाई ‘काइगु’ नामक बेल्ट ह्याण्डकफ लगाएर शारीरिक रूपमा नियन्त्रणमा लिइएको थियो । दुई घण्टा हिरासतमा राखेको केही समयपछि अर्जुन अचानक बेहोस भए र उपचारको क्रममा मृत्यु भएको महानगरिय प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमै मृत्यु भएका नेपालीको जीवनको मुल्य मात्र १० लाख येन ?

शोकसन्तप्त परिवारले टोकियो महानगरीय सरकार र अन्य विरुद्ध मुद्दा दायर गरेको छ । मुद्दामा दावी गरिएको छ 'अन्यायिक शारीरिक अनावश्यक शारिरिक दबावका कारण' अर्जुनको मृत्यु भएको थियो ।

टोकियो जिल्ला अदालतले टोकियो महानगर सरकारको तर्फबाट लापरवाही भएको र क्षतिपूर्तिको आदेश जारी गरेको छ । तर, क्षतिपूर्तिको रकम केवल १० लाख येन मात्रै थियो ।


श्रीमतीसँग जापान बस्ने सपना देखेका अर्जुनले किन गुमाए ज्यान ? र क्षतिपूर्तिको रकम किन यति कम राखियो ?

२ घन्टासम्म ह्याण्डकफमा बाँधेर आंशिक रुपमा हटाएपछि अर्जुनको तुरुन्तै मृत्यु भएको प्रहरीले बताएको छ ।

मार्च २०१७ मा अर्जुनले आफूले फेला पारेको अरू कसैको नाममा रहेको क्रेडिट कार्ड लिएर प्रयोग गरेकाले सम्पत्ति हिनामिना गरेको आरोपमा पक्राउ गरिएको थियो ।

अर्जुनलाई प्रहरी नियन्त्रणमा भएको जोडबलको शारिरिक दबावपछि बारम्बार वान्ता भयो र पछि अस्पतालमा 'तीव्र ग्यास्ट्रोएन्टेराइटिस' भएको पत्ता लाग्यो, तर हिरासतमा नै राखियो ।

पक्राउ परेको भोलिपल्ट बिहानै स्वास्थ्यमा समस्या आयो । एक प्रहरी अफिसरले 'फ्युटन' कसरी हटाउने भनेर निर्देशन दिए, तर अर्जुन, जसले जापानी राम्रोसँग बुझ्दैनथे, प्रहरीले उनलाई कोठामा लैजान खोजे पनि उनले फलामको बारमा टाँसिएर विरोध गर्दै बिन्ति बिसाउँदै भनिरहे 'म घर जान्छु सर !'

जवाफमा एक प्रहरी अधिकृतले 'चुप लाग, तिमी हाम्रो मजाक गर्दैछौ, चुप लाग !' भनेर सम्झाउने वा नियन्त्रणमा लिन जवाफ दिए ।

प्रहरीले अर्जुनलाई पट्टा लगाएर तल झारेर संरक्षण कक्षमा लगेको थियो । एक दर्जनभन्दा बढी पुलिस अफिसरहरूले अर्जुनलाई सुरक्षा कक्षमा घेरेर उनको नाडी, घुँडा र खुट्टामा तीन ठाउँमा कसिलोसँग बाँधेका थिए । प्रयोग गरिएको 'रेस्ट्रेन्ट'हरू संयमका लागि नायलन बेल्ट ह्यान्डकफ र डोरीहरू थिए ।

अर्जुनले उक्त समयमा भनेका छन् 'दुख्यो, रोक्नुहोस्, रोक्नुहोस्, रोक्नुहोस्, अइया, यसले दुखायो !'

अर्जुनले नेपालीमा कराएको भिडियोमा सुनिन्छ । यसको अर्थ हो उनी जापानी भाषा बुझ्न र बोल्न सक्दैनन । शोकसन्तप्त परिवारका व्याख्याताका अनुसार उनले उच्च सम्मानपूर्व शब्द प्रयोग गर्दै भनेका छन् 'कृपया हात जोड्छु । कृपया मेरो कुरा सुन्नुहोस् सर !' तर, त्यहाँ कोहीपनि नेपाली भाषा अनुवादक थिएनन् । उनको अनुरोधलाई कोही प्रहरी अधिकारीले बुझेनन् र सुनेनन । सुनेपनि भाषागत समस्याका कारण नसुनेझैं भयो । प्रहरीले धेरै पटक डोरीलाई बलियो बनाएको थियो र दुई घण्टासम्म हिरासतमा उनलाई कष्टपूर्वक राखियो ।

त्यसपछि अर्जुनको नाडी र घुँडाको डोरीहरु हटाएर खुट्टाको मात्र लगाइएको थियो । उनको नाडी सुन्निएको र रगत जमेर रातो कालो भएको थियो, तर यतिहुँदा सम्मपनि कुनै चिकित्सा उपचार गरिएको थिएन । सोधपुछ सुरु भएको केही समयपछि र एउटा हतकडी हटाइएपछि उनले होश गुमाए र केही समयपछि नै उनको मृत्यु भयो ।


निराश श्रीमती भन्छिन् 'मलाई उनको मृत्यु भएको भनिएको दिन याद छैन'

शोक सन्तप्त परिवारले सरकार र टोकियो महानगरपालिका विरुद्ध करिब ६ करोड २० लाख येन क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ । अर्जुन २०११ मा ‘दक्ष कामदार’ भिसा लिएर जापान आएका थिए र नेपाली रेष्टुरेन्टमा कुकको काम गर्दै आएका थिए । बिदामा नेपाल गएर उनि २०१६ मा जापान फर्किएका थिए ।

उनी आफ्नी श्रीमतीलाई नेपालबाट जापान ल्याउने प्रयासमा थिए तर करिब दुई महिनापछि उनलाई रेष्टुरेन्टबाट निकालियो । उनी पक्राउ पर्दा बेरोजगार र घरबारविहीन थिए । नेपालमा बस्दै आएकी उनकी श्रीमती अम्बिकाले जेएनएनसँगको अन्तर्वार्तामा भनेकि छिन् ।

'म मेरो जीवनमा भएका धेरैजसो घटनाहरू सम्झन सक्छु, तर मलाई मेरो श्रीमानको निधनको खबर प्राप्त भएको दिन याद छैन ।' अम्बिकाले बताइन् ।

मृत्यु हुनुभन्दा दुई दिनअघि अर्जुनले अम्बिकालाई फोनमा भनेका थिए, ‘म ठीक छु, चिन्ता नगर ।' स्वस्थ पतिको अचानक मृत्युपछि अम्बिका भन्छिन्, ‘यो सबै कसरी, के भयो मैले बुझिनँ ।

'उनको शान्त स्वभाव थियो, आफ्नो वरपर सबैसँग राम्रोसँग मिल्ने र कुनै गलत बानि र व्यवहार थिएन' अम्बिका आफ्नो पति सम्झंदै भन्छिन् 'मेरो श्रीमानले खुशी खोजेको जापानमा किन आफ्नो ज्यान गुमाए ? ' सत्य जान्नको लागि अम्बिकाको न्यायिक चाहनाको जवाफ दिनको लागि जापानी वकिलहरुले कानुनी लडाइमा साथ दिइरहेका छन् ।


शोक सन्तप्त परिवार टोकियो अदालतको 'कानूनी फैसला प्रति असन्तुष्ट'

२०२३ मार्च १७ मा, टोकियो जिल्ला अदालतले आदेश दियो कि अर्जुनलाई नियन्त्रणमा लिन प्रयोग गरिएका उपकरणहरूको प्रयोग 'गैरकानूनी थिएन' किनभने उनले 'आफ्नो कोठाबाट बाहिर निस्कन र हिंसात्मक व्यवहार गर्दै पुलिसको कडा प्रतिरोध गरे ।' तर, प्रहरीले अर्जुनको नाडी रातो र कालो सुन्निएको देखेपछि ‘बेलैमा अस्पताल पुर्‍याएको भए मृत्युबाट बचाउन सकिन्थ्यो’ भन्दै टोकियो महानगरपालिकालाई १० लाख येन क्षतिपूर्ति दिन आदेश दिएको छ ।

अर्कोतर्फ, टोकियो जिल्ला सरकारी वकिलको कार्यालयले क्षतिपूर्तिको लागि सरकारको जिम्मेवारी अस्वीकार गर्दै मृत्युको पूर्वानुमान गर्न नसकिने बताएको छ ।

वादी पक्षका वकिलका चिकित्सकहरुका अनुसार मृत्युको कारण 'हाइपरकेलेमिया' भएको ठानिन्छ । शरिरमा रगत स्वभाविक रुपमा बग्न अवरोध गर्ने यन्त्रको प्रयोगले मांसपेशी कोशिकाहरू नष्ट गरेको, र त्यहाँबाट निस्कने 'पोटासियम'को ठूलो मात्रा बिस्तारै रगतमा बग्ने र बिस्तारै जब अवरोध गर्ने यन्त्र छोडियो 'पोटासियम' घातक मात्रामा पुग्यो र हृदयघात निम्त्यायो ।

उक्त आदेशपछि शोक सन्तप्त परिवारले निषेध गर्ने यन्त्रको प्रयोगप्रति आक्रोश व्यक्त गर्दै भनेका छन्, ‘के प्रहरीको विवेकमा छाड्नु पर्ने न्याय हो ?

यदि तपाईंले लापरवाही स्वीकार गर्नुभयो भने, के 'जीवनको मूल्य' मात्र १० लाख येन तोक्नु उपयुक्त छ ?

अधिवक्ता र्युतारो ओगावा भन्छन् 'यद्यपि मुद्दा जितेको थियो, तर न्याय प्रदान गरिएको क्षतिको मात्राको सन्दर्भमा अत्यन्त असन्तुष्ट छौं ।'

टोकियो सरकारको गैरकानूनी कार्यलाई मान्यता दिए पनि १० लाख येन मात्र क्षतिपूर्ति किन दिइयो ? अदालती फैसला राज्य क्षतिपूर्ति ऐनको 'पारस्परिक ग्यारेन्टी'मा आधारित रहेको उल्लेख छ । अर्थात् यसपटक टोकियो जिल्ला अदालतले माथिल्लो सीमा १० लाख रुपैयाँ (लगभग १० लाख येन) हुने फैसला गरेको छ, जुन नेपालमा नेपालको कानुन अनुसार कुनै नागरिकको यस्तो अवस्थामा प्रहरी नियन्त्रणमा निधन भएमा नागरिकलाई दिइने क्षतिपूर्ति बराबर हो । अर्थात् जापानी नागरिकको निधन भयो भने नेपालको कानुन अनुसार १० लाख येन मात्र क्षतिपूर्ती पाउनसक्छन् ।

प्रतिरक्षा टोलीका अनुसार, 'म्युचुअल ग्यारेन्टीु' प्रावधानलाई 'अनाक्रोनिस्टिक' भनेर कडा आलोचना गरिएको छ, र वास्तवमा, अदालतमा कडाइका साथ यहि नै लागू हुने लगभग कुनै मुद्दाहरू छैनन् ।

अधिवक्ता र्युतारो ओगावा 'मानव अधिकार संरक्षणको दृष्टिकोणबाट पारस्परिक ग्यारेन्टीहरूको प्रयोग पनि समस्याग्रस्त' रहेको बताउँछन् ।

उनि भन्छन् 'एउटा अमेरिकीले नेपालीलाई १० लाख येन तिर्दा कस्तो हुन्थ्यो ? १० लाख येन जरिवाना छ भन्ने गलत सन्देश दिनुले समस्याको समाधानको काम गर्दैन ।'

उनीहरूले क्षतिपूर्तिको कम रकम र सुरक्षात्मक उपायमा लगाएको अवैधताको बारेमा बहस गर्दै उच्च अदालतमा अपिलको लागि फाइल गर्ने योजना बनाएका छन् । 'दोस्रो वा तेस्रो अर्जुनहरु जन्मन नदिन' सरकारी टोलि र अर्जुनलाई न्याय दिलाउन लागि परेका समर्थकहरू बीचको लडाई उच्च अदालतमा आमनेसामने हुनेछ ।
...

(टिबिएस टेलिभिजन सामाजिक विभाग न्यायिक प्रेस क्लब फुमिको ताकाहाशीले लेख्नुभएको समाचारमा आधारित ।)
Source : TBS NEWS
YAHOO NEWS