टोकियो, जापान ।
जापानमा २० लाख मानिसका थर सातो छ । अर्थात् सबैभन्दा धेरै भेटिने थर यही हो ।
यहाँ धेरै सुनिने अन्य दुई थरहरु इतो र कातो जस्तै यो पनि कुनै बेलाको शक्तिशाली वंशज फुजिवारासँग सम्बन्धित छ । यी तीन ओटै शब्दमा प्रयोग हुने कान्जी फुजिवाराको फुजीसँग मेल खान्छ ।
जापानमा अहिले सातो थरका मानिस धेरै भेटिने ठाउँहरु आकिता र यामागाता प्रिफेक्चर हो ।
सातो थर भएका सबैभन्दा चर्चित व्यक्तिको नाम लिनु पर्दा सन् १९६४ देखि सन् १९७२ बीच प्रधानमन्त्री भएका सातो इइसाकुलाई सम्झिन सकिन्छ । उनले सन् १९७४ को नोबल शान्ति पुरस्कार समेत पाएका थिए ।
सबैभन्दा धेरै प्रयोगमा सुनिने दोस्रो थर चाँहि सुजुकी हो । यो थर भएका मानिसहरु जापानमा झन्डै १७ लाख ५० हजार जना छन् ।
यो थरका मानिसहरु धेरै जसो आइची, शिजुओका, इबाराकी, तोचिगी, साइतामा र खानागावा प्रिफेक्चरमा भेटिन्छन् । यो थर भएका चर्चित व्यक्तिको कुरा गर्नु पनि बेसबल स्टार सुजुकी इचिरोको नाम सम्झिन सकिन्छ ।
जापानमा तेस्रो सबैभन्दा धेरै प्रयोगमा आएको थर ताकाहाशी हो । यो थर भएका मानिसहरु १४ लाख ५० हजार छन् । ताकाहाशीको अर्थ अग्लो पुल भन्ने हुन्छन् । यो थरको इतिहास खोज्ने हो भने आठौं शताब्दीसम्म पुग्न सकिन्छ ।
यो थर भएका चर्चित व्यक्तिको नाम लिनु पर्दा य–गि–ओ१ का इलुष्ट्रेटर ताकाहाशी काजुकीको चित्र दिमागमा आउँछ । तानाका, वातानबे, इतो, यामामोतो, नाकामुरा, कोबायाशी र कातो जापानमा क्रमशः चौथो देखि १० औं सर्वाधिक प्रयोगमा आएका थरहरु हुन् ।