टोकियो, जापान ।
जापान सरकारले कोरोना भाइरस रोकथाम उपाय अन्तर्गत मास्क लगाउन गरिएको अनुरोधलाई मार्च १३ तारिखबाट खुकुलो बनाएको छ । सरकारको नयाँ नीति अनुसार अब मास्क लगाउने वा नलगाउने भन्ने निर्णय व्यक्तिगत स्वेच्छाको निर्णय हो ।
यसलाई अनुसरण गर्दै प्रधानमन्त्री किशिदा फुमिओ सोमबार मास्क नलगाई प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेर जनतालाई भ्रममा नपर्न भन्दै परिस्थिति अनुसार लगाउने र नलगाउने बिचार गर्न अनुरोध गरेका छन् ।
सरुवा रोग ऐन अन्तर्गत कोरोना भाइरसलाई संक्रमण जन्य भाइरसको सामान्य वर्ग अर्थात् ५ नम्वरमा राखिएको छ । यसको अर्थ मार्च १३ तारिखबाट कोरोना संक्रमणलाई जापानले मौसमी इन्फ्लुएन्जा लगायतका रोग लागेका व्यक्तिलाई सरह व्यवहार गर्नेछ ।
प्रधानमन्त्री किशिदाले भनेका छन् ‘मास्क लगाउने र फुकाल्ने कुरा व्यक्तिको निर्णयमा छाड्छौं। सरकारले मानिसहरूलाई हावा आवागमन न्यून हुने स्थान वा गम्भीर बिरामी हुने उच्च जोखिम भएका व्यक्तिहरूसँग सम्पर्कमा हुँदा, जस्तै वृद्धबृद्धा रहने स्थानहरुको भ्रमण गर्दा लगाउने वा लगाउने भन्ने विचारको व्याख्या गरेको छ तर थप स्पष्ट स्पष्टीकरण आवश्यक छ । जापानका जनता भ्रममा नपर्ने गरी दृढताका साथ सञ्चार गर्नु महत्त्वपूर्ण छ ।'
सरकारले संसद बैठकमा पनि मास्क लगाउनु व्यक्तिगत निर्णयमा छाडेको छ । संसदमा १३ तारिखदेखि मास्क लगाउने व्यक्तिलाई सरकारी नीतिअनुसार व्यक्तिगत निर्णयको जिम्मा दिइनेछ ।
मास्क नलगाएपनि हुने सार्वजनिक स्थानहरु
सरकारको नयाँ निर्णयसँगै मार्च १३ तारिख आइतबारबाट जापानभर केहि सिमित स्थान बाहेक अधिकाशं ठाउँमा मास्क लगाउनुपर्ने छैन । तपाईंलाई मन लागे लगाउन सक्नुहुन्छ मन नलागे फुकाल्न सक्नुहुन्छ । त्यस्ता धेरै स्थानहरु मध्ये मूख्य स्थानहरु यि हुन् जहाँ रहँदा वा काम गर्दा तपाईंले मास्क लगाउनै पर्छ भन्ने छैन ।
- रेलमा यात्रा गर्दा
- बसमा सवार रहँदा
- किनमेल गर्न जाने सुपरमार्केट देखि कोम्बिनी वा जुनसुकै पसलहरु
- सार्वजनिक पार्कहरु
- रेष्टुरेण्ट, इजाकाया, बार लगायत खाने पिउने स्थानहरु
- सार्वजनिक वा नीजि कार्यालयहरुमा जाँदा, रहँदा
- रेल स्टेशन, व्यायाम स्थान, मनोरञ्जन पार्क लगायत स्थान
- अस्पतालहरुमा कोभिड संक्रमण, ईन्फ्लुएन्जा वा सरुवाजन्य जन्य उपचार बाहेक सामान्य सेवा लिन जाँदा मास्क अनिवार्य छैन ।
मास्क लगाउँदा प्रभावकारी हुने अवस्था अर्थात् मास्क लगाउँदा राम्रो हुने स्थानहरु
मास्क लगाउनु प्रभावकारी हुने अवस्थाका सन्दर्भमा स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा जाँदा र धेरै व्यक्तिहरू गम्भीर बिरामी हुने उच्च जोखिममा रहेका वृद्धवृद्धाहरूका लागि तोकिएका सुविधाहरूमा जाँदा मास्क प्रयोग गर्न सिफारिस गरेको छ ।
भीडभाड भएको स्थानमा आवतजावत गर्ने समयमा, भीडभाड भएको रेल वा बसमा चढ्दा मास्क प्रयोग गर्दा उपयुक्त हुने सुझाव दिएपनि मास्क लगाउन अनिवार्य गरिएको छ ।
थप रूपमा महामारीको समयमा भीडभाड ठाउँमा जाँदा वृद्ध व्यक्तिहरू, अन्तर्निहित रोगहरू जस्तै क्यान्सर र गम्भीर रोगको उच्च जोखिममा भएका व्यक्तिहरू, जस्तै गर्भवती महिलाहरूका लागि र उनिहरुसामु जाने व्यक्तिले मास्क लगाउनु प्रभावकारी हुने विज्ञहरुले सुझाएका छन् ।
अर्कोतर्फ, लक्षणहरू देखिएका, सङ्क्रमित भएकाहरू र सङ्क्रमित परिवारका सदस्यहरूसँग बस्नेहरूले अरूलाई सङ्क्रमण नफैलियोस् भनेर बाहिर ननिस्कन तथा निक्लनै पर्ने अवस्थामा मास्क तथा कोभिड संक्रमण रोकथामका उपाय अपनाउन सरकारी अधिकारीहरुले अनुरोध गरेका छन ।
स्वास्थ्य संस्था र नर्सिङ होमका कर्मचारीहरूलाई पनि मास्क लगाउन अनुरोध तथा नियम सम्वन्धित संस्थाहरुले तोक्न सक्नेछन् । जहाँ धेरै व्यक्तिहरू गम्भीर रूपमा बिरामी हुने उच्च जोखिममा छन्, ड्युटीमा हुँदा मास्क लगाउनु पर्ने नियम यथावत रहनेछ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जापानवासी सबैमा भनेको छ मास्क लगाउनु राम्रो हो भन्ने अवस्थाले देखाएको हुनाले, हामी तपाइँहरु सबैलाई परिस्थिति अनुसार मास्क लगाउने वा नलगाउने आफैं निर्णय गर्न अनुरोध गर्दछौं ।