(Japan) 22 nd September | 2026 | Tuesday | 8:52:46 AM || (Nepal) 5:37:46 AM
 
 


जापानमा ओफुरो (お風呂) संस्कार, स्वस्थ जीवन शैलिको राज

गृष्मा पौड्याल   POSTED ON : Tuesday, 21 February, 2023 | Views : 4336

जापानमा ओफुरो (お風呂) संस्कार, स्वस्थ जीवन शैलिको राज


आउनुस आज कुरा गरौं जापानको ओफुरो (お風呂) को बारेमा । तपाईं हामी मध्ये धेरैलाई थाहा छ ओफुरो के हो ? र यसको उपयोगिता के हो भनेर ।

व्यस्त जापानी जिवन शैलीमा मानिसलाई स्वस्थ्य राख्न ओफुरोले धेरै महत्वपूर्ण भूमिका खेलेको छ ।

घरको बाथरुमको एउटा कर्नरमा बाथ टब राखिएको हुन्छ र त्यही बाथ टबमा भरिएको तातो पानीमा डुबेर जापानीहरू दिनहुँ जसो कामबाट फर्केर आएपछि खाना खानु अगाडि या सुत्नु अगाडि यो तातो पानीले भरीएको बाथ बटमा घण्टौ डुबेर बस्छन् । यसैलाई जापानमा ओफुरो (お風呂) बस्ने भनिन्छ।

दिनभरको थकित काम, कमिला जस्तै घोटिएर गर्नु पर्ने मेहनत, त्यस माथि हाकिमले भनेको एक एक शब्द अक्षरस: पालन गर्नु पर्ने अनुशासन, हरेक आदेशमा झुकेर दिनु पर्ने जवाफ, अनि अफिस टाढा भए घण्टौं रेलमा झुन्डिएर गर्नु पर्ने यात्रा, यी सबै कुराले जापानी जिवन शैली अति व्यस्त, अनौठो र मसिन जस्तै निरस हुन्छ । 

त्यसैले पछिल्ला बर्षहरुमा जापान आउने कलिला भाइ बैनीहरूले यहाँ आएको केहि दिनमा नै मृत्यूवरण वा (आत्म हत्या) रोज्न पुगेका दुःखद समाचारहरु सुन्न परिरहेको छ ।

नेपालमा ऋण धन गरेर आएको, ठूला ठूला सपना, केही समयमा नै सोचेको जस्तो उपलब्धि नहुने वास्तविकता र अल्लारे बुद्धिको परिणाम हो जस्तो लाग्छ आफ्नो जीवन आफैं त्याग्ने निर्णय । 

यी सबैका वावजुत पनि जापानी मेहनत र परिश्रमको फलले आज यो देश विश्वको सर्वोच्च विकासको सुचिमा रहेको छ । 

मेहनत गरे ‘ढुंगामा पनि हिरा फल्छ’ भन्ने उखानलाई चरितार्थ पार्दै परिश्रम गर्छन् जापानीहरू । 

हामी नेपालमा बस्ने साथी भाइलाई त कल्पना गर्न पनि गाह्रो होला !

किन यति धेरै मेहनत गर्छन जापानीहरू ?

साथीहरू एउटा बुझ्नु पर्ने कुरा के हो भने जापानको आजको बिकास र यति विध्न अनुसासन त्यहि निरन्तरको मेहनत नै हो ।

नेपालमा जस्तो १० बजेको काम हल्लिंदै गएर ‘सरकारी काम कहिले जाला घाम’ गर्न पाईंदैन यहाँ । 

हो यही काम र यात्रा गरेर थाकेको शरिरलाई आराम दिने भनेको एउटा राम्रो खाना र अर्को यो चामत्कारिक पानीमा डुबेर आराम गर्ने जापानी परम्परागत तरिका अर्थात् ओफुरो । 

जापानको ९९% घरमा हुने यो ओफुरो यहाँको सरकारको सामाजिक आवस्यकतामा पर्दछ । 

ओफुरो हरेक घरको बाथरूमको एउटा कर्रनरमा अबस्थित हुन्छ । र त्यही बाथ टबमा तातो पानी जम्मा गरी औषधी हालेर परिवारका सबै सदस्य पालै पिलो ओफुरो बस्दछन्। र यसले थाकेको मन र शरिरलाई पून: जिवन प्रदान गर्दछ । 

व्यक्तिगत अनुभव साट्नु पर्दा सन् २०१० देखि २०१३/१४ सालसम्म नेपालमा मावोबादी द्धन्द्धको समस्याको कारण अमेरिकाले राजनैतिक असुरक्षित देश नै भनेर  घोषणा गरेको थियो । 

त्यो समय हरेक दिन जसो साईतामा प्रान्तको आशाका-शहरसम्म पुगेर  नेपाली पढाएर टोक्यो फर्कदा आधा ज्यान हुन्थ्यो ।

त्यो समय मलाई यो ओफुरोले नयाँ जिवन दान दिएको जस्तै महशुस हुन्थ्यो ।

त्यसपछि पनि पटक पटक नागानो प्रान्तको कोमागाने शहरमा जाईकाको तालिम केन्द्र, त्यो पनि फेब्रूवरीको मध्य जाडो, यो ज्यान ओफुरोकै कारण जिउँदो छ आजसम्म जस्तो लाग्छ । 

ओफुरोले दिने उर्जाले नै सबैजनालाई भोलिपल्ट उठाएर काममा पठाउँछ । नत्र सबै जापानी पनि बाथ रोगले ग्रसित भैसकेका हुन्थे होलान् । 

त्यसैले जापानको ओफुरोले यहाँ हरेक दिन जापानीहरुलाई नयाँ जिवन प्रदान गर्ने गर्छ भन्दा अत्युक्ति नहोला ।

हामी नेपाली भएको हुनाले र सानैदेखि तातो पानीमा बस्ने बानी नपरेको हुनाले यदाकदा मात्र बस्छौं होला । तर जाडो मौसममा भने हरेक दिन नबसि थकाई मेटिंदैन । ओफुरो गएर थाकेको मन र शरीर दुबैलाई थकानबाट पार लगाएपछि मात्र निंद्रा पनि पर्छ भन्छन् जापानीहरू । 

ओफुरो, सेन्तो वा ओनसेन उस्तै प्रकारको तातो पानिमा डुब्ने बानी बसाल्नेहरुमा प्राय छालाको रोगहरु हट्नुका साथै शरिर दुखेको जस्ता सामान्य पिडाहरु पनि हराउँछन् । कामले ज्यान दुखेको वा मोटाघाटा मानिसहरु नियमित ओफुरो बस्ने बानी बसालेमा शरिरको तौल केही मात्रामा घटाउन पनि यो तरिका उपयोगी हुन्छ ।

जापान केही बर्ष बस्न थालेपछि ओफुरो सबै नेपालीलाई थकाइ मार्नको लागि राम वाण सिद्ध नै भैसकेको हुन्छ ।

ओफुरो जापानको आ-आफ्नो घरमा हुने बाथ-टबमा तातो पानी जम्मा गरेर त्यसमा आराम गर्ने चलनको एउटा नाम पनि हो । 

तर घर बाहिर गएर बीसौं तीसौं जना एकैपटक तातो पानीको पोखरीमा नुहाउने ठाउँलाई चाहिं ओनसेन (温泉) भनिन्छ ।

यो नेचुरल भोल्कानिक स्प्रिन्ग हट वाटर बाट बनाइएको हुन्छ । 

अनि सेन्तो चाहिं (銭湯) ♨️ मान्छेले पानी तताएर पब्लिक बाथको लागि बनाईएको ठाउँ हो । सेन्तो प्राय हरेक टोलहरुमा विभिन्न सेवा सुविधा सहितको आकार प्रसार शुल्कमा त्यहि अनुसारको भिन्नता सहित उपलब्ध हुन्छ ।

यी दुबै ठाउँमा पैसा तिरेर नुहाउने सुबिधा प्राप्त हुन्छ र कतै कतै त नुहाई सकेपछि प्रोफेसनलहरूले शरिर भरीको मैलो माडेर पनि निकालि दिन्छन् । 

ओनसेनको पानी भोल्कानिक स्प्रिन्ग वाटरबाट बनेको हुनाले मान्छेको छालालाई राम्रो र चमकदार बनाउने खनिज र मिनरल मिश्रित हुन्छ, त्यसैले जापानमा यो धेरै प्रसिद्ध छ । 

तर सेन्तो खाली पानी तताएर पब्लिक बाथको लागि बनाइएको नुहाउने सुबिधा भएको ठाउँ हो । 

यो पब्लिक बाथको सुबिधा लिने ठाउँ एउटै छाना मुनि भएता पनि स्त्री  र पुरुषको लागि अलग अलग कोठा र पानीमा डुब्ने पोखरी पनि अलग अलग हुन्छ ।

अर्थात नारी र पुरुष एउटै तातो पानीको पोखरीमा डुब्न पाईंदैन । 

तर जापानको कुनै कुनै गाउँमा भने महिला र पुरुषको लागि एउटै ओनसेन पोखरी पनि हुन्छ ।

म पनि पहिलो पल्ट ओनसेन जाँदा अचम्मित भएको थिएँ । किनकी सबै स्त्री पुरुषहरू नांगा नांगै एउटै ठाउँमा नुहाई रहेका हुन्थे । तर कसैलाई कसैको मतलव नभएको देखेर एकछिन पछि मलाई पनि लाग्यो, यस्तै रहेछ यहाँको चलन भनि चित्त बुझाएँ ।

तपाईंले पनि जापानमा पहिलो पटक सेन्तो वा ओन्सेन जाँदा यस्तै अनुभव गर्नुहुनेछ । आफ्ना अनुभव र बिचार कमेण्ट गर्नुहोला है !