टोकियो, जापान ।
फेब्रुवरी १७ तारिख शनिवार जापानी संचार माध्यमहरुमा एउटा खवर सार्वजनिक भयो । जुन संभवत जापानमा लामो समय बसोबासको योजना बनाउनेहरुका लागि औषत खुशीकै मान्न सकिन्थ्यो । त्यो थियो 'जापानले एक बर्षमा नै यहाँ लामो समय बसोबास गर्नका लागि विशेष अनुमतिको नयाँ अध्यागमन नीति लागू गर्ने' भएको छ । अर्थात् तोकिएका नयाँ प्रावधान पुरा गर्न सके एक बर्षमा नै 'एईजु' प्राप्त गर्न सकिनेछ ।
जापानको सार्वजनिक समाचार संस्था एनएचकेका अनुसार 'जापान सरकारले अन्य देशका प्रतिभाशाली विशेष क्षमतावानहरुलाई आकर्षित गर्न एक नयाँ रेसिडेन्सी कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । योग्य विदेशी नागरिकहरूलाई असिमित जापान बसाईको अध्यागमन सुविधा दिइनेछ ।'
माथि उल्लेखित समाचारको बुँदाले भन्छ 'जापान सरकारले अब तोक्ने नयाँ नियमहरु वा शर्तहरु पुरा गर्नसक्ने व्यक्तिले एक बर्षको जापान बसाई पछि एईजु प्राप्त गर्नसक्ने बाटो खुल्नेछ ।'
जसको लागि फेब्रुवरी १६ तारिख शुक्रबार बसेको जापान सरकार मन्त्रिपरिषद्को बैठकले यसको योजना तय गरेको हो ।
कस्ता नियम वा क्षमता भएका व्यक्ति एक बर्षमै एईजु प्राप्त गर्न योग्य हुनेछन् ?
'विशेष उच्च दक्ष कर्मचारी प्रणाली' नाम दिएर माइनिजि सिन्बुनले प्रकाशित गरेको समाचार अनुसार अनुसन्धानकर्ताहरु र अन्य कम्तिमा बार्षिक २ करोड लगभग १ लाख ४८ हजार डलर भन्दा बढि आम्दानी गर्ने व्यक्तिहरु यो योजना अन्तर्गत एक बर्षमानै 'एईजु' प्राप्त गर्न सक्षम हुनेछन् ।
यसैगरि एनएचके समाचार संस्थाले उल्लेख गरेको अर्को बुँदा अनुसार मास्टर डिग्री वा १० बर्ष भन्दा बढी कामको अनुभव भएका विदेशी अनुसन्धानकर्ताहरु र ईन्जिनियरहरु यो भिषा प्रणाली अनुसार एईजु प्राप्त गर्न योग्य हुनेछन् ।
एनएचकेले नै उल्लेख गरेको एक अर्को बुँदा अनुसार ४ करोड येन वा ३ लाख डलर भन्दा बढी कमाउने र कम्तिमा पाँच बर्षको कार्य अनुभव भएका कर्पोरेट व्यवसायी वा प्रवधन्धकहरुलाई पनि यो नियमले समेटेको छ ।
हालसम्म सार्वजनिक विभिन्न समाचार माध्यमहरुको विवरण अनुसार माथि उल्लेखित तीन क्याटोगोरि अन्तर्गत पर्ने योग्य विदेशी नागरिकहरूले जापानमा एक वर्ष मात्र बसोबास गरेपछि स्थायी बसोबासको अधिकार प्राप्त गर्न सक्नेछन् ।
उनीहरूलाई अध्यागमन नियन्त्रणमा पनि प्राथमिकता दिइने जापान सरकारका मुख्य सचिवले जानकारी सार्वजनिक गरेका छन् ।
यस बाहेक जापानले ल्याउन लागेको नयाँ भिषा प्रणालीले जापानमा जागिर खोज्ने विश्वव्यापी उच्च शिक्षाको शिर्ष स्थानमा सूचीबद्ध विश्वविद्यालयहरूबाट स्नातक गरेकाहरूलाई दुई वर्षसम्मको लागि मान्य विशेष भिषा उपलब्ध गराउने छ । यसको अर्थ हो जापान भित्रकै वा विश्वको जुनसुकै देशको विश्वकै उत्कृष्ठ विश्व विद्यालयहरुमा पर्ने विश्वविद्यालयबाट मास्टर्स डिग्रि उत्तिर्ण गरेका सर्वोत्कृष्ठ विद्यार्थीहरुलाई पहिलो पटकमै दुई बर्षको विशेष भिषा पाउनेछन् ।
शुक्रबार मन्त्रीपरिषद बैठकले गरेका निर्णय बारेको जानकारी दिंदै जापान सरकारका मुख्य क्याबिनेट सचिव मात्सुनो हिरोकाजुले 'सम्बन्धित मन्त्रीहरूलाई प्रतिभाशाली विदेशीहरुलाई उपयुक्त र सहज रूपमा स्वीकार गर्ने दिशामा काम गर्न' आग्रह गरेको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।
माईनिचि सिन्बुनमा प्रकाशित समाचारमा उल्लेख भए अनुसार हालको प्रणाली अन्तर्गत, शैक्षिक पृष्ठभूमि वा व्यावसायिक क्यारियर, वार्षिक तलब र अन्य मापदण्डहरू बीचको उमेरको प्रत्येक श्रेणीको लागि अंकहरू प्रदान गरिनेछ । यदि माथि उल्लेखित मापदण्डका विभिन्न शिर्षकहरुबाट कुल स्कोर ७० वा सो भन्दा माथि पुगेमा आवेदकलाई 'उच्च कुशल क्षमतावान' आई ( i ) भिषा दिइनेछ । यस्तो शिर्षकमा भिषा पाउनेले पाँच वर्षसम्म जापानमा बस्न अनुमति पाउनेछ ।
यस्ता भिषा पाउने मध्ये एक प्रकारको आई ( i ) भिषा पाउने व्यक्तिले तीन वर्ष पछि नै स्थायी निवास स्थिति अर्थात् 'एईजु' भिषा पाउनेछन् जसलाई आईआई ( ii ) श्रेणिमा उल्लेख गरिनेछ ।
जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार यस्ता पोईन्टमा आधारित प्रणाली सन् २०१२ मे बाट सुरु भएको थियो । त्यस यता सन् २०२२ जुन सम्ममा अनुसन्धानकर्ता, इन्जिनियरहरू र कर्पोरेट प्रबन्धकहरू जस्ता करिब ३५,००० विदेशी नागरिकहरूले 'उच्च दक्ष पेशेवर'को रूपमा 'एईजु' प्राप्त गरिसकेका छन् ।
क्योदो समाचार संस्थाका अनुसार थप रूपमा, विदेशबाट युवा कामदारहरूलाई आकर्षित गर्न जापानले विश्वका उत्कृष्ट विश्वविद्यालयको १०० स्थान भित्र रहेका विश्वविद्यालयहरूका स्नातकहरूलाई 'भविष्यको रचनात्मक प्रतिभा' को रूपमा जापान भित्राउन महत्व दिएको छ ।
यस्ता विश्वविद्यालयमा अध्ययन गरेका स्नातक उत्तिर्णहरुलाई तोकिएको गतिविधिहरु गर्नसक्ने आवासिय अनुमति दिइने छ ।
जसमा रोजगार खोजी र उद्यमशीलताको लागि तयारी गर्न उनीहरूलाई दुई वर्ष जापानमा बस्न अनुमति दिइनेछ । साथै सो अवधिमा काम गर्न पनि अनुमति पाउनेछन् ।
...
यसबारेमा थप विवरणहरु प्राप्त भएपछि जापानसमाचारडटकमा पढ्न सक्नुहुनेछ । साथै आफ्नो मोबाइलको प्ले स्टोर वा एप स्टोरमा JAPANSAMACHAR टाईप गरि जापान समाचारको लोगो देखिएको एप्लिकेशन डाउनलोड गर्नुभयो भने चौबिसै घण्टा ताजा समाचार प्राप्त गर्नसक्नुहुन्छ ।