टोकियो, जापान ।
जापानमा आप्रवासन (इमिग्रेसन) नीतिलाई लिएर नयाँ बहस चुलिँदै गएको छ । जापानी राजनीतिक दल टिम मिराईले विदेशी कामदार र आप्रवासन सम्बन्धी विषयमा नयाँ दृष्टिकोण सार्वजनिक गरेपछि राजनीतिक वृत्तमा चर्चा बढेको हो ।
दलका नेता ताकाहिरो आन्नोले जापानको श्रम अभाव समाधानका लागि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग बढाएर कम ज्यालामा काम गर्ने विदेशी श्रमिकमाथिको निर्भरता घटाउन सकिने धारणा व्यक्त गरेका छन् । पार्टीले उच्च सीप भएका विदेशी जनशक्तिलाई आकर्षित गर्ने तर समग्र रूपमा आप्रवासन व्यवस्थापन कडा बनाउने नीति समर्थन गरेको बताइएको छ।
टिम मिराइका अनुसार उन्नत एआई प्रविधिको प्रयोगले विभिन्न क्षेत्रमा विदेशी कामदारको आवश्यकता घटाउन सक्नेछ । यद्यपि यसले ह्वाईट कलर भनिने उच्च वर्गका कर्मचारीको रोजगारीमा समेत असर पार्न सक्ने चेतावनी दिइएको छ।
सन् २०२५ मा स्थापना भएको टिम मिराइ २०२६ को प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय रूपमा उदाउँदै ११ सिट जित्न सफल भएको थियो । पार्टीले “डिजिटल लोकतन्त्र” र प्रविधिमैत्री शासनको अवधारणा अघि सारेको छ ।
जापानमा विदेशी जनसंख्या तीव्र रूपमा बढ्दै जाँदा आप्रवासन नीति राष्ट्रिय राजनीतिक एजेन्डाको प्रमुख विषय बनेको छ । श्रम अभाव, सामाजिक एकीकरण र राष्ट्रिय पहिचान जस्ता मुद्दाले विभिन्न दलहरूबीच फरक-फरक धारणा देखिएको छ।
टिम मिराइको प्रस्तावले जापानमा प्रविधि र आप्रवासनबीचको सम्बन्धबारे नयाँ बहस सुरु गरेको छ — जहाँ एकातिर श्रम संकट समाधानका लागि एआईलाई विकल्पका रूपमा हेरिएको छ भने अर्कोतिर विदेशी कामदार नीतिमा सन्तुलन खोज्ने प्रयास देखिएको छ ।