(Japan) 15 th December | 2025 | Monday | 11:40:41 AM || (Nepal) 8:25:41 AM
 
 


अब जापानमा रेल चढ्दा टिकट हैन, अनुहार देखाएर हिँडे हुने !

  POSTED ON : Saturday, 22 November, 2025 | Views : 394

अब जापानमा रेल चढ्दा टिकट हैन, अनुहार देखाएर हिँडे हुने !


टोकियो, जापान ।

जापानमा रेल यात्रा गरिरहनेहरुका लागि पछिल्लो केहि बर्षको नयाँ प्रविधिबारे भनिरहन परेन । टिकट नै खरिद गर्नुपर्ने देखि कार्ड बनाएर चढ्न मिल्ने हुँदै क्रेडिट कार्ड छोएर मात्र पनि रेल यात्रा गर्न सकिने प्रविधि प्रयोगमा आइसकेको छ । तर अब त्यसलाई पनि पार गर्दै यसअघि पनि परिक्षण प्रयोगमा रहेको जापानले रेलको यात्रा गर्दा यात्रुले अनुहार मात्र देखाएर हुने सिस्टम निगाता क्षेत्रमा प्रयोगमा ल्याउने तयारी गरेको छ ।

जापानको जेआर इस्ट कम्पनीले जोएचु सिन्कान्सेनको निगाता र नागाओका स्टेसनमा अनुहार पहिचान (फेसियल रिकग्निसन) गर्ने टिकट गेटको परीक्षण थालेको छ ।

यो 'वाक-थ्रु' प्रविधिमा यात्रुले टिकट वा आईसी कार्ड नझिकी केवल हिँडेरै गेट पार गर्न सक्नेछन् । अर्थात् तपाईंले टिकट खरिद गरेको समयमा अनुहारको पहिचान समावेश गर्नुभएपछि रेल यात्रा गर्दा फेरि टिकट निकालेर सिस्टममा छोइरनुपर्ने बाध्यता रहनेछैन ।

यो नयाँ प्रविधिलाई परिक्षण स्वरुप हाल नागाओका स्टेसनमा सुरुङ जस्तो गेट राखिएको छ भने निगातामा पुरानै गेटमा नयाँ प्रविधि जडान गरिएको छ । यसको मुख्य उद्देश्य स्टेसनको भीड कम गर्नु र हातमा धेरै सामान बोकेका यात्रुहरूलाई सहजता प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।

हालसम्म करिब ५०० जना यात्रुमा गरिएको यो परीक्षण सन् २०२६ को मार्चसम्म चल्नेछ र त्यसपछि प्राप्त सुझावका आधारमा यसलाई थप सुधार गरेर सन् २०२८ बाट प्रयोगमा ल्याउने तयारी कम्पनीले गरेको छ ।

...

जापानमा यसअघि केइसई स्काईलाइनर रेलले पहिलो पटक अनुहार पहिचान प्रणालीबाट टिकट काट्न मिल्ने सेवा सुरु गरेको थियो । यो सेवा केइसई–उएनो, नारिता एयरपोर्ट टर्मिनल १, २, ३, र निप्पोरीमा उपलब्ध रहेको छ ।