(Japan) 15 th December | 2025 | Monday | 11:44:00 AM || (Nepal) 8:29:00 AM
 
 


जापानद्वारा अन्तरिक्ष स्टेशनमा सामाग्री पठाउने शक्तिशाली रकेटको सफलतापूर्वक प्रक्षेपण

  POSTED ON : Monday, 27 October, 2025 | Views : 436

जापानद्वारा अन्तरिक्ष स्टेशनमा सामाग्री पठाउने शक्तिशाली रकेटको सफलतापूर्वक प्रक्षेपण


टोकियो, जापान ।

जापान अन्तरिक्ष एजेन्सीले आइतबार आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागशिप एच–३ रकेटको सफल प्रक्षेपण गरेको छ । यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आपूर्ति पुर्‍याउने पहिलो मिसनका लागि नवीनतम मानव रहित कार्गो अन्तरिक्ष यान एचटिभी–एक्स–१ बोकेको  छ ।

जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एचटिभी–एक्स–१ सफलतापूर्वक उडान भरेको पुष्टि गर्दै जापानको दक्षिणी क्षेत्रमा अवस्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट गरिएको प्रक्षेपणको करिब १४ मिनेटपछि रकेट लक्षित कक्षामा प्रवेश गरेको जनाएको छ ।


यानलाई योजनाबद्ध रूपमा अलग गरी निर्धारित कक्षामा स्थिर राखिएको र यदि सबै कुरा योजना अनुसार भयो भने केही दिनभित्रै आइएसएसमा पुग्ने अपेक्षा गरिएको छ ।


हाल आइएसएसमा कार्यरत जापानी अन्तरिक्ष यात्री किमिया युईले यसलाई बिहीबार बिहान रोबोटिक हातद्वारा समात्ने तयारी गरिरहेका छन् । एचटिभी–एक्स, जाक्साको अघिल्लो मानव रहित एच–२ ट्रान्सफर भेहिकल (कनोटोरी वा ‘स्टर्क’) को उत्तराधिकारी हो ।


यसले सन् २००९ देखि सन् २०२० सम्म आइएसएसमा नौ सफल मिसन पूरा गरेको थियो । नयाँ कार्गो यानले अघिल्लाभन्दा ठूलो पेलोड बोक्न सक्षम छ र कम तापक्रममा भण्डारण आवश्यक पर्ने प्रयोगशाला नमूनाहरू समेत सुरक्षित रूपमा पठाउन सक्छ ।


यो अन्तरिक्ष यान आइएसएसमा छ महिनासम्म जडान रहन र आवश्यक आपूर्ति पुर्‍याएपछि स्टेसनबाट फोहोर पुनः ल्याउन डिजाइन गरिएको छ । मिसन पूरा भएपछि यसले करिब तीन महिनासम्म कक्षीय उडानमा रहँदै प्राविधिक अनुसन्धान गर्नेछ ।

आइतबारको सफल प्रक्षेपणले एच–३ रकेटको सबैभन्दा शक्तिशाली संस्करणको डेब्यू पनि सङ्केत गरेको छ, जसमा चारवटा बुस्टर र ठूलो फेयरिङ (पेलोड कम्पार्टमेन्ट) प्रयोग गरिएको छ ।


जाक्साका अध्यक्ष हिरोशी यामाकावाले यस प्रक्षेपणलाई ‘अन्तरिक्ष आपूर्तिमा जापानको स्वतन्त्र क्षमताको प्रतीकात्मक ठूलो उपलब्धि’ भन्दै ‘स्वायत्त अन्तरिक्ष गतिविधिको ठोस आधार’ का रूपमा वर्णन गरेका छन् ।


एच–३ रकेटको विकास तथा सञ्चालनमा जिम्मेवारी वहन गर्ने मित्सुबिसी हेभी इन्डस्ट्रिजका अन्तरिक्ष व्यवसाय विभाग प्रमुख इवाओ इगाराशीले जापानले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै समयमै पेलोड डेलिभरी गर्ने आफ्नो विश्वसनीयता प्रमाणित गरेको बताए ।


उनका अनुसार कम्पनीले आगामी वर्षहरूमा आफ्नो प्रक्षेपण सुविधा विस्तार गर्ने योजना बनाएको छ । एच–३ रकेटले हालै मात्र अन्तिम उडान सम्पन्न गरेको जापानको पुरानो मुख्य एच–२ए रकेटलाई प्रतिस्थापन गरेको हो ।


नयाँ फ्ल्यागशिप मोडेल विश्वव्यापी अन्तरिक्ष बजारमा अधिक लागत–प्रतिस्पर्धी बन्नका लागि डिजाइन गरिएको हो । सन् २०२३ मा पहिलो प्रयास असफल भएपछि एच–३ ले लगातार छ सफल उडान पूरा गरेको छ ।


जापानले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई राष्ट्रिय सुरक्षाको प्रमुख आधार मान्दै स्थिर र व्यावसायिक रूपमा प्रतिस्पर्धी अन्तरिक्ष यातायात क्षमताको विकासलाई दीर्घकालीन प्राथमिकता दिएको छ ।