टोकियो, जापान ।
यस बर्षको एसईई परीक्षामा जापानबाट परीक्षामा सहभागी सबै विद्यार्थीहरु उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
नेपाल सरकारबाट मान्यता प्राप्त एकमात्र बिदेशको विद्यालयको रुपमा परिचित जापानको एभरेष्ट इन्टरनेशनल स्कुलबाट एसईई परीक्षा २०८१ मा सहभागी २९ जना विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टले जापानसमाचार डटकमलाई जानकारी दिनुभयो ।
प्रधानाध्यापक भट्टका अनुसार सहभागी २९ विद्यार्थी मध्ये जिपिए ४ को उत्कृष्ट परिणाम ६ जना विद्यार्थीले ल्याएका छन् । बाँकी सबै विद्यार्थीहरु ३.८ जिपिए भन्दा माथीको अंक ल्याएर उतिर्ण हुन सफल भएका छन् ।
एसईई परीक्षा २०८१ मा जापानबाट ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि यस्तो प्रभावशाली नतिजा आएको प्रधानाध्यापक भट्टको भनाई छ ।