(Japan) 17 th February | 2025 | Monday | 10:34:34 AM || (Nepal) 7:19:34 AM
 
 


अमेरिकी स्वार्थले अमेरिकामा टिकटक बन्द

  POSTED ON : Sunday, 19 January, 2025 | Views : 428

अमेरिकी स्वार्थले अमेरिकामा टिकटक बन्द


एजेन्सी ।

खुला व्यापार, स्वस्थ प्रतिस्पर्धाको वकालत गर्ने अमेरिकाले अमेरिकी वा पश्चिमा देशबाट संचालन नभएका अन्य प्रतिस्पर्धी व्यवसायमाथि कतिसम्म कानुनी हथकण्डा अपनाएर लखेट्छ भन्ने पछिल्लो ज्वलन्त उदाहरण बनेको छ चर्चित शर्ट भिडिओ प्लेटफर्म टिकटक । सुरुमा सुरक्षाको बहाना बनाएपनि अन्तिममा अमेरिकी कम्पनीलाई नबेचे बन्द गर्ने कानुन र अदालतले समेत त्यसमा समर्थन गरेपछि अन्तत अमेरिकामा तत्कालका लागि टिकटक बन्द भएको छ ।

गत वर्ष बाइडेन प्रशासनले पारित गरेको प्रतिबन्ध सम्बन्धी कानुन कार्यान्वयनमा आएसँगै टिकटक आइतबारदेखि अमेरिकामा बन्द भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो एप एप्पल र गुगल दुवैको अमेरिकी एप स्टोरबाट हटाइएको छ । वेबमा पनि टिकटकको साइट उपलब्ध नभएको नोटिस देखिन थालेको छ । 

प्रयोगकर्ताहरूले एप खोल्दा भिडिओ हेर्न पाइरहेका छैनन् । टिकटकले दिएको जानकारी अनुसार अमेरिकामा १७ करोड प्रयोगकर्ताहरूले यो एप प्रयोग गरिरहेका थिए । अन्य सामाजिक सञ्जालहरूमा केही समयका लागि अवरोध आउने गरे पनि, टिकटक जस्तो लोकप्रिय एप यसरी बन्द भएको यो पहिलो घटना हो ।

बाइडेन प्रशासनले यसको कार्यान्वयनको जिम्मेवारी ट्रम्प प्रशासनलाई हस्तान्तरण गरेको बताएको छ । टिकटकको भने स्पष्ट आश्वासन नपाएसम्म अमेरिकामा सेवा बन्द गर्नुपर्ने भनाइ छ । कम्पनीले आफ्ना कर्मचारीहरूलाई पठाएको ईमेलमा राष्ट्रपति ट्रम्पले २० जनवरीमा पदभार ग्रहण गरेपछि टिकटकलाई पुनस्स्थापना गर्न सहयोग गर्ने बताएको उल्लेख छ ।

शनिबार राति ९ बजेदेखि नै टिकटक र क्यापकट एपमा प्रयोगकर्ताहरूलाई प्रतिबन्धको विषयमा जानकारी दिन थालिएको थियो । कम्पनीले प्रयोगकर्ताहरूलाई “अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन जनवरी १९ देखि लागू हुने भएकाले सेवाहरू अस्थायी रूपमा बन्द गर्नुपरेको” सन्देश पठाउन थालेको छ ।

हाल अमेरिकामा टिकटक एप खोल्दा 'माफ गर्नुहोस्, टिकटक अहिले उपलब्ध छैन। दुर्भाग्यवश, अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू गरिएको छ। यसको अर्थ तपाईंले अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न।' भन्ने सन्देश देखा पर्छ । कम्पनीले यस समस्याको समाधानका लागि निर्वाचित राष्ट्रपति ट्रम्पसँग सहकार्य गरिरहेको बताएको छ ।

यो प्रतिबन्ध वा विनिवेश कानुन अनुसार, बाइटडान्सले टिकटकमा आफ्नो अमेरिकी स्वामित्व बेच्नुपर्ने हुन्छ । तर बाइटडान्सले बिक्री गर्न अस्विकार गरेको छ ।

टिकटकले ट्रम्पलाई खुसी पार्ने रणनीति अपनाएको देखिन्छ । ट्रम्पले सुरुमा टिकटकमाथि प्रतिबन्ध लगाउने कुरा गरेका थिए तर अहिले यसलाई निरन्तरता दिन खोजिरहेका छन् । उनले बाइटडान्सलाई बिक्रीको लागि दिइएको समयसीमा ९० दिन थप्ने प्रस्ताव पनि गरेका छन् ।

टिकटकको यो बन्दले अमेरिकाका दशौं लाखौं अमेरिकी प्रयोगकर्तालाई निराश बनाएको छ । यसलाई लक्षित गर्दै अमेरिकी प्रयोगकर्ताले मास फलोइङ अभियान थालेका थिए । अर्थात बन्द हुनुअघि सबैले सबैलाई फलो गरेर फलोअरको सङ्ख्या बढाउने अभियानमा होमिएका थिए । टिकटक फेरि कहिले अमेरिकामा फर्कन्छ भन्ने हेर्न बाँकी छ । साथै ट्रम्पले यसलाई कसरी अगाडि बढाउँछन् भन्ने पनि विशेष चासोको विषय बनेको छ ।