टोकियो, जापान ।
जापानको एक चर्चित जीवन बीमान कम्पनीका कर्मचारीहरुले आफ्ना ग्राहकहरुबाट अर्बौं रकम ठगि गरेको खुलासा भएको छ ।
जापानको प्रुडेन्सियल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना करिब १०० जना वर्तमान र पूर्व कर्मचारीहरूले ग्राहकहरूबाट ३.१ अर्ब येन ठगी गरेको खुलासा गरेको हो ।
यो ठगी सन् १९९१ देखि २०२५ सम्मको ३० वर्षभन्दा लामो अवधिमा भएको कम्पनीले शुक्रबार जानकारी दिएको छ ।
प्रतिवेदनका अनुसार करिब ५०० ग्राहकहरूलाई नक्कली वित्तीय योजनाहरूमा लगानी गर्ने प्रलोभन देखाएर ठगी गरिएको हो । यसरी ठगिएको मध्ये करिव १ अर्ब येन फिर्ता गरिसकिएको र अझै २.३ अर्ब येन फिर्ता हुन बाँकी रहेको बताइएको छ ।
धेरैजसो घटनामा बिक्री प्रतिनिधिहरूले अस्तित्वमा नरहेका वित्तीय उत्पादनहरूमा लगानी गर्ने बहानामा रकम हिनामिना गरेको समाचारमा उल्लेख छ ।
कम्पनीले भने लापरबाहीको जिम्मेवारी लिँदै कम्पनीका सीईओ कान माबाराले आगामी फेब्रुअरी १ देखि पद त्याग गर्ने घोषणा गरेका छन् । उनको स्थानमा हिरोमिचु तोकुमारु नयाँ सीईओ रूपमा नियुक्त हुने भएका छन् ।
सन् २०२४ मा कानाजावा शाखाका एक कर्मचारी पक्राउ परेपछि कम्पनीले गरेको आन्तरिक छानबिनबाट अर्बौं ठगिको तथ्य बाहिर आएको माईनीची शिन्बुनले खवर छापेको छ ।