(Japan) 15 th April | 2026 | Wednesday | 12:36:50 PM || (Nepal) 9:21:50 AM
 
 


जापानमा ३० बर्ष यताकै धेरै ब्याजदर बढाउने तयारी, येन सुधारको झिनो आशा

  POSTED ON : Wednesday, 17 December, 2025 | Views : 684

जापानमा ३० बर्ष यताकै धेरै ब्याजदर बढाउने तयारी, येन सुधारको झिनो आशा


टोकियो, जापान ।

जापानले बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्दै येनको अवमूल्यन रोक्न ब्याजदर बढाउने भएको छ ।

बैंक अफ जापानले शुक्रबार ब्याजदर बढाएर ३० वर्षयताकै उच्च विन्दुमा पुर्याउने अपेक्षा अर्थशास्त्रीहरुले गरेका छन् ।

अर्थशास्त्रीहरूले मुख्य ब्याजदर हालको ०.५ प्रतिशतबाट बढाएर ०.७५ प्रतिशत पुर्याउने अनुमान गरेका छन् । जुन सन् १९९५ यताकै सबैभन्दा उच्च हुने देखिन्छ ।

जापानमा बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न र जापानी येनको अवमूल्यन रोक्न यो कदम चाल्न लागिएको बताइन्छ ।

प्रधानमन्त्री सानाए ताकाइचीले बढ्दो महँगीका कारण जनताको असन्तुष्टि कम गर्न र आर्थिक स्थिरता कायम राख्न खोजिरहेकी छन । गभर्नर काजुओ उएदाले अमेरिकी करको प्रभाव सोचेजस्तो खराब नभए पनि बजारमा केही चिन्ता कायमै रहेको बताएका छन ।

ब्याजदर वृद्धिले जापानी येनलाई बलियो बनाउन सहयोग गर्न सक्छ । यदि अनुमान गरिए अनुसार वा सो भन्दा थप ब्याज बृद्धि भएमा जापानबाट नेपाल रेमिट्यान्स गर्ने नेपाली लगायत अन्य विदेशीहरु लाभान्वित हुने छन् ।

हाल जापानबाट नेपाल रेमिट्यान्स गर्दा एक लाख नेपाली रुपैयाँको लागि करिव १ लाख ७ हजार जापानी येन बिनिमयदर रहेको छ ।

अपेक्षाकृत ब्याजदर बृद्धि भएमा शुक्रबारबाट १ लाख नेपाली रुपैयाँको लागि करिव १ लाख ४ हजार जापानी येन आसपास आउने देखिन्छ ।