टोकियो, जापान ।
महंगीको मारमा परेका जापानी परिवार तथा बढ्दो महंगीको भारलाई राहत दिन जापान सरकारले हरेक बालबालिकाहरुको लागि नगद राहत उपलब्ध गराउने भएको छ ।
जापान सरकारले ० देखि १८ वर्ष उमेर समूहका बालबालिका भएका सबै परिवारलाई प्रतिव्यक्ति २० हजार जापानी येन सहयोग उपलब्ध गराउने भएको छ । बालबालिका तथा परिवार एजेन्सीका अनुसार यो एकपटक दिइने रकम आगामी वसन्त ऋतुतिर बालबालिका भत्ता आउने बैंक खातामा नै स्वत जम्मा हुनेछ ।
सरकारले यस बाहेक पनि ट्याक्स छुट पाएका तथा कम आय भएका र एकल अभिभावक परिवारहरूलाई थप नगद सहयोग उपलब्ध गराउन स्थानीय सरकारमार्फत विशेष अनुदानको दायरा पनि फराकिलो बनाएको छ ।
बालबालिकालाई निःशुल्क वा सस्तोमा खाना खुवाउने 'कोदोमो शोकुदो' र अभिभावकहरूको रोजगारी बढाउने कार्यक्रमलाई पनि सरकारले प्राथमिकतामा राखेर काम अघि बढाएको बताएको छ ।
सरकारले नर्सरी शिक्षकहरूको तलब ५.३ प्रतिशतले बढाउने निर्णय गरेको छ । यसले गर्दा शिक्षकहरुको बार्षिक आम्दानी करिव २० मान येनले बृद्धि हुनेछ ।
बालबालिका लक्षित जापान सरकारको यो नयाँ आर्थिक प्याकेजले जापानमा रहेका बालबालिका भएका हजारौं परिवार प्रत्यक्ष लाभाविन्त हुने भएका छन् ।