(Japan) 12 th October | 2025 | Sunday | 10:27:17 AM || (Nepal) 7:12:17 AM
 
 

अमेरिकी रोजगारदर घटेको खवरसँगै जापानी येनमा उल्लेख्य सुधार

  POSTED ON : Saturday, 02 August, 2025 | Views : 646

अमेरिकी रोजगारदर घटेको खवरसँगै जापानी येनमा उल्लेख्य सुधार


टोकियो, जापान ।

जापानी येन अमेरिकी डलरको तुलनामा मार्चपछिकै सबैभन्दा कमजोर स्थितिमा पुगेर जापानलाई चिन्तित बनाएकै समयमा अमेरिकी रोजगार बजार खस्किएको खवरसँगै एकैदिन येनमा भारी सुधार आएको छ ।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जुलाईमा अमेरिकी रोजगार बजार तीव्र गतिमा सुस्त भयो र अघिल्ला महिनाहरूको लागि अनुमान गरिएको भन्दा धेरै कमजोर पाइएको छ । जसले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले नयाँ कामदार राख्न कम्पनीहरुलाई दबाव दिएपनि परिणाम नदिएको देखिएको छ ।

अमेरिकी अर्थतन्त्रले गत महिना मात्र ७३,००० रोजगारी थपेको छ । जबकी मे र जुनको मासिक कुल संख्यामा संयुक्त रूपमा २,५८,००० रोजगारी थप भएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले श्रम तथ्याङ्क ब्यूरोकी आयुक्त डा. एरिका म्याकएन्टार्फरलाई बर्खास्त गरेका छन्, जसलाई उनले प्रमाण बिना नै ूराजनीतिक उद्देश्यका लागिू मासिक रोजगार रिपोर्टहरू हेरफेर गरेको आरोप लगाएका छन् ।

शुक्रबारको मासिक श्रम रिपोर्टले अमेरिकी अर्थतन्त्रले जुलाईमा केवल ७३,००० रोजगारी थपेको देखाएको छ, जुन अपेक्षाभन्दा धेरै कम हो । यसले मे र जुनमा पहिले रिपोर्ट गरिएको रोजगारी वृद्धिलाई पनि तीव्र रूपमा घटाएको छ ।

अमेरिकी बजारमा रोगजार खुम्चिएको खवरका बिच जापानी येनमा तिब्र सुधार आएको छ । शुक्रबार जापानी बजारमा एक डलरको १४९ येन भन्दा माथि रहँदा अमेरिकामा बजार खुल्दा जापानको मध्यरात यो बिनिमय १४७ येनमा झरेको छ ।

शुक्रबार डलरसँगको येनको बिनिमय ४ महिना यताकै न्यून बिन्दुमा पुग्दा जापानी अधिकारीहरुलाई दबाव बढाएको थियो ।

जापानको केन्द्रीय बैंकले ब्याजदर यथावत राख्ने निर्णय गरेपछि र भविष्यमा पनि ब्याजदर नबढाउने संकेत दिएपछि येनको मूल्यमा गिरावट आएको थियो ।

अर्थमन्त्री खाचुनोबु खातोले मुद्रा बजारमा देखिएको यो उतारचढावप्रति सरकार गम्भीर रहेको बताएका थिए । विश्लेषकहरूले येनको मूल्य थप घट्न सक्ने र सरकारले हस्तक्षेप गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएकै समयमा अमेरिकी बजारमा रोजगार दर खस्किएको खवरले तत्कालका लागि भने जापानलाई ब्याजदर अघोषित रुपमा तत्काल बढाउनुपर्ने दबावलाई टारिदिएको देखिन्छ ।

नयाँ बिनिमयदर अनुसार जापानबाट नेपाल रेमिट्यान्स गर्दा शुक्रबार १ लाख नेपाली रुपैयाँका लागि १० मान ८ हजार ५०० येन आसपास रहँदा शनिवार बजार बन्द हुने भएपनि ताजा अन्तर्राष्ट्रिय बिनिमयदरसँग तुलना गर्दा १ लाख नेपाली रुपैयाँको लागि १० मान ७ हजार येन भन्दा कम पर्न आउँछ ।