(Japan) 16 th February | 2026 | Monday | 7:52:29 AM || (Nepal) 4:37:29 AM
 
 


जापानीहरु नै भन्छन्-'अबको ५ वर्ष आम्दानी बढ्दैन'

  POSTED ON : Thursday, 31 July, 2025 | Views : 502

जापानीहरु नै भन्छन्-'अबको ५ वर्ष आम्दानी बढ्दैन'


टोकियो, जापान ।

जापानमा खर्च बढ्दो छ, हरेक वस्तु र तिर्नुपर्ने रकमहरु बढ्दै गएका छन् । जापान सरकारलाई तिनुपर्ने प्रशासनिक रकमहरु बाध्यकारी बनाईंदै जान थालिएको छ । तै पनि नेपाल लगायत एशियाली देशबाट बिदेशीहरुको आगमन जापानमा बढिरहँदा स्वयं जापानीहरु भने अब जापानमा आम्दानी र बचत नबढ्ने बताउन थालेका छन् ।

जापानको क्याबिनेट कार्यालयले हालै गरेको एक सर्वेक्षण अनुसार करिब सर्वेक्षणमा सहभागी आधा उत्तरदाताहरूले आगामी पाँच वर्षभित्र आफ्नो आम्दानी नबढ्ने बताएका छन् । अर्थात् अहिलेको अवस्था भन्दा सुधार हुनेमा आधा भन्दा धेरै जापानीहरुले आशा गर्न छाडेका छन् ।

उपभोक्ता मूल्यमा भएको तीव्र वृद्धिले हालैका ज्याला वृद्धिहरूलाई प्रभावहीन बनाएको र यसले उपभोक्ताको मनोबल घटाएको सर्वेक्षणले देखाएको छ ।

जुलाई २९ मा सार्वजनिक गरिएको अर्थतन्त्र र सार्वजनिक वित्तसम्बन्धी श्वेतपत्रमा यो नतिजा उल्लेख छ । मार्चको अन्त्यमा करिब १५,००० मानिसमा गरिएको यो सर्वेक्षण उपभोगमा कमी आउनुको कारण पत्ता लगाउन गरिएको थियो, जबकि ज्याला वृद्धि र कर कटौतीले खर्चयोग्य आम्दानी बढाएको छ ।

करिब ७० प्रतिशत उत्तरदाताले तलब बढेमा थप सामान किन्ने बताए पनि, १८.४ प्रतिशतले पाँच वर्षपछि ज्याला घट्ने र ३८.६ प्रतिशतले उस्तै रहने अनुमान गरेका छन् ।

विशेषगरी, युवा पुस्तामा समेत ज्याला वृद्धिप्रतिको विश्वास कम देखिएको छ, जसले गर्दा दीर्घकालीन आर्थिक स्थिरतामा चिन्ता बढेको छ ।

जापानमा बढ्दो निराशालाई सम्बोधन गर्न, प्रतिवेदनले २ प्रतिशतको स्थिर मूल्य वृद्धि र ज्याला वृद्धि तथा जागिर परिवर्तनको लागि सुधारिएको प्रणालीको आवश्यकता औंल्याएको छ ।