(Japan) 16 th April | 2026 | Thursday | 7:31:13 PM || (Nepal) 4:16:13 PM
 
 


अहिले यता होइन उता जानुस्...!

  POSTED ON : Tuesday, 13 March, 2018 | Views : 4409

अहिले यता होइन उता जानुस्...!


जिज्ञान कुमार थापा,

अध्यक्ष नेपाल जापान अध्यन केन्द्र (नेपाकेन) :-

कुसैले घुम्न आउने पाहुनालाइ आफ्नो तिर नआउनुस अन्त जानुस् भन्ने कुरा पर्चानै बनाएर प्रचार गर्दैछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। तर यो सत्य कुरा हो। जापानको क्युस्यु प्रान्तमा रहेको ओइता अञ्चलको बेप्पु शहर तातोपानी निस्कने प्रसिध्द क्षेत्र मध्ये एक हो। टोकियो बाट करिब ११सय किलो मिटर दुरिमा पर्दछ ।

जापानीहरु ओनसेन् अर्थात हट स्प्रिङमा डुबेर तातोपानीको आनन्द लिने गर्दछन् । त्यसैले जापान भरिनै यस्ता ओनसेन हरु धेरै नै छन् । त्यस मध्ये धेरै पाहुनाहरुले मनपराएका तातोपानी क्षेत्रमा ओइताको बेप्पु तेस्रो स्थानमा पर्दछ । अब प्रश्न आउन सक्छ त्यसो भए पहिलो चाहि कुन हो त? बिगत पन्ध्र बर्षदेखि लगातार पहिलो नम्बरमा आउने तातोपानी क्षेत्र गुन्मा अञ्चलको कुसाचु क्षेत्र हो। यो  टोकियो बाट २सय किलोमिटरको हाराहारीमा पर्दछ। जापानीहरुमात्र होइन संसार भरकै तातोपानीका पारखीहरु डुबेर आनन्द लिन बेप्पु या कुसाचु ओनसेन आउने हुदाँ यि दुइ क्षेत्रलाई एक आपसका प्रतिस्पर्दि पनि भन्न सकिन्छ।

तर प्रकृतिको खेललाई कस्ले रोक्न सक्छ र, कुसाचु क्षेत्रमा रहेको मोतोसिरानेसान नामक पहाडमा २०१८ जनवरी २३ तारिक अकस्मात ज्वालामुखी बिस्फोटन भएर १ जनाको मृत्य ११ जना घाइते भएका थिए। लामो समय तातोपानीमा डुबेर आनन्द लिन जाने ठाँउमा भएको ज्वालामुखी बिस्फोटनले गर्दा कुसाचु क्षेत्रमा जाने पर्यटकहरुको सख्या दिन प्रतिदिन घट्दै गएको छ ।

हुनत ज्वालामुखी फुटेको पाहाड र तातोपानी भएको क्षेत्र फरक हो र फेरी तुरुन्त त्यस्तो ज्वालामुखी फुट्ने सम्भावना कम रहेको सरकारी अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ । त्यसैले ज्वालामुखीको सम्भावना नहुदा नहुदै पनि कुसाचु क्षेत्रमा पर्यटक घट्नुले यस क्षेत्रमा रहेका होटेल, स्केटिङ लगाएतका पर्यटन संग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्‍ने संघ संस्था हरुको आर्थीक स्थिति दिनदिनै कमजोर हुदैँ गएको छ ।

यस्तोमा कुसाचु नजाने तातोपानीका पारखी आन्तरिक तथा बाह्य पर्यटकहरु ओइताको बेप्पु शहर तर्फ लाग्ने गर्दछन् । त्यसैले झट्ट हेर्दा बेप्पु ओनसेनको मनग्ये पैसा कमाउने मौका हो जस्तो लाग्न सक्दछ। तर बेप्पेले लिएको नीति भने फरक छ। जसलाई जापानका राष्ट्रिय दैनिक देखी बिभीन्न देशका पत्रपत्रिका तथा सामाजीक सञ्जालमा पनि सरहाना गर्दै लेखिएका छन् ।

त्यो के भने, बेप्पु शहरले कुसाचुको सहयोगको लागी अहिले हाम्रोमा हैन कुसाचु जानुस भन्ने  प्रचार सामाग्रीनै तयार पारी पत्रपत्रिकामा बिज्ञापन समेत दिएको छ । गत फेव्रुअरि १६ तारिक छापिएको उक्त पत्रिकाको बिज्ञापनमा भनिएको छ, सन् २०१६मा कुमामोतोमा गएको भुकम्पमा त्यसको असर त्यति नहुँदा पनि हाम्रो बेप्पुमा पर्यटकहरु आएनन् त्यसैले अहिले कुसाचुको समस्या पनि त्यसतै छ ।

सुरक्षित हुदाँहुदै पनि अफवाहमा लागेर पर्यटकहरु नआइदिदा कुसाचु ओनसेन क्षेत्रको स्थिति दयनिय हुनसक्छ जुन हामीले बिगतमा भोग्यौ। स्वच्छ प्रतिस्पर्दा त पछि स्थिति सुधार भएपछी पनि गर्न सकिन्छ, त्यसैले अहिले पर्यटकहरुको खाँचो हामीलाई भन्दा कुसाचु क्षेत्रलाई छ। कृपया अहिले यता होइना उता जानुस्।

प्रचार सामाग्रीको अन्तयमा भनिएको छ, यदि बेप्पु आउने इच्छा छ भने अहिले कुसाचु जानुस्, दुबै ठाउँमा जाने समय छैन भने सामाजीक सञ्जाल मार्फत कुसाचु क्षेत्रलाई हौसला हुने कुरा लेखिदिनुहोस्।