टोकियो, जापान ।
भूकम्प गएको एक मिनेट पछि अर्थात् रात ११ बजेर ९ मिनेटमा नै जापान सरकारले भूकम्प टास्क फोर्स प्रधानमन्त्री कार्यालय आपत व्यवस्थापन केन्द्रमा स्थापना गरेको घोषणा गरेको थियो ।
प्रधानमन्त्री सुगा योशिहिदे आफैं रात ११ बजेर २८ मिनेटमा प्रधानमन्त्री कार्यालय पुगेका थिए । अर्थात् भूकम्प गएको २० मिनेटमा नै अवस्था बुझ्न र आवश्यक तयारी र निर्देशन दिन प्रधानमन्त्री सुगा काममा खटिसकेका थिए ।
पहिलो चरणमा आणविक विद्युत् उत्पादन केन्द्रहरुको अवस्था जानकारी माग गरिएको थियो ।
किनभने सुनामी जस्तै वा सो भन्दा बढी खतरा यि स्थानमा असर परेमा हुनसक्ने डर सबैभन्दा बढी थियो ।
यसमा फुकुशिमा, मियागी सहित तोकाई र ईबाराकीका आणविक उर्जा केन्द्रहरुको सुरक्षा अवस्था माग गरिएको थियो ।
फुकुशिमा बाहेकका सबै आणविक उर्जा केन्द्रको अवस्था तत्काल चुस्त दुरुस्त पाईंदा करिव १० मिनेटको विस्तृत निरिक्षणपछि फुकुशिमा पनि पूर्ण सुरक्षाको अवस्था रहेको जानकारी प्रधानमन्त्री कार्यालयले बटुलेको थियो ।
भूकम्पबाट राजधानी टोकियो, गुन्मा लगायत भूकम्पको ठूलो असर परेका क्षेत्रहरु समेतमा गरि ९ लाख ५० हजार घरमा विद्युत् आपूर्ती रोकिन पुगेको छ । ति क्षेत्रमा विद्युत पुन सुचारु गर्ने काम भईरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।
सरकारका प्रवक्ता काचुनोबु कातोका अनुसार टोकियो ईलेक्ट्रिक पावर अन्तर्गत ८ लाख ६० हजार र तोहोकु ईलेक्ट्रिक पावर अन्तर्गतका ९० हजार घरमा विद्युत आपूर्ती बन्द हुन पुगेको छ ।
प्रधानमन्त्री सुगाले सरकारी निकायहरुलाई क्षति पुगेका स्थानको तत्काल सर्वेक्षण गर्न निर्देशन दिएका छन् । आवश्यक उद्दारको काम जतिसक्दो छिटो गर्न र जनतालाई समयमै सूचना पुर्याउन समेत सुगाले निर्देशन दिएका छन् ।
रात १२ बजेर ४० मिनेटसम्ममा कम्तिमा ३२ जना व्यक्ति घाईते भएको जानकारी प्राप्त भएको सरकारका प्रवक्ताले बताएका छन् ।
यसमा १४ जना मियागी प्रिफेक्चर र १७ जना फुकुशिमा प्रिफेक्चरका रहेका छन् । निगाता प्रिफेक्चरमा पनि एक जना बृद्ध घाईते भएको रिपोर्ट गरिएको छ । तर कोही पनि गम्भिर नरहेको बताईएको छ ।
फुकुशिमा क्षेत्रमा केही स्थान घरमा आगलागिको सूचना प्राप्त भएको अधिकारीहरुलाई उद्दृत गर्दै क्योदो समाचार संस्थाले उल्लेख गरेको छ । तर विस्तृत विवरणहरु खुलाईएको छैन ।
फुकुशिमा र मियागी क्षेत्रमा दर्जनौं घरमा क्षतिको विवरण प्राप्त भएको एनएचके समाचार संस्थाले खवर प्रकाशित गरेको छ । अधिकाशं घरहरुमा सामानहरु खसेर टुटफुट तथा झ्यालका सिसाहरु फुट्नुका साथै भौतिक संरचनामा समेत क्षतिको विवरणहरु प्राप्त हुने क्रम जारी रहेको एनएचकेले प्रत्यक्ष समाचार प्रशारणहरुमा उल्लेख गरिरहेको छ ।
जापानको मौसम एजेन्सीले रात १ बजेर १० मिनेटमा भूकम्प अवस्था बारेमा विस्तृत जानकारी गराउँदैछ ।