(Japan) 13 th June | 2026 | Saturday | 3:54:59 PM || (Nepal) 12:39:59 PM
 
 

अप्रिलबाट नयाँ भिषामा कामदार-जापानमा भएका बिदेशी कामदारको सर्वेक्षण गर्दै जापान

  POSTED ON : Thursday, 21 February, 2019 | Views : 5205

अप्रिलबाट नयाँ भिषामा कामदार-जापानमा भएका बिदेशी कामदारको सर्वेक्षण गर्दै जापान


टोकियो ।

आगामी अप्रिल महिनाबाट नयाँ भिषा प्रणाली अनुसार ठूलो संख्यामा बिदेशी कामदार ल्याउन लागेको जापानले जापानमा रहँदै आएका बिदेशी नागरिकहरुको सर्वेक्षण गर्ने भएको छ ।

जापानभर गर्न लागिएको यस्तो सर्वेक्षण केही साताभित्रैमा सुरु हुने बताईएको छ ।

जापानी समाचार संस्था एनएचके टेलिभिजनका अनुसार जापानमा बिदेशी नागरिकहरुको संख्या बढ्ने भएपछि न्याय मन्त्रालयले उनिहरुको वास्तविक तथ्यांक राख्न यस्तो सर्वेक्षण गर्न लागेको हो ।

देशभर रहेका बिदेशी नागरिकहरु रहने स्थानमा एक प्रश्नावली पठाएर उनिहरुको विवरण संकलन गरिने भएको छ ।

न्याय मन्त्रालयले पठाउने त्यस्तो प्रश्नावलीमा उनिहरुको जापानमा दैनिक उनिहरुले भोग्नुपरिरहेको समस्या बारे सोधिनेछ ।

यस्ता समस्याका कारणहरु सहित जापानमा बिदेशी नागरिकहरुले भोग्नु परिरहेको भेदभाव तथा सामना गर्न परिरहेका विभिन्न समस्याहरुबारे सोधिनेछ ।

प्राप्त सर्वेक्षणका आधारमा जापानको न्याय मन्त्रालयले बिदेशी नागरिकहरुलाई परेको समस्या र समस्या समाधानको लागि सरकारले गर्ने उपायहरु तय गर्ने बताईएको छ ।

यस्तो प्रश्नावली जापानमा रहेका बिदेशी नागरिकहरुसँग संकलन गरेमा अप्रिल महिनाबाट नेपाल सहित ९ देशबाट ल्याईने बिदेशी कामदारले त्यस्ता समस्या भोग्न नपर्ने सरकारको विश्वास छ ।

प्रश्नावली तथा अन्य विषयबारे सार्वजनिक रुपमा केहीदिनमै जानकारी गराएर बिदेशी कामदारहरु रहेको जापानस्थित ठेगानामा त्यस्तो प्रश्नावली पठाईने बताईएको छ ।

प्रश्नावलीको भाषा तथा पठाउने प्रक्रिया लगायतबारे छिट्टै सूचना जारि हुने खवरमा उल्लेख छ ।

....

यसबारेमा ताजा जानकारी प्राप्त भएपछि हामी समाचार प्रकाशन गर्नेछौं । कृपयाँ यो जानकारीमुलक समाचार सेयर गरेर जापानमा रहनुभएका सबैलाई जानकारी गराउनहुन अनुरोध समेत गर्दछौं ।