(Japan) 13 th June | 2026 | Saturday | 3:48:20 PM || (Nepal) 12:33:20 PM
 
 

जापान रोजगारमा कन्सल्टेन्सि, एजेन्ट वा म्यानपावरको छैन कुनै भर, सरकारलाई कामदार ठगिने मुख्य डर

  POSTED ON : Thursday, 14 February, 2019 | Views : 5946

जापान रोजगारमा कन्सल्टेन्सि, एजेन्ट वा म्यानपावरको छैन कुनै भर, सरकारलाई कामदार ठगिने मुख्य डर


टोकियो ।

जापानमा कामदारको लागि नेपाली युवा पठाउने प्रक्रियाहरु अघि बढाईरहँदा नेपाल सरकारलाई नेपाली कामदारले जापान गएर दुख पाउने चिन्ता भन्दा नेपालमै एजेन्टबाट ठगिने चिन्ताले बढी सताएको देखिएको छ ।

जापानमा नेपाली कामदार पठाउँदा उनीहरू कसैबाट पनि नठगिने र उनीहरूको रोजगारी सुरक्षित हुने गरी जापान सरकारसँग सम्झौता गर्ने सरकारले बताईरहँदा म्यानपावर, भाषा पढाउने कन्सल्टेन्सि सहित बिचमा दलाली गर्ने एजेन्टहरुले अनेक बहानामा ठग्न सक्ने देखिएको छ ।

यिनै संभावनाहरुलाई मध्यनजर गर्दै सरकारी अधिकारीहरुले कामदार नठगिउन् भन्न अनेक उपाय र कानुनी बाटोहरु अवलम्बन गर्ने तयारी गरेको छ ।

नेपाल सरकारले जापानमा केही सातापछि नै नेपाली कामदार पठाउने प्रक्रिया अघि बढाउने बताईसकेको छ । तर जापान सरकारले कामदार लिने संयन्त्र र कार्यविधिको प्रक्रियाबारे अन्तिम निर्णय नगरेकाले यसमा ढिलाई भएको श्रम मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

नेपालले जापानसँग सरकार सरकारबीच जीटूजी वा कोरियामा नेपाली कामदार पठाएजस्तै वैदेशिक रोजगार व्यवसायीलाई जिम्मा दिने ईपीएस प्रणाली बारे बिकल्प अघि सारेको छ ।

जापान सरकारले नै नेपाली कामदार कति र कुन प्रक्रियाबाट ल्याउने भन्ने आधिकारीक निर्णय नगरेको अवस्थामा नेपालका केही म्यानपावर एजेन्ट तथा भाषा सिकाउने कन्सल्टेन्सि सञ्चालकहरु सहित म्यानपावर दलालहरुले भने जापान रोजगार पठाउने भन्दै रकम लिन थालेको खवर सार्वजनिक हुन थालिसकेको छ ।

नेपाल र जापान सरकारबीच नेपाली कामदार जापान लैजाने निश्चित भएपनि कतिसंख्या, कहिलेबाट, के पक्रिया अनुसार र योग्यता के हुने भन्ने केहीपनि निर्णय नभएकाले नेपाल सरकार सहित जापानी अधिकारीहरुले समेत जापान आउन ईच्छुक नेपाली युवाहरुलाई आधिकारीक निर्णय नभएसम्मको लागि पर्खन अनुरोध गरेका छन् ।

नेपाल सहित ९ वटा देशबाट आगामी अप्रिल महिनाबाट ५ बर्ष भित्रमा ३ लाख ५० हजार कामदार ल्याउने निर्णय गरेको छ ।

नेपालबाट समेत कामदार ल्याउने भएको जापानले नेपालसँग सम्झौता गर्न आन्तरिक तयारी गरिरहेको जानकारी दिएपनि सम्झौता नभईसकेकाले कन्सल्टेन्सि, म्यानपावर वा एजेन्टको भर नपरी केही समय कुर्न जापानस्थित नेपाली राजदूतावासले समेत अनुरोध गरेको छ ।