टोकियो ।
जापानमा कार्यरत कामदारहरुको तलब बढाउन यहाँको सबैभन्दा ठूलो श्रम तथा कारोबार संगठनका प्रमुखहरु सहमत देखिएका छन् ।
उनिहरु कम्पनीहरुको मुनाफामा भएको बृद्धि, कामदारको अवस्था र कम्पनीको व्यापार अवस्था लगायतलाई हेरेर कामदारहरुको तलब बृद्धि गर्न सैद्धान्तिक रुपमा सहमत भएका हुन् ।
जापानी समाचार संस्था एनएचके टेलिभिजनका अनुसार व्यवासायिहरुको सबैभन्दा ठूलो संस्था जापान व्यापार संघ केईदानरेन र कामदाहरुको ठूलो संगठन जापान ट्रेड युनियन कन्फिडेरेसन रेन्गो यस विषयमा सहमत देखिएका हुन् ।
तलब कि सेवा सुविधा दुवै संगठनमा दुविधा
कामदारहरुको तलब बढाउने सैद्धान्तिक विषयमा सहमत देखिएपनि दुवै संगठनका प्रमुखहरुबिच तलबमानमा बृद्धि वा सेवा सुविधा लगायतमा बृद्धि गर्ने भन्नेमा बिमति रहेको पाईएको छ ।
केइदानरेनका अध्यक्ष हिरोआकि नाकानिशिले हालको त्रैमासिक अवधिमा जापानी कम्पनीहरुको आम्दानीमा सामान्य बृद्धि हुने देखिएको बताएका छन् ।
उनले कामदारको अवस्था र तलब महत्वपूर्ण हुने भन्दै यस्तोमा कम्पनीको आम्दानी र आर्थिक अवस्थालाई कायम राख्दै सुक्ष्म रुपमा यसमा काम गर्नुपर्ने बताएका छन् ।
यस्तै रेंगोका रिकिओ काजुले मध्यम र साना कम्पनीमा काम गर्ने कामदारहरुको संख्या ७० प्रतिशत रहेको बताउँदै व्यापार र आम्दानीअनुसार उनिहरुले तलब र सेवा सुविधा नपाईरहेको बताए ।
केईदानरेनका अधिकारीहरु कामदारले पाउने तलबमा बृद्धि बाहेक उनिहरुलाई दिईने सेवा र सुविधाको विकल्पमा बिचार गर्ने पक्षमा देखिएका छन् । तर रेंगोका नेताहरुले सेवा र सुविधासँगै कामदारले पाउने तलबमा मुख्य बृद्धि हुनुपर्नेमा जोड दिएका छन् ।