(Japan) 13 th June | 2026 | Saturday | 3:48:01 PM || (Nepal) 12:33:01 PM
 
 

जापानमा बिदेशी कामदारको संख्या अहिलेसम्मकै धेरै, चीन पहिलो नेपाली कामदार पाचौं नम्वरमा

Gokarna Adhikari   POSTED ON : Saturday, 26 January, 2019 | Views : 5263

जापानमा बिदेशी कामदारको संख्या अहिलेसम्मकै धेरै, चीन पहिलो नेपाली कामदार पाचौं नम्वरमा


टोकियो ।

जापानमा बिदेशी कामदारको संख्या सन् २०१८ को अन्त्यसम्ममा अहिलेसम्मकै धेरै भएको पाईएको छ ।

जापान सरकारको आँकडा अनुसार जापानमा बिदेशी कामदारको संख्याले रेकर्ड कायम गर्दै १४ लाख पार गरेको छ ।

यहाँको श्रम मन्त्रालयले सन् २०१८ को अक्टुबर महिनाको अन्त्यसम्मको बिदेशी कामदारको संख्या आँकडा सार्वजनिक गर्दै जापानमा हाल १४ लाख ६० हजार बिदेशी कामदार पुगेको जनाएको छ ।

यो संख्या अघिल्लो बर्षको तुलनामा १ लाख ८० हजारले बढी हो ।

यसको साथै लगातार जापानमा बिदेशी कामदारको संख्या बृद्धिले रेकर्ड राखिरहेको पाईएको छ ।

संख्याको आधारमा जापानमा बिदेशी कामदारमा चिनियाँ कामदार सबैभन्दा धेरै रहेको पाईएको छ । चिनियाँ कामदार मात्रै ३ लाख ८९ हजार रहेको तथ्यांक श्रम मन्त्रालयले सार्वजनिक गरेको छ ।

यसैगरि दोस्रो स्थानमा भियतनाम रहेको छ । भियतनामी कामदार जापानमा ३ लाख १७ हजारको संख्यामा रहेका छन् । तेस्रो स्थानमा भने फिलिपीनी नागरिक छन् । उनिहरुको संख्या १ लाख ६४ हजार पुगेको छ ।



श्रम मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय भियतनामी कामदारहरुको संख्या तिब्रगतिमा बढी रहेको छ । यसको कारण प्रशिक्षार्थी कामदार ल्याउने क्रम बढ्नुका साथै विद्यार्थीबाट कामदार भिषा परिवर्तन गर्ने भियतनामीको संख्या बढ्नु रहेको बताईन्छ । सन् २०१८ मा अघिल्लो बर्षको तुलनामा ३० प्रतिशतले भियतनामी कामदार बढेको पाईएको छ ।

कुल बिदेशी कामदार मध्ये ३० प्रतिशत राजधानी टोकियोमा रहेका छन् । टोकियोमा मात्रै ४ लाख ३९ हजार बिदेशी कामदार रहेको पाईएको छ । दोस्रो स्थानमा आईचि प्रिफेक्चर जहाँ १ लाख ५२ हजार बिदेशी कामदार बस्दछन् । तेस्रो स्थानमा भने ओसाका रहेको छ । ओसाकामा ९० हजार बिदेशी कामदार रहेका छन् ।

जापानको श्रम मन्त्रालयले बिदेशी कामदारको संख्या निरन्तर बढ्नुमा जापानमा श्रम शक्तिको अभावलाई कारण बताएको छ । मन्त्रालयले यो संख्या यस बर्ष अझै धेरै बढ्ने अनुमान लगाएको छ ।


नेपाली कामदार पाचौं नम्वरमा


जापानमा काम गर्ने बिदेशी कामदारको संख्या हेर्दा नेपाल गत बर्षजस्तै पाचौं नम्वरमा रहेको छ ।

अघिल्लो बर्ष चीन, भियतनाम, फिलिपिन्स, ब्राजिल, जि सेभेन जि ८ देशहरु अष्ट्रेलिया, न्युजिल्याण्डपछि पाचौं नम्वरमा रहेको नेपाल यस बर्षपनि पाचौं स्थानमा रहेको पाईएको हो ।

सन २०१७ मा नेपालले पाचौं स्थानमा रहँदै जापानमा रहेका बिदेशी कामदारको संख्यामा ५.४ प्रतिशत स्थान ओगटेको थियो ।

यस बर्षपनि पाचौं स्थानमा रहेको नेपाली कामदार ६० हजार बढीको संख्यामा रहेको पाईएको छ । यद्यपी यसमा संख्या यतिनै भनेर सार्वजनिक गरिएको छैन ।

तर यसबर्ष भने नेपाल भन्दा धेरै कामदार भएका देशहरुमा चीन, भियतनाम, फिलिपिन्स पछि ब्राजिल रहेको छ । पाचौं नम्वरमा नेपाल रहँदा बल्ल अष्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण कोरिया, ईण्डोनेसिया र पेरु क्रम रहेका छन् ।