टोकियो, जापान ।
जापानमा सोमबार एकैदिन १ सयजना कोरोना भाईरस संक्रमित भेटिएका छन् ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार योकोहामा पोर्टमा रहेको डाइमण्ड प्रिन्स पानीजहाँजमा रहेका ९९ यात्रुमा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अधिकारीहरुका अनुसार संक्रमित मध्ये १४ जना पानी जहाँजका कर्मचारी र ८५ जना यात्रु रहेका छन् ।
९९ जना भाईरस संक्रमित मध्ये ४३ जना मात्र जापानी नागरिक भएको अधिकारीहरुले बताएका छन् ।
आईतबार थपिएको संख्या सँगै योकोहामा तटमा रोकिएको पानी जहाँजमा कोरोना भाईरसबाट संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।
यस बाहेक जापानभर थप ६२ जनामा संक्रमित पाईएको भन्दै स्वास्थ्य मन्त्रालयले कुल ५ सय १६ जना संक्रमित पाईएको जनाएका छन् ।
१९ को अवस्था चिन्ताजनक
यसैबिच जापानका स्वास्थ्य मन्त्रीलाई उद्दृत गर्दै समाचार संस्था क्योदोले उल्लेख गरे अनुसार १९ जना कोरोना भाईरस संक्रमितको अवस्था गम्भिर बनेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले विशेष हेरचाहका साथ गम्भिर अवस्थामा रहेकाहरुको उपचार प्रयास भईरहेको बताएका छन् ।
कोरोना भाईरसको संक्रमणबाट जापानमा एक जापानीको निधन भएको पुष्टि जापानी अधिकारीहरुले गरेका छन् । चिनको हुहानमा रहेका अर्का एक जापानी नागरिकले पनि भाईरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
दुईसातादेखी योकोहामा पोर्टमा रोकिएको पानी जहाँजमा रहेका ३७ सय यात्रु मध्ये हालसम्म संक्रमण नपाईएका यात्रुहरुलाई भने बुधवारबाट छाडिने जापानी अधिकारीहरुले बताएका छन् ।
पानी जहाँजमा रहेका मध्ये ३ सय २८ जना अमेरिकी चार्टड बिमानमा स्वदेश फर्किएका छन् । क्यानडा, ईजरायल, दक्षिण कोरिया लगायत देशले आफ्ना नागरिकलाई लैजान प्रक्रिया अघि बढाएका छन् ।