(Japan) 23 rd October | 2026 | Friday | 6:42:33 AM || (Nepal) 3:27:33 AM
 
 


मिश्रजी,आउनुस् हातेमालो गरौं ! -जेकेन्द्र थापा

  POSTED ON : Monday, 19 November, 2018 | Views : 2354

मिश्रजी,आउनुस् हातेमालो गरौं ! -जेकेन्द्र थापा


चर्चित पूर्व पत्रकार रविन्द्र मिश्रजी, मध्यरातमा लेखियो वा मध्यदिनमा भन्ने कच्चा तर्क भन्दा कन्टेन्ट तथ्यपरक छ कि छैन, सन्दर्भ मिलेको छ कि छैन भन्ने बहसमा आउनुस् । बिषय अलि गहकिलो होला कि ?

तपाईंले मौसम अनुसार बोल्नुपर्छ/चल्नुपर्छ भन्नुभएको छ । ठिकै हो,त्यसमा तपाईं पारंगत नै हुनुहुन्छ । तपाईं मौसम,आँधी,हुरी,छाल,तापक्रम,प्रकोप सबै नापजोख गरेरै राजनीतिमा छिर्नुभएको हो । यो संसारमा सबै मृदुभाषी र कर्णप्रिय बन्न खोज्ने हो भने सत्य कुरा चाहिँ कसले बोल्छ होला ?

कसले लेख्छ होला उत्पीडितको आवाज,जसलाई सधैंभरि सत्ताको डण्डाले थिचिराखेको हुन्छ ?

रामायण पढे रामको बखान, महाभारत हेरे कृष्णको महिमा, विष्णुपुराण सुने विष्णुको गुणगान ! राजनीतिमा त्यस्तो हुन्न मिश्रजी, कर्णप्रिय होस् वा नहोस् तपाईं निरन्तर आफ्नो कुरा राख्नु नै पर्छ । बहुदलकालमा दलीय व्यवस्थाको,शाही शासनमा शाही सत्ताको,गणतन्त्रमा गणतन्त्रकै वकालत गरे जस्तो कहाँ हो र राजनीतिक दृष्टिकोण भनेको ?

तपाईंले पुस्तक नै लेख्नुभएको छ ‘खान पुगोस्,दिन पुगोस्’ शीर्षकमा । राजनीतिमा तपाईँले भन्दै गरेको लोक कल्याणकारी राज्य सहितको इन्ट्री पनि त्यही मान्यतामा भएको हो । यो दुनियामा कसैले केही दिनको लागि कोही न कोही हात थाप्ने हुनैपर्छ । सधैभरि राज्यमा कोही न कोही माग्ने भइराख्नुपर्ने र तपाईं आफू चाहिं टन्न अघाएर दानदातव्यमा मखलेल हुने भूमिकाको कामना गर्नुहुन्छ । यो असमानता र सामन्ती सोच मात्र होइन, भाग्यवादमाथिको अकण्टक मोह पनि हो । यही विन्दुबाट तपाईँ सच्चिनु जरूरी छ ।

यो संसारमा सबै पत्रु र म चाहिं सर्वगुण सम्पन्न मान्छे भन्ने तपाईँलाई लागेको छ भने तपाईं नेता बन्ने बाटोमै हुनुहुन्न । कसैले केही गरेकै छैनन् भन्दै गरेकै कामलाई पनि ओझेलमा पार्ने तपाईंको कुटिल प्रयासलाई एकछिन मान्ने हो भने पनि तपाईंलाई पनि प्रश्न गर्न सकिन्छ ‘देशको लागि तपाईंले चाहिं के गर्नुभो ?’

पुराना विचार,परिपाटी,व्यवस्थाले अब चल्दैन भन्ने तपाईंको निष्कर्ष हो भने आउनुस् छलफल गरौं,हामी पनि त्यही भन्दैछौं। तपाईं कति रूपान्तरित हुनुपर्ने हामी कति हुनुपर्ने बहस गरौं । मिल्ने जति कुरा सँगसँगै लिएर जाऔँ । तपाईंलाई नेता नै मानौंला तर तपाईंको दृष्टिकोण

आधारभूत हिसाबले नै बदलिनुपर्छ । अहिले वैकल्पिक राजनीतिको सफलताको जस लिने होड होइन,मेहनत गर्ने बेला हो । के तपाईं छलफल,रूपान्तरण र सहकार्यमा पनि विश्वास गर्नुहुन्छ ?

लेखक थापाको फेसबुकबाट साभार