(Japan) 21 st September | 2026 | Monday | 6:51:18 AM || (Nepal) 3:36:18 AM
 
 


अर्यालको जापान र जीवन अनुभव-निरन्तरको कर्मले पाएको सफलताको कथा

  POSTED ON : Thursday, 22 March, 2018 | Views : 26924

अर्यालको जापान र जीवन अनुभव-निरन्तरको कर्मले पाएको सफलताको कथा


रहरको शहर ठानेर जापान आएका हजारौं नेपाली युवा लक्ष्य पहिल्याउन नसक्दा भन्छन्-'जापानमा सारै दुख छ ।' कडा मेहनत, इमान्दारिता र विवेकले जीवनमा सफलता अनि विश्वासले सग्लो परिचय बनाएका डोल प्रसाद 'डिपि' अर्याल जापान बारेको आम बुझाइमा त्यत्ति सहमत छैनन् ।


जीवनको करिव आधा उमेर जापानमा विताएका अर्यालको जापानबारे सटिक जवाफ छ-'सकारात्मक सोच राखेर आफुले आफुलाई प्रोत्साहित गर्दै सम्भावनाको यो देश मेरो लागि मौका हो भन्ने सोचे जीवनमा अगाडी सुन्दरै सुन्दर देख्न पाइन्छ' मेहनत, इमान्दारिता अनि स्पष्ट बिचार राख्ने व्यक्तित्वका रुपमा परिचित अर्याल हाल इजिलिन्क मनि टन्सफर जापानको प्रमुख छन् ।

सामान्य अवस्थामा रहेर उदाहरणिय व्यक्तित्व बन्न सफल उनै सफल व्यवसायी अर्यालले जापान यात्रा र सुन्दर भविष्यको अनुभव संगालो जापानसमाचारसंग साट्नु भएको छ...


यसरी सम्भव छ जापानमा सुन्दर जीवन



दशक अघी धेरै र अहिले न्युन मात्रामा होम स्टे मार्फत नेपालीहरु जापान आइरहेका छन् । दुई दशक अघि यस्तै पारिवारिक सम्वन्ध स्थापित गरेर जापान आएका अर्याल मात्र दुई बर्षको जापान बसाईपछि केही ज्ञान अनि सिप र भाषागत दक्षता हाँसिल गरेर स्वदेश फर्कीए ।


आएपछि यहिँ बस्न मरिहत्ते गर्ने आम प्रचलन विपरित स्वदेश फर्कीएका अर्यालले जापानको मेहनत शैलि अनि आफ्नो अनुभवलाई अझै तिखार्न ट्राभल र ट्रेकिगं व्यवसाय अघि बढाए । सफलताको सिँढि चढ्ने क्रममा भाषागत ज्ञानलाई सदुपयोग गर्दै अर्यालले सुरु गरे जापान आउने विद्यार्थीहरुको लागि भाषागत क्षमता निखार्न कन्सल्टेन्सि ।


विगतको कर्म अनि अन्य क्षेत्रको लगानी र व्यवसाय भन्दा मनि ट्रान्सफरको क्षेत्रमा सफल व्यक्तिको रुपमा परिचित अर्याल भन्छन् मेरो त्यहि कन्सल्टेन्सिनै जापानमा मैले सुरु गरेको र अहिलेसम्म सफलतामा साथ दिने आधार बन्न पुग्यो ।

मैले ५ सय बढी विद्यार्थी आफैंले भाषा पढाएर जापान आउन सहयोग गरें । 


प्रक्रियागत शुल्क बाहेक क्याम्पसलाई बुझाउनुपर्ने शुल्क विद्यार्थी आफैंले पठाउने गर्दा कहिल्यै ठगिएनन् । अर्याल भन्छन्-'मेरो त्यही पारदर्शीता र इमान्दारिताले गर्दा मैले जापानबाट नेपाल पैसा पठाउने व्यवसाय सुरु गर्दा तिनै मेरा विद्यार्थीको सबैभन्दा बढी साथ र विश्वास पाएं ।'


डिपि अर्याल जापानबाट नेपाल पैसा पठाउने पहिलो नेपाली रेमिटेन्स कम्पनी सञ्चालनको सुरुवात कर्ता समेत हुन् । व्यवसायीक यात्रा उचारचढावबारे अर्याल भन्छन्-'मैले सुरुवात गरेको कम्पनी छाडेर इजिलिंक सुरुवात गर्दा समेत जापानमा रहनुभएका नेपालीहरुले मलाई विश्वास गरेर इजिलिंक मार्फत नेपाल पैसा पठाउनुहुन्छ । यसको अर्थ उहाँहरुको म प्रतिको विश्वास अझै उस्तो छ र यो बढ्दो छ । यसैले मलाई खुशी र सन्तुष्ट बनाउँछ । म जापानमा रहेका नेपालीहरुले गर्नुभएको यो विश्वासमा कहिल्यै आँच आउनेदिनेछैन ।'


अध्ययन र संघर्ष



धादिंगको तत्कालिन मैदी गाविसमा जन्मिएका अर्यालले स्कुले बढाई गाउँकै विद्यालयमा गरे । २०४८ सालमा एसएलसी उत्तिर्णपछि राजधानीको कोलाहल छिरेका अल्लारे अर्याललाई काठमाडौैंको चमकधमकले ठमेल हुँदै दरबारमार्ग पुर्यायो । तर रातमा पनि जागा हुने ती ठाउँले उनलाई त्यसैमा भुल्न हैन भविष्य बनाउन सघायो ।


पर्यटक पथप्रदर्शकको रुपमा काम गर्दै गरेका अर्यालको यात्रा त्यतिखेर मोडियो जतिखेर उनलाई एक अमेरिकी पर्यटकले तिमि कुन भाषा सिक्न चाहन्छौ ? भनेर सोधे । अमेरिकी पर्यटकको प्रश्न अनि नेपालको अँग्रेजी क्रेज विपरित अँग्रेजी बाहेक अरु कुनै भाषा सिक्न चाहेको जवाफ दिएका अर्याललाई ति पर्यटकले स्वदेश फर्कंदा १ सय डलर दिए ।


पैसा त त्यसै मासियो तर उनले सोधेको प्रश्न, अनि मैले दिएको जवाफ र आफुलाई जापानी भाषा सिक्न मन लाग्न थालिसकेको थियो । किनभने जापानी पर्यटकहरुको आगमन बढ्दो अनि उनिहरुको व्यवहार पनि राम्रो लागेका कारण मैंले यहि भाषा सिक्ने निधो गरें र पछि आफैंले खर्च गरेर भाषा सिक्न थाले । त्यही भाषाले मलाई जापानी पर्यटकहरुको पथप्रदर्शक बन्न सहयो गर्यो अनि यहाँसम्मको यात्रा तय गर्नपनि ।


विश्वविद्यालय तहमा कुनै डिग्रि हाँसिल नगरेपनि अर्याल नेपाली भाषासँगै जापानीज भाषामा पनि विशेष दख्खल राख्छन् ।

जापान र हामी नेपाली




जापान सिस्टममा चलेको देश हो । कानुन व्यवस्था, नियम अनि हरेक कुरा प्रक्रिया अनुसार हुने हुँदा नेपाल भन्दा यहाँ हरेक कुरा फरक छ ।

कामकै समयमा भेटघाट, चिया चुरोट, व्यक्तिगत काम, भनेको बेला छुट्टी छोटो समय काम गर्ने गर्दा हामीलाई नेपालमा काम धेरै गाह्रो भइराखेको हुँदैन । तर यहाँ काममा छिरेपछि जति समय काम हो त्यो पुरा समय काम मात्र हुन्छ । अनि तोकेको समयमा गर्नुपर्ने काम, भनेको कुरा पुरा अनि तिर्नुपर्ने रकम हुनैपर्छ । यसैलाई जापानमा सारै दुख छ भन्नेहरुलाई म के भन्न सक्छु र !

देश छोडेपछि एक्लै भइन्छ । भाषा केही नमिल्दा मनका कुरा आदान प्रदान गर्न नपाउँदा यहाँको समाजबाट टाढा परिन्छ । काम गर्न नजान्दा हेपिन सकिन्छ । 

अन्य सिप र क्षमता नहुँदा भनेको जस्तो काम र कमाई हुँदैन अनि आफ्ना कमजोरीले परेको असजिलोलाई कसरी दुख भन्न मिल्छ । भाषा भएर काम पाइएन, सिप भएर बेरोजगार हुन पर्यो । नियममा बस्दा समेत दुख पाइयो । ठगि, लुटपाट, बदमासी भयो कसैले साथ दिएन भने दुख पाएको मान्नुपर्छ तर यहाँ त्यस्तो केही छैन । हो कामकै लागि भनेर आउने केही नेपालीहरुले भने काम धेरै तलब कम पाएको देखिन्छ । विद्यार्थीहरुले चर्को शुल्क तिरेर आउनु परिरहेको छ । भिषा परिवर्तन गर्दा झण्झट पाउनुभएको छ । त्यो कुरा भने हट्नुपर्छ । हामी नेपालीकै कारण भएको त्यस्तो गलत कुरा गर्नु हुँदैन ।


पछिल्लो समय जापानले नेपाली विद्यार्थी तथा कामदार 'कुक' को भिषामा कडाई गरेको सुनिएको छ । यहाँ रहेकाहरुको भिषा नविकरणमा समेत कडाई गरेको बताइन्छ । यसमा हामी नेपाली संलग्न भएका आपराधिक घटना तथा यहाँको नियम विपरितका असामाजिक काम पनि धेरै हदसम्म जिम्मेवार छन् ।

त्यसमा पनि जापानको आफ्नै नियम र नीति हुन्छ । जसले कुन देशका नागरिक कति आउन दिने भन्ने योजना हुन्छ । त्यसले पनि यसमा असर पारिराखेको होला । तर पछिल्लो समय हामी नेपाली नेपाली बिच भएका केही गतिविधि, सार्वजनिक हुने बेला बेलाका गैर कानुनी संलग्नताले हामी सबै यसमा सचेत हुँदै सबैले सबैलाई सहयोग गरेर कोही नेपालीले राम्रो गरे नेपालले राम्रो गरेको र कोही नेपालीले नराम्रो गरे नेपालले नराम्रो गरेको सन्देश जाने कुरा बुझ्नु र बुझाउनु आवश्यक छ ।


प्राप्ती र सर्मपर्ण



जीवनमा लक्ष्य राखेर सफल हुने अनि कर्म गरेर सफलता प्राप्त गर्ने यि दुई थरि सफल व्यक्तित्व मध्ये डिपी अर्याल आफु दोस्रो नम्वरमा रहेको ठान्छन् । भन्छन्-'लक्ष्य त सोचियो तर लक्ष्य बनाएर भन्दा पनि निरन्तरको कर्मले अहिलेको सफलता पाए जस्तो लाग्छ ।'

जीवनमा गुमाएको भन्दा पाएको धेरै देख्ने अर्याल आफुले आर्जेका विश्वासले अघि बढ्न सघाइराखेको बताउँछन् । भन्छन्-'जति कमाएं त्यसले मलाई व्यवसाय विस्तार गर्न सघाइराखेको छ ।
अनि जति जीवन खर्चिएं त्यो सबै जीवन लगानीले मलाई डिपि अर्याल बनाएर चिनाइराखेको छ । तर जीवनमा एउटै गुमाएको जस्तो लाग्ने भनेको वुवा । जो धेरै अघि वित्नुभयो, उहाँलाई मैंले मेरो सफलताको स्वाद चाख्न दिन सकिन । सायद मेरो यो इमान्दारिता र मेहनतमा साथ हुनुभएको भए उहाँले मेरो छोरो मेहनती र इमान्दार छ भनेर गर्व गर्नुहुन्थ्यो ।'