जापानबाट गाउँपालिका प्रमुखलाई चिट्ठी,
अध्यक्ष ज्यु नमस्कार ,
संक्रमण मुक्त हुनुभएको खबरले खुसि भएं । बधाई छ ।
संक्रमण जितेर फर्कनु भएको पालिका अध्यक्ष हजुर मार्फत गाउॅंवासी सबैमा अनुरोध गर्दै यो पत्र लेख्दै छु ।
कोरोना बिगबिगिको बिच परदेशिलाई सबै भन्दा बढि चिन्ता गाउॅ घर र देशकै हुदो रहेछ । यो लेख लेख्दै गर्दा टोकियोमा संक्रमितको संख्या ५३ सय नाघिसकेको छ ।
म आफै बसेको कोठाबाट प्रत्यक्ष देखिने अस्पतालमा दिनका दिन कोरोनाका बिरामि भर्ना गरिरहेको समाचार सुन्छु ।
त्यहां वल्लोपल्लो वडा सिल गर्दै गरेको समाचार सुन्दा म कोरोनाले रुमल्लिएका अमेरिका, चाईना, जर्मन, फ्रान्स जस्ता देशबाट आउने प्लेनमा काम गरिरहेको हुन्थें ।
भन्दा गफ लगाए जस्तै होला । त्यति नै बेला कोरोनाको सबै संकेत लक्षण म र मेरि श्रीमतिमा पाउथें ।
थाहा छैन जाँचेको भए पोजेटिभ नै थियो कि बा अहिले पनि पोजेटिभ नै छ कि ?
समय जटिल बन्दै थियो । अस्पताल उल्टै रोग सार्ने माध्यममा गनिन थाले । जापानी नागरिक दयालु हुने हुदा तिनै जापनीले हौसला दिई रहन्थे ।
डरले मरिने भए म मरेको आज दुई महिना पुग्थ्यो । यतिसम्म डरको भुमरिबाट समय गुज्रियो कि यहाँ लेखेर अटाउँदैन ।
काम गरौं कोरोना, नगरौं के खाने, कसरि बाच्ने ? भन्ने तनाब थियो । बाध्यता थियो भनौं ।
न दिदिकोमा जाउँला, न मामाघर न कुनै आफन्त । खास गरि यो बिचमा आत्मबल बढाउदै हौसला दिने टोकियो विश्वविद्यालयका दिपेश खरेल सरलाई बिर्सन्न । डरको चरमचुलिमा मलाई खर्चेको १ घण्टाको कुराकानी जिवनको अबिस्मरणिय क्षणमा गन्छु ।
आफु जस्तो सुकै ठाउँमा पुगोस् मान्छे, आफु जन्मे हुर्केको ठाउँको नराम्रो समाचारले आफै बिरामि भएको महसुस गराउँदो रहेछ । त्यसैले अबको उपय के त ? प्रश्न खडा भएको छ ।
अध्यक्ष ज्यु,
कोरोना संक्रमण फैलिन सक्ने चेतावनीसंगै सरकारले देशव्यापी लकडाउन सुरु गर्यो संगै तपाई दिन रात जनताको लागि खटिरहनु भएको थियो होला । कसैलाई संक्रमण हुन दिन्न भन्दै खट्दा खड्दै उल्टै तपाई आफैं संक्रमीत हुन पुग्नु भयो रे ।
सबैले यो कुरा गोप्य राख्दा राख्दै हजुरले सार्बजनिक गर्नु भएछ । यसैमा सबैले तपाईको आँट र शाहसको सम्मान गरेका छन् । संक्रमण पछि अहिलेसम्मको अनुभब राख्नु भन्दा अबका दिनमा के गर्ने त भन्ने कुराले ठूलो महत्व राख्ने हुँदा यो अनुरोध पेस गर्दैछु ।
त्यसैले पालिकाका सुभचिन्तक तथा पत्रकारले संक्रमणको अनुभब कस्तो रह्यो भनि अध्यक्षलाई सोध्न आउलान् । यसको जवाफमा समय नखर्चिनुस । अब जनतालाई कसरि जोगिने भन्ने तर्फ जोड दिनुस ।
यो भाईरस हामीसँग निरन्तर रहिरहन्छ भन्ने अनुमान गरेर यो पत्र लेख्दै छु । हजुर कोरोना संक्रमित भएको समाचार सुने पछि सारा गाउँ नै कोरोना संक्रमित भएको आभास भएको थियो ।
अनि म पनि फेरि एक पटक कोरोना संक्रमित भएको अनुभब गरें । त्यसैले गाउँवासिलाई यो भन्दिनुस कि कोरोना संक्रमण रोक्न लकडाउन अन्तिम उपाय होईन, यसको साटो जीवन शैलि परिबर्तन गरौं ।
गाउँका बुबा आमा दाजुभाई दिदि बहिनिलाई भन्दिनुस शारीरिक दूरी कायम गर्नुस । मास्क लगाउनुस । नियमित रुपमा हात धुनुस ।
विशेषगरीःसम्भव भएसम्म आफू र अन्य व्यक्तिहरुबीच कम्तिमा १० हातको दुरी कायम गरौं, सम्भव भएन भने पनि ५ हातको दूरी चाँहि जसरी पनि राख्नुस् ।
कुराकानी गर्दा, सम्भव भएसम्म आफूले कुरा गरिरहेको मानिसको ठीक सामुन्ने नबस्नुस । बाहिर जाँदा पनि कोठाभित्र बस्नु पर्यो वा कुराकानी भइरहेको छ भने आफूलाई संक्रमणको लक्षण नै नभएपनि मास्क लगाउनुस ।
घरमा आउनेबित्तिकै हात धुन, सकेसम्म छिटो लुगा फेरेर नुहाउन सबै गाउँलेलाई सम्झाईदिनुस् । हात साबुन र पानीले राम्रोसँग कम्तिमा ३० सेकेन्डसम्म धुन भन्नुस । बिरामी भेट्न जाँदा वा संक्रमणको उच्च जोखिममा रहेको मानिसहरुसँग भेटघाट गर्दा विशेष सावधानी अपनाउनु पर्छ ।
आफुले जानेको र बुझेको केही कुरा बुदामा लेखेको छु
– सकेसम्म बाहिर नजानुहोस । पर्याप्त हावा आवतजावत नभएको बन्द ठाउँमा नजानुहोस, भिडभाड धेरै भएको ठाउँमा नजानुहोस ।
–मानिसहरुको नजिक बस्नु पर्ने परिस्थितीबाट जोगिनुहोस । कोठामा पर्याप्त हावा छिर्न दिनुहोस् । खोक्दा वा हाच्छिँउ गर्दा रुमाल वा कुहिनाले मुख छोप्नुसोस् ।
– नियमति रुपमा हात धुनुहोस् ।
– ज्वरो वा रुघा खोकीको लक्षण देखिएको छ भने घरमै बस्नुहोस् । बिसन्चो महसुस भएको छ भने आराम गर्नुहोस ।
– पसलमा कम मानिस भएको बेलामा जान भन्नुस । रकम बुझाउदा वा फिर्ता लिदा सिधै हातमा लिनुको साटो टेवुलको प्रयोग गर्नुस । किन्न जानु भन्दा पहिला नै योजना बनाउनुहोस । मतलब छोटो समयमा धेरै पटक धाउनु नपरोस । पसलमा नमूनाका रुपमा राखिएका वस्तुहरु हातले समाउने छोड्ने बानीलाई त्याग्ने र प्रदर्शनमा राखिएका वस्तुहरु नछुनुहोस ।
– खेलकुद मैदानमा जाँदा कम मानिसहरु भएको बेलामा जाने र गएपनि जुन ठाउँमा थोरै मानिसहरु छन् त्यही बस्नु होस । घरमै बसेर गर्न सकिने व्यायाम सम्बन्धी फेसबुक, युट्युब टिकटक मार्फत भिडियोहरु हेरेर व्यायाम गर्नुहोस । ठूलो समूहमा मेलापात, भेला आदि नगर्नुहोस ।
– सम्भव भएसम्म सरकारि कामकाजको लागि अगाडि नै समय छुट्याउने र संबन्धित कार्यालयमा आफु उपस्थित हुने समयको जनकारि गराउनुहोस ।
– सानो कोठामा आवश्यकता भन्दा लामो समय नबस्नुहोस । भजन किर्तन, बिबाह, बर्तबन्ध जस्ता कार्यक्रममा निम्ता मान्दा दूरी कायम गर्ने वा छुट्टा छुट्टै समयमा खानपिन गर्न भन्नुहोस् । बन्द कोठा भित्र भन्दा बाहिर बसेर खानुहोस । साथमा खाना खाँदा आमने सामने नबस्नुहोस । खाना खानेबेलामा कुराकानी नगर्नुहोस । एउटै गिलास वा भाँडोबाट पानी वा अन्य कुनैपनि पेय तथा खाद्य पदाथ नखानुहोस् । जुठो नखानुहोस ।
– गाडि चढ्नै परे सकेसम्म कुरा नगर्नुहोस । आफूलाई ज्वरो वा रुघाखोकीको लक्षण देखिएको छ भने कुनै भेला तथा समारोहमा नजानुहोस् ।
– निम्ता गर्नेले उपस्थित नहुनुलाई अपमान नसम्झनुहोस । आमुन्ने सामुन्ने बसेर भेटवार्ता गर्नु पर्ने भयो भने कोठामा पर्याप्त हावा पस्ने स्थानमा बस्ने र मास्क लगाउनुहोस् ।
– पालैपालो काम गर्नुहोस । यात्रा गर्ने समय फरक पार्नुहोस । कार्यालयमा काम गर्ने स्थान खुला राख्नुका साथै आलोपालो बैठक राख्ने, थोरै समुहमा बैठक बसि निर्णयहरु सबैलाई फोन, एसएमएस वा अईन्टरनेट तथा प्रकाशन गरेर जानकारि गराउने र प्रतिक्रिया लिने गर्नुहोस् ।
यति गर्न सक्यौं भने धेरै हदसम्म संक्रमण फैलन पाउने छैन । लकडाउन नै अंतिम बिकल्प हुँदै होईन । जिबनशैलि परिबर्तन गरि अगाडि बढ्नु नै अहिलेको आबस्यकता हो ।
र अन्त्यमा आल्मबल बलियो बनाउनु भयो कोरोना संक्रमणलाई जित्नु भयो । यो रोग सामान्य भएर जानेछ । मेरो पालामा यस्तो भएको थियो भन्ने ईतिहास बन्ने छ ।
परिस्थिले धेरै कुरा सिकाएको छ । गांउ सबै वस्तुमा आत्मनिर्भर बनाएर अहिले अर्डर टिपेर बस्नेलाई अर्डर माग्ने बनाउंन परदेश देखि घरदेश सम्म हामि परदेशिको साथ रहिरहने छ ।
परिस्थिति जस्तो सुकै किन नहोस् मनस्थिति नडगमगाएकै कारण जनयुद्धदेखि रोग युद्ध जित्नु भएको छ । पालिका हाक्ने तपाईलाई प्रदेश हाक्ने आत्मबल र क्षमता अभिवृदिहोस । शुभकामना ।
नारायण पोखरेल
धुर्कोट गाउँपालिका गुल्मि,
हाल टोकियो जापान