(Japan) 13 th November | 2025 | Thursday | 8:54:42 PM || (Nepal) 5:39:42 PM
 
 


'महिला हिंसा मानवता विरुद्धको प्रहार'

'महिला हिंसा मानवता विरुद्धको प्रहार'


संसार भर कोरोना भाईरसको आक्रान्त फैलिरहेको समयमा नेपालमा भने लैंगिक हिंसा बिरुद्धको लजास्पद घटनाहरु भइरहेका छन् ।

यि घटना महिला बिरुद्धको हिंसा मात्र नभई मानवता विरुद्ध समेत प्रहार भईरहेका छन् ।

यस्ता अपराध बिरुद्ध आवाज उठिरहदा पनि हिंसाका घटनाहरु सार्वजनिक भैरहेका छन् । महिला दिदिबहिनीहरु बलात्कार, बहुबिवाह, मानव बेचबिखन, घरेलु हिंसा, बाल यौन दुराचार, लगायतका हिंसाका शिकार भईरहेका छन् । घटनाहरूमा हिंसा पिडीतलाई न्याय र पिडकहरुलाई हदैसम्मको  कानूनी ब्यवस्था भएपनि लैंगिक हिंसाको घटना भने रोकिएको छैन । 

पछिल्लो समय धनकुटा र भक्तपुरमा घटेको घटना सुन्नै नसकिने कहालिलाग्दो छ ।

धनकुटा नगरपालिका वडा नं.६ निवासी १४ बर्षिया बालिका आफ्नै शिक्षक सहितअन्य तिन जना बाट पटक पटक बलात्कृत भएको घटनाले नारीहरू समाजमा कति सम्म असुरक्षित छन् भन्ने उदाहरण दिएको छ ।

समाजमा नैतिकता र ज्ञान सिकाउने शिक्षकबाट नै यस्तो खालको घटना घट्नुले समाजमा अभिभावकका नाममा कस्ता व्यक्तिहरु समेत रहेका छन् भन्ने प्रतिनिधत्व गरेको छ ।

शिक्षक जस्तो व्यक्तिबाट यस्तो घटना हुँदा हामीमा ईमान्दार र जिम्मेबारी हराउँदै गएको त होईन भन्ने प्रश्न उब्जाएको छ ।

त्यति मात्रै होईन उक्त बालिकाको पेटमा अहिले चार महिनाको शिशु रहेको र मानसिक सन्तुलन समेत कमजोर रहेकाले उपचारका लागी हस्पिटल भर्ना गरिएको जानकारीमा आएको छ ।

यस्ता घटनाको जति घोर भर्त्सना गरेपनि त्यो कम हुन्छ । घटनामा संलग्न बलात्कारीहरूलाई हदै सम्मको कारवाही र पिडीतलाई न्यायका लागी नेपाल सरकारले अभिभावकिय भूमिका निभाउनु पर्दछ ।

धनकुटाको आलो घाउमा खाटा समेत नलाग्दै राजधानी उपत्यकामै अर्को त्यस्तै शिर नुग्ने अपराधको घटना बाहिर आएको छ ।

आर्थिक प्रलोभनमा पारेर कोठामा ल्याई २० वर्षिया महिलालाई आधा दर्जन युवाबाट भएको बलात्कार घटना महिला हिंसासँग मात्र जोडिएको छैन । यसले स्वयं पुरुषको पुरुषत्वको शिर झुकाएको छ । महिला हिंसा बिरुद्ध बलात्कार घटनाका रुपमा मात्र हेरिनु भन्दापनि मानव समाजको कलंकका रुपमा लिएर यस्ता घटनाका दोसीलाई हदैसम्मको कारवाही हुनुपर्दछ ।

बलात्कारमा संलग्न केहीलाई पक्राउ गरिएपनि अझै केही फरार भएको खवरहरु आएका छन् । नेपाली समाजमै कलंकको रुपमा रहेका त्यस्ता फरार अपराधिहरुमाथी गत बर्ष भक्तपुरमै अपहरण काण्डमा प्रहरीले चाले जस्तै कठोर कदम चाल्नु अत्यावश्यक भईसकेको छ ।

अपहरणका नाममा साना बालबालिकालाई उठाएर फिरौती रकम असुल्दै साना नानीबाबुको हत्याको घटनाक्रम बढिरहँदा प्रहरीले अपहरणकारीमाथी गोली चलाउँदा उनिहरु मारिएका थिए ।

महिला हिंसाको रुपमा आमा, दिदिबहिनी अनि हाम्रा छोरी चेली माथिको अपराधका घटनालाई नियन्त्रणमा लिन अब प्रशासनले कठोर कदम चाल्नु पर्ने बेला आएको छ भने समाजमा त्यस्ता अपराधमा संलग्न र बचाउ गर्नेलाई सबैले नांगेझार बनाएर सबक सिकाउन ढिलो भईसकेको छ ।

...

लेखिका अधिकारी एनआरएन जापानको महिला संयोजक तथा महिला फोरम संयोजक हुनुहुन्छ ।