मैले देखेका बाल्यकालका ती सुन्दर सपनाहरूमा तिम्रो हात र न्यानो काखहरू प्रायजसो समेटिएका हुन्छन् । मिल्थ्यो भने आफूलाई त्यही अवस्थामा लगेर यथावत राखी तिम्रो न्यानो ममताको छहारीमा लुटपुटी गरी सारा जीवन बिताउँझैँ लाग्छ । तर कल्पनाको संसार र यथार्थमा आकाश जमिन फरक हुन्छ । आफ्नो जिम्मेवार आफैं उठाउन भनौँ या थोरै भएपनि आर्थिक बोझलाई तिम्रो काँधबाट सारी मेरो काँधमा जिम्मेवारीको भारि उठाउनलाई तिम्रो न्यानो काखबाट टाढिन परिस्थिति र समयले पुर्यायो ।
हरेक अभावहरू उत्तिकै खड्किन्छन् तर रित्तो घर आँगनीमा छोराछोरीको बाटो पर्खेर सुखका दिनहरू बिताउने चाहनामा काटेका तिम्रा एक्लोपनले साहाराबिना झैँ खड्किएका ती अभावहरूको अगाडि कुनैपनि दुःख ठूलो हुँदैन होला ।
नारीमा बल हराउदै गएपनि बाध्यताले बाधेको दाम्लोले कसेको पस्यौटो झन कसिलो बन्दै जादैछ् । उमेर हुँदा सन्तानका लागि जोडेको जग्गा जमिन आज आफैमाथि बुढेसकालको बोझ बनेर पासो जस्तै बन्दै गएको छ् । कति दुःख, खाइनखाइ गरि जोडेको जग्गा जमिन एक उखान जस्तै बन्न पुगेको छ् । 'नखाउ भने दिनभरिको शिकार खाउ भने कान्छा बाउको अनुहार ।' गरौं त सकिन्न नगरौ त आँखा अगाडि बितेको देख्न नसकिने ।
सन्तान प्राप्तिदेखि लिएर उनीहरूको हुर्काई बढाई र उनीहरूलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउन कुनै पनि दुःख अनि संघर्षको कसुर छुटाएका हुदैनन आमा बा ले ।
सन्तानबाट देखेका सुख प्राप्तिका ती न्याना सपनाहरू सपनामै सीमित भएर गएका हुन्छन् । बुवाले उठाएका ती संस्कार अनि कर्तव्यका बोझहरू आफ्ना सन्तान माझ बिसाउन नपाउँदै पन्छिन्छन् कतिका हातहरु ।
आफ्नै रगत र कोखबाट जन्म लिएका छोराले छुट्टिन खोज्दै अंश मागेपछि बुवाआमाले बाध्य भएर स्वीकार्छन् । त्यसपछि घर छुट्टिन्छ, भान्छा छुट्टिन्छ १ घर र भान्सा सँगसँगै मन पनि छुट्टिन्छ । बाँड्नलाई त तिल देखि तेल सम्म बाँडिन्छ नुन देखि सुन सम्म बाँडिन्छ ।
बिडम्बना आमाले नौ महिना सम्म गर्भमा राखी सन्तान जन्माउदाको पीडा बाडिन्दैन । बुवाले प्राण हत्केलामा राखि खाइ नखाइ गरि गरेको दुःख बाडिदैन । बाँड्नलाई त बाबुले दुःख गरि कमाएको श्री सम्पती सबै बाडिन्छ, तर त्यही सम्पत्ति कमाउँदाको पीडा बाडिन्दैन् ।
सम्झने हो भने सन्तान बिरामी हुन्छन कि, भोको पेट लिएर रुन्छन कि, दिशा पिसाबमा गडछन कि भनेर जागै बसेको अनिन्द्रा रातहरु बाडिन्दैनन । आफूहरु भोकै बसेर भए पनि सन्तानलाई खुवाएको मर्मस्पर्शी यादहरु बाडिदैनन् । सारा सम्पत्ति भनेको सन्तान नै हुन भनेर गरेका दुःख हरु बाडिदैनन् ।
सन्तानका लागि मात्र सोच्ने, सन्तानकै लागि बाच्ने र सन्तानाकै लागि आफ्ना आँशु लुकाएर बाच्ने बा आमा धेरै हुनुहुन्छ । धेरै आमाहरु सीता बने तर, हामि सन्तान श्रवणकुमार बन्न सकेनौ । बुवा आमाको परिस्थिति, मान, मर्यादा, इज्जत र उहाहरुको सानो चाहनालाई पनि नियाल्न सकेनौ ।
बा आमा आफ्ना सन्तानका लागि समाजसँग लड्न सक्छन, हरेक परिस्थिसँग जुध्न सक्छन् । भोको पेट पटुकिले कम्मर कसेर सन्तानलाइ जिम्मेवारी सम्झिएर अन्तिम स्वास सम्म लड्छ्न । तर त्यसको बदलामा सन्तानले दिएको भने एक्लोपन, नैरास्यता अनि मन भरि पिडा मात्रै हो ।
देखासिकीको लागि सामाजिक सञ्जालमा हालेका तस्बिरहरूले आमाको मर्म अनि पीडा बुझ्दैन । आमाको सेवा र माया देखाउनको लागि मातातीर्थ औंशी नै कुर्नुपर्छ भन्ने छैन । आमा लाई खुसि राख्नु छ भने आमाका दुःखलाई नजिकबाट बुझौँ , सकिन्छ खुसीमा सामेल हौँ, सकिँदैन भने आफ्ना कारणले आमाका भावनामा चोट पुग्ने काम नगरौँ । सम्पूर्ण आमाहरूमा मातातिर्थ औँसीको शुभकामना ।
...
हाल : खानागवा जापान