टोकियो, जापान ।
जापानः सपना संघर्ष र सफलता पुस्तक जापानमा बसोबास गरिरहेका र जापानमा आउने तयारी गरिरहेका सबै नेपालीहरुका लागी बहुउपयोगी पुस्तक रहेको छ । यस पुस्तकमा जापानी रहनसहन, भाषा, संस्कृतिदेखि नेपालीहरुले जापानमा अवलम्बन गर्नुपर्ने हरेक बिषयहरुलाई मिहिन ढंगले बिश्लेषण गरिएको छ ।
यहि सेप्टेम्बर सम्म ११८० येनमा जापानभरी होम डेलेभरी समेत रहेको यस पुस्तक आफ्नो लागी पनि एक प्रति सुरक्षित गर्न यो लिंक बाट नाम ठेगाना र सम्पर्क नम्बर हाल्नुहोला ।
https://forms.gle/8VKVXnDFDZHzCb8L8
आज हामी हाल जापानमा बहुचर्चित उक्त पुस्तकबाट महत्वपूर्ण केहि भाग यँहा साभार गर्दैछौ । तपाईंलाई पनि उपयोगी लागेमा पढेर अन्य साथीहलाई सेयर गर्न सक्नुहुन्छ ।
नेपाली सर्कलमा सीमित र परनिर्भर
सर्वप्रथम त नेपालबाट यति टाढा देश जापानमा आएर पनि सधैँ नेपालीहरूसँग मात्र सङ्गत गर्ने व्यक्तिले सफलता हात पार्न सक्दैन भन्ने कुरा त किन र कसरी भनेर व्याख्या गरिरहनु पर्दैन होला । तैपनि कतिपय नेपालीहरू जापान आएको भन्नु मात्रै, सधैँ नेपालकै साथी खोजेर सँगै बस्ने र नेपाली खाना खाने, नेपाली भाषा नै बोल्ने र काम पनि नेपालीहरू धेरै भएको ठाउँमा नै खोजेर गर्ने प्रवृत्तिका हुन्छन् ।
उनीहरू सकेसम्म जापानीसँग नभेट्ने वा जापानी भाषा बोल्नु नपर्ने सजिलो उपाय खोज्ने गर्दछन् । यसले गर्दा केही क्षणका लागि सजिलो त होला तर अन्ततोगत्वा साथीभाइहरूले धेरै कुरामा प्रगति गरिसक्दा पनि आफू नेपालीहरूकै पछि लाग्नु पर्ने हुन्छ । यसले परनिर्भरता झन् बढ्ने हुन जान्छ ।
यस्ता क्रियाकलापले जापान जस्तो अवसरहरू धेरै भएको देशमा पनि हातैमा आउन लागेका स्वर्णिम अवसरहरूलाई गुमाउनु परेको हामीले देखिरहेका हुन्छौँ । एकथरी नेपालीहरू नेपाल र नेपालीसँग भन्दा पनि जापान र जापानीहरूसँग मात्र घुलमिल गर्नेहरू पनि हुन्छन् । यो पनि गलत नै हौ । चिनी धेरै खायो भने तितो हुन्छ भन्ने भनाइलाई हामीले सदैव ख्याल गर्नुपर्ने हुन्छ ।
यहाँको भाषा र संस्कृति सिक्नको लागि जापानीहरूसँग नजिकिनु त ठीकै हो तर कतिपय अवस्थामा हामी नेपालीहरूको समस्या पनि फरक भइदिने हुँदा अन्य नेपालीहरूले कसरी समाधान गरेका छन् ? त भन्ने एक खालको रोलमोडेल पनि थाहा हुन जरुरी हुन्छ ।
दुर्घटनमा परेका वा कानुनी रूपमा समस्यामा परेका नेपालीहरूलाई यहाँका नेपालीहरूले त्यस्तो अवस्थामा के गर्नुपर्छ भन्ने कुरा थाहा नहुँदा जापानीहरूले दिने सल्लाह र सुझाव भनेको खाली थेउरिटिकल मात्र भएका केसहरू पनि छन् । त्यसैले नेपाली र जापानीहरूसँग आवश्यकता अनुसार निश्चित दूरी कायम राखेर सङ्गत गर्नु उपर्युक्त हुन्छ ।
साथीभाइ सबैलाई चाहिन्छ तर कतिसम्म भन्ने कुरा सोच्नुपर्दछ । जापानमा आउँदा कोठाभाडा महङ्गो पर्ने हुनाले नेपाली साथीसँग रुम सेयर गर्ने कुरा ठीकै हो । तर काम पनि साथी भएकै ठाँउमा गर्ने, घुम्न पनि त्यही साथीसँग मात्रै जाने आदि क्रियाकलापले गर्दा हरेक कुरामा अरूकै भर पर्ने बानी भएका नेपालीहरू पनि भेटिन्छन् । यसै सन्दर्भमा मलाई एउटा घटनाको याद आउँछ । जापानमै काम खोज्ने सिलसिलामा कम्पनीहरूको जब फेयर (मेला) मा स्टल घुम्दै एक झुन्ड नेपाली साथीहरूको ग्रुप आएछन् ।
त्यही बेला जापानी कम्पनीले यस कम्पनीमा रूचि राख्नुहुने कोको हुनुहुन्छ बस्नुस्, हामी कम्पनीको कामबारे बताउँछौ भन्दा, एक जना नेपालीले अरू साथीलाई जाऊँजाऊँ अन्तै हेरौँ भन्नासाथ सबै लर्को लागेका थिए । यो दृष्य नौलो भने होइन । साथीभाइको कुरा धेरै नै सुन्ने हाम्रो बानी छ । तर आफ्नो पौरखले त्यो कम्पनीमा काम गर्न सक्ने क्षमता भएका विद्यार्थी पनि त्यो ग्रुपमा थिए होलान् । तर बिडम्बना उनीहरू सबै लर्को लागेर गए ।
वास्तवमा एक्लै घुम्नुको छुट्टै अर्थ हुन्छ । जापानी नागरिकहरूसँग नबुझेको कुरा सोध्नाले कहिलेकाहीँ नयाँ परिचय बन्छ । नसोचेको भेटघाट र चिनजानले गर्दा वा नयाँ च्यालेन्जले गर्दा कहिलेकहीँ समस्या आएमा कसरी समाधान गर्ने भन्ने एउटा प्रोसेस आफैँमा विकास हुँदै जान्छ । जसले गर्दा अन्य त्यस्तै समस्या आएमा पनि आफैँले समाधान गर्न सक्षम भइन्छ ।
के हामीले जापानमा आएर आफैँले सिक्दा हुने र सिक्न सकिने कुरामा पनि अरूमा भर त परिरहेका छैनौँ ? के हामी प्रारम्भिक दुःखबाटै भागिरहेका त छैनौँ ? प्रारम्भमा गरिएका कतिपय दुःखले हामीलाई नै थप मजबुत बनाइरहेको हुन्छ भन्ने यथार्थलाई हामीले भुल्नु हुँदैन । र, बुझ्नुपर्ने कुरा के हो भने एकपटक आफैँले सिकेमा पटकपटक अरूलाई सोधिरहनु पर्दैन । त्यसैले अरूमा निर्भर हुनु भन्दा एक्लै मेहनत गर्ने तर कहिलेकाहीँ जमघटमा साथीभाइसँग समय बिताउने गर्दा सफलता सजिलोसँग हात पार्न सकिन्छ ।
यि र यस्तै हामीलाई झकझकाउने र हौसला दिने 'टपिक'हरु समेटिएको यस पुस्तकको लागी तलको लिंकमा क्लिक गरेर आफ्नो लागि पुस्तक अर्डर गर्न सक्नुहुनेछ ।
https://forms.gle/8VKVXnDFDZHzCb8L8