(Japan) 4 th October | 2024 | Friday | 8:08:31 AM || (Nepal) 4:53:31 AM
 
 


क्योतोको तोजी मन्दिर, ८७ बर्षे जवानसंगको भलाकुसारी र जीवनका प्रेरणा

sudeep adhikari   POSTED ON : Wednesday, 18 September, 2024 | Views : 496

क्योतोको तोजी मन्दिर, ८७ बर्षे जवानसंगको भलाकुसारी र जीवनका प्रेरणा


२ दशक भन्दा बढी जापानमा विताईसक्दा म धेरै पटक क्योतो पुगेको छु । त्यहांका बिश्व प्रसीद्ध मन्दिर, स्मारकमा घुम्ने, फोटो खिच्ने त धेरै पटक गरियो तर ईतिहासको लामै कालखण्डको साक्षीबसेका, मानव कौशल र कल्पनाशीलताको पराकाष्टा  नाघेका यी अद्वैत स्मारकहरुमध्ये तोजी मन्दिर बारे अलि बिस्तृतमा बुझ्ने मौका चाहिं यस पटकको क्योतो भ्रमणमा मिल्यो । 

बिश्व सम्पदामा सुचिकृत र जापानको पनि प्रमुख राष्ट्रिय स्मारकमा गनिने तोजी मन्दिर परिशर हामी बिहानको दश बजे तिर पुगेका थियौं । हाम्रो बिशेष अनुरोधलाई स्वीकार्दै मन्दिरका एक पुजारीले हामीलाई घुमाउन थाल्नुभो । 

मन्दिर परिसर निकै ठूलो रहेछ र मूल मन्दिरको छेवैमा बिभिन्न प्रयोजनको लागी अन्य भवनहरु, बगैंचाहरु र गेटहरु रहेछन्। “रेंगेमोन गेट” निकै प्रसिद्ध रहेछ। आज भन्दा झन्डै १,२५० बर्ष पहिले त्यहांका एक सन्त कुकाई सान, तपस्या गर्न कोया पर्बत (वाकायामा केन) तिर जानलाग्दा त्यहि रेंगेमोन गेट हुंदै गएका रहेछन् । त्यहां उनलाई बिदा गर्न स्वयम् बुद्ध भगवान प्रकट हुनुभएको धार्मिक विंवदन्ति रहेट र वहांका पाईलाहरु पछ्याउंदै कमलका फूलहरु फूलेका रहेछन् ।

यो पबित्र स्थानलाई प्रणाम गर्दै हामी मन्दिर परिसरको अर्को भब्य भवन “अतिथि सत्कार गृह” मा प्रबेश गर्यौं । यो भवनमा ओहोदा अनुसार बिभिन्न ब्यक्तिहरुले प्रयोग गर्ने छुट्टाछुट्टै कोठाहरु थिए । राजपरिवारले प्रयोग गर्ने कोठा चाहिं बिशेष हुने रहेछ । तातामी ९सुकुल० पनि हातले बुनिएको नरम, सम्राट, सम्राज्ञी बस्ने चकटी, पनि त्यस्तै विशेष बुट्टा र रंग भएका हुने रहेछन् । 

शायद बास्तु अनुसार होला, भित्र प्रबेश गर्ने दिशा, बस्ने मोहडा, कोठामा राखिएका चित्र टांगिएको उचाई सबै सम्राट र सम्राज्ञीलाई बिशेष आदर गर्दै र जापानी परम्परा र त्यसको महत्वलाई जीवीत राख्दै नियमन गरिएको हुने रहेछ । सांच्चै नै भौतिक बिकासको चरमोत्कर्षमा पुगेको भैकन पनि जापानीहरुले आफ्नो परम्परालाई सकुशल राखेको यत्रतत्र देखिन्छ । र यसैले जापानलाई बिश्वसामु परिष्कृत पनि पारेको छ । 

त्यसपछि मुख्य तोजी मन्दिर तिर गयौं । यो मन्दिर झण्डै १,२५० बर्ष पहिले सम्राट काम्मुको आदेशमा देशमा शान्तिको कामना गर्दै बनाईएको थियो । कैयौं भूकम्प, आंधी, आगलागी आदि झेल्दै, ढल्दै, फेरि बनाईंदै, फेरि ढल्दै, फेरि बनाईंदैको क्रम संगै अहिलेको अबस्थामा आएको रहेछ । 

अहिलेको मन्दिरको स्वरुप चाहिं ५०० बर्ष अघि कै ५ तल्ले पगोडा शैलीको पुन निर्माण रहेछ । यो जापानकै सबैभन्दा अग्लो पगोडा मन्दिर हो । यसभित्र “मिक्यो बुद्ध”का मूर्तिहरु छन् तर यो चाहिं नयां बर्षको छोटो समयको लागी मात्रै खुल्ने रहेछ ।

यस परिसरको अर्को मुख्य भवन (कोन्दो हल) भित्र चाहिं छुट्टाछुट्टै महिमा बोकेका थुप्रै भगवान बुद्धका मुर्तीहरु राखिएका छन् । यहांका मुख्य भगवान चाहिं “याकुशी” अर्थात “उपचार गर्ने बुद्ध” र उनका सहयोगी निक्को र गाक्को हुन् । 

यहिं अर्को पढ्ने पढाउने भवन (अर्थात कोदो हल) मा चाहिं तान्त्रिक बौद्ध धर्म र हिन्दू धर्मको प्रभाव झल्किने सयौं मूर्तीहरु रहेछन् । कुनै शिव झैं पन्चमूखी, त कुनै ब्रम्हा झैं चर्तुमुख, कुनै अष्टभूजा धारी देवी झैं दानवलाई संहार गरिरहेका त कुनै ध्यान गरिरहेका ।

ध्यान गरिरहेका पनि कोहि आंखा खोलेर त कोहि आंखा चिम्लेर । हामीलाई घुमाईदिने पुजारीका अनुसार चाहिं यि मूर्तिहरु तान्त्रिक पद्धती अनुसार बनाईएका र फरक फरक समस्याका उपाय सुझाउन त्यस अनुसारका मूर्तीबाट प्रेरणा लिनुपर्ने रहेछ । मन्दिर गएर भगवान संग “यो दिनुहोस् र त्यो दिनुहोस” भनेर माग्ने बानी परेको मेरो लागी भने त्यो नितान्त नौलो सन्देश थियो । “माग्ने” होईन “प्रेरणा लिने”। 

मन्दिर आफैंमा “शक्ति केन्द्र” हो । हामी चाहिं भगवानका सन्तती भएका नाताले त्यो शक्ति केन्द्रबाट आफूलाई चाहिने शक्ति, सामर्थ्य र ज्ञान प्रेरणाको रुपले लिन सक्छौं । तर त्यसको लागी ज्ञानको आंखाचाहिं खोल्नुपर्ने रहेछ अर्थात मन्दिरमा आएपछि आफ्नो कर्मलाई फर्केर हेर्दै, के गर्नुपर्ने ठाउंमा के गरिएछ, अब के गर्दा उत्तम होला भन्ने जस्ता आत्म केन्द्रित समिक्षा गर्दै आफैंलाई परिष्कृत बनाउन सहयोग मिल्ने रहेछ ।

पुजारीको यो ज्ञान कर्मजीबी जापानीको जीवन संग पनि ठ्याक्कै मेल खाने । यस्तो सरलताका साथ हामीलाई तोजी मन्दिर बारे बुझाईदिनु भएकोमा पुजारीज्यूलाई धन्यबाद दिंदै, फोटो खिचेर बिदा भयौं । थप अध्ययनका लागी केहि पुस्तक पनि उनले सुझाए । 

त्यसपछि नजीकैको एक जापानी “जेन बगैंचा” मा गयौं । त्यसका कर्ता धर्ता एक ८७ बर्षे जवान काका हुनुहुंदो रहेछ । पहिला त्यो बगैंचामा सित्तैमा प्रबेश रहेछ । अनि जस्ता मान्छे पनि आईदिने, जथाभाबी फूल बोटबिरुवा बिगारीदिने गरेछन् ।

केहि समय अघिबाट चाहिं प्रबेश शुल्क १००० येन लिन थालेको, अब चाहिं सांच्चैनै यो बगैंचा बुझ्न चाहने मान्छे मात्रै आउने भएकोले धेरै आनन्द छ भन्थे ।

सन्त झैं देखिने ति सज्जन, त्यति ठूलो बगैंचाको देखभाल आफैं गर्ने रहेछन् । कान भने अलि कम सुन्ने उनलाई, हाम्रोलागी केहि सन्देश दिनुहोस् भनेको, निकै सरल तर गहन कुरो बताए । जीन्दगी बगीरहनुपर्छ रे । एक ठाउंमा टक्क अडिन हुन्न । हाम्रो शरीरमा पनि जसरी रगत नबगे जीन्दगी तमाम हुन्छ, खोला नबगे पृथ्वीमा बनस्पतिलाई गार्हो हुन्छ त्यस्तै गरि, हामीले पनि कर्म नगरेमा मानव जातीको उन्नति हुंदैन । नेपालका प्रसिद्ध प्रस्तोता बिजयकुमारले पनि पटक पटक दोहोर्याउने यो शिक्षा, सांच्चै नै बिश्वब्यापी पो रहेछ। 

हामी ति सज्जनका जीवनका प्रेरणारुपी ज्ञान ग्रहण पश्चात बिदा भई, टोकियो तिर मोडियौं ।