गत महिना जुनको १४ तारिख देखी जुलाईको १८ तारिखसम्म म अमेरीकाको ५ हप्ते पारिवारीक भ्रणमा थिएँ ।
अमेरीका जान सजिलो र छिटो बाटो पच्छ्याउँदै म अमेरिकन एअरलाइन्सको सिधा उडान मार्फत हानेदा विमानस्थलबाट स्थानिय समय ४ः४० मा टेक्ससको लागि रवाना भएँ ।
टेक्ससमा बसोवास गरीराखेकी बहिनीलाई पनि भेट्ने व्यग्र प्रतिक्षा त छँदै थियो, तर बहिनीको छोराको विवाह कार्यक्रममा सरिक हुनु थियो मलाई ।
डालास जाने क्रममा एअरपोर्टमा भेट भएकी एकजना जापानी महिलासँग पनि परिचय गरिवरि इमिग्रेशनको काम सकी प्रतिक्षालय तर्फ अगाडि बढ्यौ हामी ।
टिकट ४ महिना अगाडिनै अन लाइनबाट काटिएको थियो ।
निर्धारित समय अनुसार विमान ३०७ जना यात्रु र १७ जना चालक दलका सदस्यहरू लिएर लस एन्जल्सको लागि उड्यो ।
यो पालीको बाह्र घण्टे लामो यात्रा सोचेको जस्तो पट्यार लाग्दो भने भएन ।
उडेको केही समय सँगै बसेकी जापानी महिलासँग गफगाफ र एक घण्टापछि हवाई जहाज द्वारा वितरित खाना खाएर हामी आराम गेर्ने मुडमा आँखा चिम्लियौं ।
दुई तीन घण्टापछि खाना खान र वासरुम जान ब्युझिए पनि यात्रा खासै पट्यार लाग्दो भने भएन ।
विमान पनि निर्धारित समय मै अमेरीकाको १४ तारिख ३ बजेर ४० मिनेट जाँदा लस एन्जल्समा अन्र्तराष्ट्रिय हवाई अड्डामा सकुशल अवतरण गर्यो ।
तर अनौठो अनुभव अनलाईबाट काटेको टिकट सिधा उडानको भए पनि उड्ने ७ दिन अगाडि मलाई मेल मार्फत लस एन्जेलस भएर जाने जानकारी गराइयो । यो जानकारी स्विकार गर्नुको विकल्प पनि थिएन मसँग ।
जे भने पनि हस हजुर भन्दै पछि लाग्यौं हामी हवाईजहाजले देखाएको बाटोको पछिपछि ।
जापानबाट उड्दासम्म जापानी समय सेकेण्ड सेकेण्डको महत्व बोकेको म अमेरीका पुग्ने बित्तिकै लस एन्जलसमा डालासको लागि उड्नु पर्ने जहाज प्राविधिक कारण (रेगुलेटरले बाहिर धुँवा नफालेको) तेर्स्याएर गेट नम्बर नै तोकिएपछि पनि ३ घण्टा ढीला छ भन्ने उद्घोषण भयो । यो सुनेपछि मेरो रिसको पारो अलिकति त माथि चढि नै हाल्यो ।
तर प्रतिक्षा नै गर्नु बाहेक हामीसँग विकल्प पनि थिएन ।
उडान ढीला भएको जानकारी फोन मार्फत बहिनीलाई गराएर म लस एन्जलस हवाईअड्डामा कफी र चमेनाको खोजीमा एकैछिन जुटेँ।
यसरी १४ तारिखको बेलुका ८ः४० मा पुग्नु पर्ने मेरो उडान १५ तारिखको मध्यरात १२ बजेर २० मिनेटमा मात्र फोर्ट ओर्थ अन्तरराष्ट्रिय विमानस्थलमा उत्रियो ।
समयको अन्तर र अनिदोको कारण थकित म, डालास पुगेर बैनी र ज्वाइलाई एअरपोर्टमा भेटेपछि बल्ल मुटुको धडकनले आफ्नो गति समात्यो ।
अब सुरू भयो मेरो भ्रमणको मुख्य उदेश्य :
२०२४.६.१७ छोराको बिवाहको मेहेन्दी कार्यक्रम :
२०-२२ जना जति ओझा परिवारसँगको भेटघाट, चिनजान र भला-कुसारीमा व्यस्त हामी ।
भरीभराउ घर झकिझकाउ मान्छे नौलो उत्सव कति हो कति रमाइलो ।
सबै “कहिले आइ पुगेको ?” “यात्रा कस्तो भयो ?” र “कति दिन बस्ने ?” बेलि विस्तार लगाउँदैमा ठीक्क, दँग, व्यस्त र खुसी खुसी ‘म’ ।
मलाई त रमाइलो हेर्न र गर्न पाए पुगि हाल्यो नि ।
आधा यात्रा थकावट र रमाइलोसँगै पूरा दिन उत्सवमय रह्यो ।
त्यसको भोलिपल्ट ‘मेस्सी मलमा’ गएर अलिकति किनमेल बाहिर रेस्टोरेन्टमा खाना, डालास स्टक यार्ड घुमघाम, काउ टाउन मार्केट र फोर्ट ओर्थ वाटर पार्क डुलि हाम्रो घुमघामले विश्राम लियो त्यो दिनको लागि ।
टेक्ससको पूरा गर्मी खाँदै, ज्वाइको मर्सिडिज बेन्चमा दँग परी बैनीको घरमा फिर्ति सवारी भयो मेरो बेलुकाको ९ बजे ।
जापानी समयको दिउँसो चार बज्दाको जस्तो घामको अनुभव लिएर ।
त्यसपछि २० तारिख बिहानै ३:३० मा उठेर तयार भै हामी विवाहमा भाग लिन न्यू-जर्सीको उडानको लागि ज्वाईको टोयोटा ट्रकमा सुटकेश राख्दै लाग्यौं फेरि डालास एअरपोर्ट तर्फ।
११ जना बहिनी, ज्वाइ , म, भाउजू, सुदेश बाबु, रेखा, रेसु, अखिल, रेमी, नातिनी र आवि (बेबी सिटर) सबैसँगै ।
न्यूयोर्क लगौडिया एअरपोर्टमा दिउँसो १:३० बजे दुईटा पजेरो जिप हामीलाई लिन तयारी अवस्थामा थियो ।
एउटा, एउटा स्याण्डविच र एक, एक बोतल मिनरल वाटर टिपी हामी लाग्यौं विवाहको लागि रिजर्व गरिएको होटल Saddle Mont Crown Plaza, New-Jersey तिर ४ दिन र ३ रातको बास बस्न !
वाउ अमेरिकी जीवन कत्ति रमाइलो ! हुर्रे !!
विबाहको पहिलो कार्यक्रम थियो केटा पक्ष र केटी पक्षको बिच परिचयात्मक कार्यक्रम ‘मिट एण्ड ग्रिट’।
बहिनीको छोरा शास्वतलाई बाह्र वर्षपछि भेटेर खुसीको सिमा नै छैन नि ‘हावी’ ९यो ठूलो ममीको०।
२१ तारिख विहानको खाना (ब्रेक फास्ट) खाएर (हल्दि) बुकुवा लगाउने सेरेमनि सकाएर हामी लाग्यौं न्यू-जर्सीमा भएको सबैभन्दा ठूलो हिन्दु मन्दिर श्वामी नारायण मन्दिर, अक्षरा-धामको दर्शन र घुमघाममा ।
बेलुका गरवा डान्स गुजराती चलनको लठ्ठी नाच र पार्टी । किनकी बुहारी भारतिय मुलकी गुजराती भएको भएर चलन पनि दुवैतिरको आधा आधा।
तेस्रो दिन विहान नेपाली चलन अनुसार मण्डपको विवाह र बेलुका रिसेप्सन, धेरै आफन्तसँग भेटघाट, रमाइलो, छोरा-बुहारीको मुख हेरी ठूलो ममीको कर्तव्य पूरा गरी, म पन्छिएँ जिम्मेवारीबाट ।
लागेँ म न्यूयोर्कको यात्रा तिर ।
२०२४.६.२३ साँझ ५ बजे लगौडिया एअरपोर्टबाट बैनीहरूसँग छुट्टिएर म भदा अतुल पौड्यालको बासस्थान न्यूयोर्कको क्यिन्स तर्फ र बैनीहरू ब्याक होम टेक्सस तर्फ।
अतुल व्यस्त भएर एअरपोर्टमा लिन आउन नपाएपछि म उबर चढेर एक्लै क्विन्स तर्फ हिंडे ।
उबर राइडलाई राम्रोसँग एड्रेस दिएपछि भदा बस्ने अपार्टमेन्टकै तल लगेर ओरालि दियो र हामी, बुहारी पुष्पा र म सुटकेश तान्दै घरको दोस्रो तल्ला पट्टी अघि बढ्यौ ।
खाजामा म।म। खाएर एकछिन आराम गरेपछि भदा आइपुग्यो डिउटी सकी ।
वर्षौं पछि फुपू भदाको भेट।
मान्छेलाई खुसी यस्तै स-साना कुरामा मिल्ने रहेछ । आहा ! कति राम्रा मेरा भाइका छोराहरू, शमिप र आयान ।
भोलिपल्ट, नेपाली रेष्टुरेण्टमा लन्च खाइ हामी अतुलको टोयोटा गाडीमा टाइम्स स्क्वाएर, ब्रुकलिन ब्रिज हेर्न गइयो ।
जुन मेरो यो पालीको अमेरीका भ्रमणको मुख्य उदेश्य पनि थियो ।
यो ब्रुकलिन ब्रिज, न्यूयोर्कको स्थापना सन् १८८३ को ‘ मे’ महिनामा भएको थियो रे । पहिला यो पूलको स्थापना ब्रूकलिन शहर र म्यानह्याटन शहर जोड्नकोलागि बनाइएको थियो ।
यो विकाशे केबल-सस्पेन्सन ब्रिज संसारको एक मात्र नमुना पुल पनि हो ।
यसलाई हेर्नको लागि दैनिक देश विदेशबाट हजारौं मान्छे ओइरो लाग्छन् ।
यो पूल म्यानह्याटन शहर र ब्रुकलिनको बीच बग्ने पूर्वी नदी (east river) को माथि फैलिएको छ।
पहिला पूल बन्नु अधि यस ठाउँमा नदी माथि एकठाउँमा मात्र निश्चित क्रसिन्ग थियो रे ।
यो पुलको लम्बाई जम्मा ४८६-३ मिटर लामो छ।
यो पुलको मुख्य स्थानमा एक डेक छ जसको उचाई ३८.७ मिटरको छ। यसको उद्घाटनको समयमा यो पूल संसारको सबैभन्दा लामो झोलुङ्गे पुल थियो ।
पहिला यो पूललाई पूर्वी नदी पूल (east river bridge) भनिन्थ्यो । तर यो पुल बनेपछि यसलाई आधिकारिक रूपमा सन् १९१५ देखि ब्रुकलिन ब्रिजको नाममा परिवर्तन गरियो र यो अहिले संसारभर प्रशिद्ध छ ।
त्यसपछि हामी लाग्यौं न्यूयोर्कको साँडे (वाल स्ट्रिट) ब्याट्री पार्क र म्यान-मेड आइल्याण्ड र म्यानह्याटन शहर डुल्न ।
त्यो दिन, दिन भरी डुलि थकित भएर घर फर्कियौं र वर्षौंपछिको ब्रुकलिन ब्रिज हेर्ने मेरो सपना पनि साकार भयो ।
त्यही दिन अतुलको पनि जन्मदिन परेको थियो र हामी बेलुका केक काटि, बुहारी पुष्पाले बनाएको पुलाउ, मासु र आलुको अचार (साह्रै मीठो) खाइ निद्रा देवीको शरणमा पर्यौं ।
अर्को दिन विहानको खाना खाएर म र अतुल मेरील्याण्ड जाने हाइ-वे बस पार्क ‘पोर्ट अफ अथोरिटी’ तर्फ लाग्यौं । सानो सुटकेश र दिदी-भाइ मात्र ।
मलाई बस चडाई अतुल काममा फर्कियो र म चार दिनकोलागि चार घण्टे लामो हाई-वे पट्टी लागें अर्को सपना, ह्वाइट हाउस हेर्ने चाहना मन भरी बोकेर ।
बाल्टिमोर भएर मेरिल्याण्ड पुगेँ (खुशी र नविन नेपाल) फुपूको छोरा बुहारीकोमा चार दिने शरणार्थी यात्रामा ।
बसबाट ओर्लनासाथ बाहिर राम्रोसँग हेर्न पनि भ्याएको थिइन, कानमा आवाज आयो “दिज्जू दर्शन ! राम्रोसँग आइपुगिस्यो ?” "ल मैले हजुरलाई भेट्टाएँ !” आवाज थियो खुशी (नविनको) श्रीमतीको ।
यसरी न्यूयोर्कबाट एक्लै बाल्टिमोर, त्यहाँबाट मेरील्याण्ड (नविनको घर) डेढ घण्टा परको ड्राइभमा थियो।
लुट्यो ४ हफ्ताको मेरो थरीथरीका फोटा र भिडियो खिच्ने सपना आइ-फोन-१२ (पुरानो तर थुप्रा सम्झनाहरूका सँगालो) भएको मेरो बाई-इन-जापान फोनले ।
एक्सिडेन्ट भयो ! मेरो आइफोन १२ खुशी श्री को बि.एम.डब्ल्यू स्पोर्टस कारको पेसेन्जर सिटको तल खसेर । झर्याम झुरुम सिम पनि निकाल्न नसकिने गरी ।
म करिब १ महिना फेसबुक र सोसल मेडियाबाट कतै टाढा, अर्कै ग्रहमा पुगेको जस्तो पनि भान हुने संसारमा । तर सबै फेसबुके र सोसल मेडियाको टेन्सनबाट कतै टाढा र खुशै नै खुशीको संसारमा ।
भोलि पल्ट ह्वाइट हाउस हेर्न म खुशी-श्री र रिहाना- श्री लाग्यौं अमेरीकाको प्रेसिडेन्ट बस्ने (सेतो घरको) अगाडि, वाउ ! कति राम्रो घर !
I love White House !!
यसरी मेरो सबै सपना साकार अनि त्यही जाँदाको बाटो हुँदै बस, कार र प्लेनको यात्रा टुँगाउँदै फेरि पुगेँ म डालास बैनी ज्वाइको घर।
फेरि अर्को १५ दिने शरणार्थी बसाइमा ।
ज्वाइले यो पाली सोचेको भन्दा धेरै टाइम दिस्यो जापानी जेठी सासूलाई ।
हरेक दिन “के खाने ?” कहाँ डुल्न जाने ?” कसकसलाई भेटने ?” सब मर्जी होस् हजुर म सबै पुर्याई दिन्छु !” वाह ! क्या जाति ज्वाइ !!
यसरी रुजबेल्ट केनेडीलाई गोली ठोकेको ठाउँ, अस्टिनबाट खेदेर ल्याइएको गाईहरू हेर्ने पार्क, डालास डाउन टाउन, नेपाली रेस्टोरेन्ट, बाजेको सेकुवा, बारा, नान्ग्लो, जापानी रेस्टोरेन्ट हिबाची शुसी सब भ्याइयो प्राय : जसो।
यसरी जुलाई महिनाको १८ तारिख मेरो सही सलामत जापान फिर्ति सवारी भयो, विना फोन, (हातमा त छ) तर अमेरीकाबाट किनेर ल्याएको आइ फोन १५ प्रो म्याक्स, लाइन छैन कसैसँग सम्पर्क गर्न नसकिने । यसरी आइ फोनले लुट्यो मेरो चार हफ्ता, मेरील्याण्डमा ।
फर्केर आउँदा भने डालास फोर्ट-ओर्थबाट सिधा उडान मार्फत मेरो बासस्थान हानेदा । हानेदाबाट ट्याक्सी र घर टोकियो, आएर ट्याक्सी सिधै मेरो घर अगाडि रोकियो ।
...
गृष्मा पौड्याल
टोक्यो जापान
२०२४.८.२४