(Japan) 12 th September | 2024 | Thursday | 2:28:23 AM || (Nepal) 11:13:23 PM
 
 


बिरानो शहरमा आमाको जन्मदिनमा रुझाएका आँखा

  POSTED ON : Monday, 12 February, 2024 | Views : 1098

बिरानो शहरमा आमाको जन्मदिनमा रुझाएका आँखा


काम बाट फर्किएँ, घर बस्न मन लागेन । अलिअलि थकाइ, अनि गह्रुङ्गो मन बोकेर लागेँ घर छेउको पार्कतिर । छोटा दिन अँध्यारो भैसकेको थियो । बत्तीले आफ्नो कर्म, उज्यालो छरिरहेको थियो । कतै कतै अन्धकारले बत्तीलाई गिज्याउँदै थियो ।

हावाले चिसो मौसमलाई अझै चिस्याँउदै थियो । रुखहरु मान्छेले फालेका बिकार कार्बनमनोअक्साइड लिएर प्राणरुपि अक्सिजन बाँडिरहेका थिए । पातहरु रुखबाट झर्न तँछाड मछाड गरी होहल्ला गर्दै थिए । झरिसकेका पातहरु एक ठाउँमा जम्मा भएर मिठा गफमा मस्त थिए ।

अलि पर एक्लै रहेको एउटा बेन्च कोही आएर बसिदिए हुन्थ्यो झैँ गरी म तिर नै हेर्दै थियो, त्यही अनुरुप उसै सित गएर बसेँ । उसको इच्छा पुरा गरिदिन पाउँदा मन थोरै हर्षित भयो ।

बिहानै देखि मनमा धेरै कुरा खेलिरहेका थिए । आज आमाको जन्मदिन । म आमा बाट टाढा छु र आमाको इच्छा थियो होला, छोरा सँगै भईदेओस । छोराले केहि गरिदिओस । तर मसित आमाको लागी तत्काल गर्न सक्ने केहि थिएन, सम्झन बाहेक । त्यसै मौनतामै हराउन थालेछु । मेरी आमाले जस्तै मेरो मौनता बुझेछ कि केहो, एक छिनपछि बेन्चले चिसो हुँदै मलाई झँल्यास्स बनायो ।

पुराना दिनहरु सम्झिँन थालेँ, सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँपालीका मेरो जन्मभुमी । पहाडी जिल्ला उकालो र ओरालो मात्र, एकदम विकट ठाउँ । अझै पनि शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीको पहुँच राम्रो सित पुगेको छैन ।

यही ठाउँ थियो मेरी आमाले मलाइ ९ महिनासम्म बाख्रा हेर्न जाँदा बाख्रासँगै, घाँस काट्न जाँदा घाँससँगै, दाउरा लिन जाँदा दाउरासँगै बोकेर लगेको अनि घर ल्याएको । उनका हरेक काममा मलाइ सामेल गराएको । उनि जे खान्थिन मलाइ त्यही खाने कुराको सबैभन्दा मिठो भाग खुवाएको । त्यही ठाउँमा हो उनि पानीले भिजेर मलाइ जोगाएको, उनि घाममा डढेर मलाइ शितलो छारि दिएको । त्यही भएर होला आज जहाँ गए, जहाँ भए पनि यही ठाउँ अत्यन्त प्यारो लाग्छ ।

२०५२ साल फाल्गुण ९ गते उनले हेर्ने संसार पनि मलाइ देखाएको दिन । उनले टेक्ने धर्ति, उनले फेर्ने सास (हावा), उनले हेर्ने आकाश त्यो सबै मलाइ पनि महसुस गराइन । त्यस क्षण सायद उनलाई लाग्यो होला आज सम्म मैले बोकेर घुमाएको यसले मलाई कुनै दिन बोकेर घुमाउने छ, पानी बाट जोगाउने छ, घामबाट बचाउने छ, ठेस लागि लड्दा उठाउने छ । त्यस क्षणको पिडालाइ भुलेर सायद भित्र भित्रै धेरै खुशी भइन होला ।

बाबुआमाको एक्लो छोरो, काका काकीको एक्लो भतिजो, हजुरबा हजुरआमाको एक्लो नाती, मामाहरुको एक्लो भान्जो, सानीआमा ठुलीआमाको एक्लो छोरो (त्यस समयमा) सबैको मायाँले एकदम पुलपुलिएर हुर्किंदै थिएँ । दिन बित्दै गए, म पनि उनको छत्रछायाँमा उनको उमेर सँगसँगै ठुलो हुँदै गएँ । बिस्तारै बिस्तारै उनको सरलपन, उनले बोल्ने बोली, उनले अरु सित गर्ने व्यवहार, आँफु भन्दा ठुलालाई सँधै आदर सम्मान अनि आँफु भन्दा सानालाई मायाँ, जानीजानी आफ्नो कारणले अर्कोलाइ असर नपुर्याउनु, पर्दा अरुलाई सहयोग गर्नु ।

उनको यही भाव यही व्यवहारहरु दिन प्रतिदिन म मा सर्दै थिए । म दिनदिनै उनि जस्तो बन्न हरसम्भव प्रयास गर्दै थिएँ । सायद यिनै कारण थिए, आज पनि उनको सबैले खुलेर प्रशंसा गरेको सुन्छु ।

राजधानी शहर बाट टाढा, विकाशका पूर्वाधारहरुको कमि, अवसरताको शुन्यता, दुइ छाक खान र एक सरो लाउन नै नसक्ने अवस्था त नभए पनि, दैनिक जीवन यापन भने त्यति सहज थिएन । शिक्षक पेशामा आबद्ध बुवा, म १० बर्षको हुँदा बुवाको सरुवा भएर गाउँ बाट ५-६ घण्टा टाढा पत्ताले ९ सोलु दुधकुण्ड नगरपालिका) सपरिवार बसाईं सरियो । एकदम चिसो हिउँ पर्ने ठाउँ, जसोतसो २ बर्ष बसियो ।

चिसो ठाउँ, कठिन दैनिकी, हुर्किदै गरेका हामी (बहिनी र म), भविस्यमा केही गर्लान भन्ने आश, हाम्रो लागी अवसरको खोजी । २ वर्ष पछि बुवा मात्र त्यहाँ रही हामी (बहिनी, म, आमा) राजधानी शहर झरियो । 

बुवा एक्लैको कमाइ, पानी पनि किनेर पिउनु पर्ने काठमाडौंको बास, हामी दुई दाजु बहिनीको शिक्षा अनि इच्छा, एक्लैले कसरी पुर्याइन् होला अहिले सोच्दा मात्र पनि मन गर्हुङ्गो हुन्छ ।

जब एस एल सी (अहिलेको एसइइ) दिएँ, प्लस टु पढ्ने भएँ । बिस्तारै म मा म आँफै जान्ने भईसकेँ, म आँफै बुझ्ने भईसकेँ, अरुको कुरा खासै सुन्न नचाहने, मैले गरेको नै ठिक, मैले भनेको नै ठिक भन्ने अहमता र भान पर्न थाल्यो ।

त्यति बेला धेरै पटक उनको मन दुखाएको छु, अझ भनौँ मन रुवाएको छु , जुन कुरा अहिले बुझ्दैछु । अहिले सम्झिँदा लाग्छ सायद त्यो उमेरको चंचल मन थियो, जुन मेरो बसमा थिएन । जसले मलाई बसमा पारेको थियो । सायद कुनै दिन मैले त्यसको सजाय पनि पाउने छु ।

उनको इच्छा थियो म जे बनुँ उनकै सामुन्ने बनिदिऊँ, जे गरुँ उनकै आँखा अघी गरिदिऊँ, उनिबाट कहिल्यै टाढा नभईदिऊँ । तर मेरो रहर अरु साथीहरु जस्तै उच्च शिक्षाको लागि बिदेश जाने । उनि मलाई जान नदिने, अनि म नगई नछोड्ने । सायद उनको त्यो सन्तान प्रेमलाइ मैले त्यति बेला महसुस पनि गर्न सकिनँ ।

अन्तत मेरो रहरको अगाडी उनको इच्छाले घुँडा टेक्यो । मेरो रहर पुरा भएकोमा म खुशी थिएँ, मेरी आमाले मेरो लागि आफ्नो इच्छा मारिदीइन । भित्र दुःख भएपनि मेरो लागि खुशी भईदीइन ।

जब विदेश आएँ, सायद कर भन्दा रहर थोरै बढि भएकाले होला त्यति धेरै मन दुखित थिएन । स्कुल पढ्दा देखिका साथीहरुपनि सँगै भएकाले अझ धेरै कुरा सहज नै भयो । अझ भनौँ विदेश, विदेश जस्तो थिएन। बिस्तारै बिस्तारै त्यसमै रमाउन थालेँ ।

तर दिन बित्दै गए, विदेशको ठाउँ, बिरानो शहर, बिराना मान्छे, बिरानो भाषा, बिरानो संस्कृति सबै चिज अनौठो लाग्दै गयो। घर, परिवार, आमाको अभाव बढ्दै गयो ।

बिहान ढिला सम्म सुती उनको गाली सुन्न मन थियो, तरकारी मिठो नभएको बहाना गरि उनि सित झगडा गर्ने मन थियो, गर्न अह्राएको काम नगरी नगरी सताउन मन थियो, नगर्न भनेको काम गरेर अत्याउन मन थियो । अनि मेरो कारणले दुखि भएकी उनलाई फकाउन, हँसाउन मन थियो ।

उनि बाट शरीर टाढा भए पनि मन त सँधै सँगै नै थियो । त्यसमा थोरै मात्र भए पनि मल्हमको काम प्रविधिले गरिदियो । छिनछिनमै म्यासेजमा आइरहने 'काहाँ छस नानी ?', 'के गर्दै छस नानी ?', 'खाना खाइस नानी ?',  'सन्चै छस नानी ?' जस्ता शब्दहरुले पाइला पाइलामा उर्जा भरिदिन्थ्यो, निरास भएको बेला साहस दिन्थ्यो, सँधै केहि गर्नुछ भन्ने आभाष दिन्थ्यो ।

बिदेशी भुमी, सबै बाट टाढा, जे गरेपनि देख्ने कोहि थिएन, सुन्ने कोहि थिएन, यस्तो नगर, त्यस्तो नगर भन्ने कोहि थिएन । जे गर्न पनि स्वतन्त्र थिएँ । मलाइ लाग्छ त्यस स्वतन्त्रताको दुरुपयोग भएको भए आजको 'म' बन्न सम्भव थिएन । यो सबैको कारण मेरी आमाले मलाई दिएको संस्कार, मलाइ हिड्न सिकाएको बाटो नै हो जसले मलाइ सँधै असल कर्म गर्न प्रेरित गरिरह्यो । सँधै मेरो परिवारको दायित्व बोध गराइरह्यो ।

त्यसैले त आज म भनेर गर्व गर्न पाएको छु । मैले चाहेको 'म' बन्न पाएको छु । तिमीले हिड्न सिकाएको बाटो जानेर कहिल्यै बिराउने छैन । तिम्रो गर्भमा आए देखि नै तिमीलाई पिडा दिन थालेको म आज सम्म पनि मेरो कारण तिमीले धेरै कुरा सहन परेको छ। तर मलाइ थाहा छ एकदिन यो समय बितेर जानेछ । तिमीले मेरो लागि गरे जति त

गर्न सक्दिन, तर अब जे गर्नु छ तिम्रो लागि गर्नु छ, मेरा हरेक खुसीमा तिमीलाई सामेल गराउनु छ, मेरा हरेक दुख मा सँधै झैँ तिम्रो साथ पाउनु छ ।

तिमीले जस्तै तिमीले नभनी तिम्रा हरेक शब्दहरु बुझ्ने बन्नु छ । मेरो हरेक सफलताको हकदार तिमीलाई बनाउनु छ । आमा, जति जन्म हुन्छ, तिम्रै छोरो भएर जन्मीन पाउँ । त्यति बेला सम्म छाती ढक्क फुलेर सास फेर्न असहज जस्तो भइरहेको थियो ।

मुखलाई सुख्खा बनाएर, आँखाको डिलमा आएर अडिएका पानीका थोपा भुइँमा झर्न खोज्दै थिए । अघि देखि छटपटाइ रहेको मन, अलिकति शान्त भएको थियो, हलुका भएको थियो । सायद बेन्चलाई पनि मैले मनमनै पोखेका मेरा भावनाहरुले छोए जस्तो छ, म बसेको ठाउँलाई न्यानो बनाउँदै म सँगै खुशी भईदियो ।