(Japan) 18 th March | 2025 | Tuesday | 6:37:39 AM || (Nepal) 3:22:39 AM
 
 


जापानमा विद्यार्थीका दुःख : झुठो कन्सल्टेन्सी, कुरै नबुझ्ने परिवार, अनिन्द्रा र कुबेलाको खानपान

  POSTED ON : Friday, 09 February, 2024 | Views : 3804

जापानमा विद्यार्थीका दुःख : झुठो कन्सल्टेन्सी, कुरै नबुझ्ने परिवार, अनिन्द्रा र कुबेलाको खानपान


एक हप्ता अगाडि मात्र जापानको नागोयामा धनकुटा स्थायी घर भएका २२ वर्षिया रबिन पौडेल र लमजुङ स्थायी ठेगाना भएका २२ वर्षिय युवराज तामाङ्को असामयिक निधन भयो । त्यस्तै चार वर्षअघि जापान आएका नुवाकोट पञ्चकन्या गाउँपालिका–३ स्थायी घर भएका २७ वर्षीय अनुज कार्की स्थानीय पार्कमा मृत फेला परे ।

केही महिना अगाडी ताप्लेजुङ सांथाक्रा स्थायी घर भै नागोयामा नै बस्दै आएका १९ वर्षीय बचन केदेम लिम्बुको पनि हृदयघातबाट अल्पायुमै मृत्यु भएको थियो । यति मात्र होइन फुकुओकामा बस्दै आएकी दोलखाकी २० वर्षीया रबिना बुढाथोकीले घरमा आमाबुवालाई भिडिओ कल गरेर बोलिरहेकै अवस्थामा प्राण त्याग गरेकी थिइन् । त्यस्तै जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा पनि मृत फेला परेका थिए ।

अनमोल जिन्दगीहरू पानिको फोका सरि अलविदा भनिरहेको देख्दादेख्दै, जिन्दगीलाई सोझै इन्कार गरेको हेर्दाहेर्दै तिम्रोजस्तै मनोदशामा बाँचिरहेका जिन्दगीहरूको मायाले बेचैन भयको छु म  ।

कस्तो संवेग र भावावेशको सम्मोहनमा परिगयौ ? जिन्दगीले तिम्रो मुटुमा कस्तो गाँठो पार्‍यो जसलाई फुकाउन जीवनकै घाँटी रेट्यौ ? जुन भावावेग टाउकोमा सवार भयो, त्यसको तयारी कसरी भयो ? कसले गरिदियो, त्यो मनोदशा कसले हुर्काइदियो, आखिर के थियो त्यो, एक टुक्रा समयमा जिन्दगीको तनावले सिर्जेको एक टुक्रा आवेग !

एकक्षणको लाचारी वा चरम निराशा ? जिन्दगीको पीडा भुलाउन खोजेको पेनकिलर, क्षणभंगुरको मनोवैज्ञानिक विकार, गुम्सिएको भावनात्मक दबाब, दोष लगायौ कि रिस पोख्यौ, साहस थियो कि दुस्साहस ? शक्ति थियो कि कमजोरी ? शैक्षिक, आर्थिक, सामाजिक कुन असफलता थियो ? स्वयंलाई बोझ सम्झियौ वा अरू कसैका लागि ?

तिमीले आत्मघात गर्‍यौ कि जिन्दगीको अर्थहीनता आत्मसात् गर्‍यौ ? जे होस्, त्यो एक टुक्रा समय, त्यो क्षणभंगुरको आवेग मान्छेले पहिल्याउन नसकेको बूढो जर्जर रहस्य बनायर गयौ !

जीवनको तनाव र त्यसले जन्माउने भावावेग  । नानाथरीका मानसिक गडबडी र विचलन । जैविक रासायनिक क्रिया–प्रतिक्रिया । संवेदनाजन्य सनसनी । नशाजन्य लत कुलत । जिन्दगी प्रतिको वितृष्णा । खाद्य अनुशासन । आत्महत्या गर्नेभन्दा पनि भैजाने विषय हो । आत्महत्या न भैजान्छ न त गरिन्छ नै, आत्महत्या गराइन्छ । राज्य, समाज, व्यक्ति मिलेर आत्महत्या गराइन्छ अनि गरिन्छ र त्यसपछि भैजान्छ ।

डेढ लाख भन्दा बढिको संख्यामा नेपालीहरू जापानमा रहेको र त्यसमा पनि ५० हजार विद्यार्थी भिसामा रहेको अनुमान गरिए पनि यो संख्या दिनानुदिन बढ्दो क्रममा छ ।

नेपालीको संख्या बढेसँगै नेपाली समाजमा विभिन्न दुःखद् घटनाहरू पनि बढ्ने क्रम जारी छ । कतिपय भवितव्यका घटनालाई रोक्न नसकिए पनि केही घटनाहरूमा नेपालीहरू सचेत नभएका कारणले पनि ज्यान गुमाउने क्रम बढिरहेको छ । समुद्री तटमा पौडिन जाँदा अपनाउनुपर्ने सावधानीका उपायहरू नजान्दा होस् या आत्महत्या गरी केही नेपालीले ज्यान गुमाएका घटनाहरू बारम्बार आइरहेका छन् । यसतर्फ नेपालबाट जापान आउनुअगावै विद्यार्थीलाई सचेत बनाउनुपर्ने जरूरी देखिन्छ ।

धेरै समस्याहरूबाट पीडित भएका विद्यार्थीहरूले आत्महत्याको गलत बाटो रोजेका घटनाहरू पनि वेलावेलामा बाहिर आएका छन् । यी घटनाहरूले धेरै प्रश्नहरूलाई प्रश्नमैं अल्झाए पनि केही प्रश्नको भने निःशब्द तरिकाले उत्तर पनि दिने चेष्टा गरिरहेका हुन्छन् ।

कानुनले आत्महत्याको जिम्मेवारी तिनै आत्महत्या गर्नेमाथि थोपरे पनि त्यस जीवनयात्रामा रहेका पर्दा पछाडिका धेरै मान्छेहरूले केही न केही रूपमा त्यस जीवनको अन्त्यको नैतिक जिम्मेवारी बहन गरेकै हुन्छन् ।

अनि, यो आत्महत्यालाई जापानमा नेपालीको संख्या बढेर निम्त्याएको समस्याका रूपमा मात्र लिइनु हुँदैन । यसलाई हाम्रो समाजले नेपाली विद्यार्थीका समस्याको समाधानमा देखाएको नैराश्यताको प्रतिफलका रूपमा पनि लिइनुपर्दछ ।

जापानमा नेपालीको मृत्यु हुनेको संख्या दिनदिनै बढ्दै छ । जापानमा बसोबास गर्ने अन्य भिसामा रहेका नेपाली भन्दा नेपाली विद्यार्थीको नै बढी मृत्यु हुने गरेको छ । किन उनीहरूले अकालमा ज्यान फालिरहेका छन ? उनीहरूलाई अल्पायुमै जीवनत्याग गर्नबाट रोक्न के गर्न सकिन्छ भन्ने विषयमा कुनै पनि निकायले आत्मसाथ गर्नेगरि चासो देखाएको पाईदैन । पाईन्छ त केवल सामाजिक सञ्जालमा मृतकको फोटो राखेर, दुःख मनाउ सिवाय कुनै काम गरेको देखिँदैन ।

जापानमा समाजसेवा गर्नको लागि नेपालीहरुद्वारा खोलिएका संघ संस्था नभएको भने होइन अझ भनौं वर्षातको समयमा उम्रने च्याउ जस्तै खोलिएका छन् । सबै नेपालीहरुको अभिभावक बनेको संस्था एनआरएनए पनि छ तर ज्यान गुमाइसेपछी सहयोग गरेको जस्तो गर्दछ । के एनआरएनएको कर्तव्य विपतमा परे मात्र काम गर्ने हो ? की यस्ता विपतबाट निम्तिने सक्ने पुर्व खतराबाट सजक गराई रोक्न सकिँदैन ?

जापानमा अझ भनौं जाति जाति, भाषा र भेगका संघ संस्था खोलिएका छन् तिनको उदेश्य, लक्ष्य केका लागि हो कुन्नि ? कसका लागि खोलिएका खोलिएका समाज हुन ? यिनीहरूको निश्चित लक्ष्य नै नभए जस्तो अन्यौलला देखिन्छ । नेपाली समाजमा च्याउसरी उम्रिएका संस्थाहरुले सचेतनामूलक जस्ता कार्यक्रम केहीपनि गरेको देखिँदैन ।

विद्यार्थी वर्ग समाजको सचेत भविष्यका कर्णधार हुन् । परिवार, समाज र राष्ट्र निर्माणमा उनीहरूको अग्रणी भूमिका रहेको हुन्छ तर त्यही वर्गले जापानमा आएर भटाभट ज्यान फाल्नु भनेको नेपाली समाज र राष्ट्रका लागि दुर्भाग्य हो र यसको रोकथामका लागि विभिन्न सङ्घ/संस्था, नेपाली राजदूतावास, नेपाल सरकार लगायतका जिम्मेवार संस्थाले सचेतनामूलक कार्यक्रम मार्फत् मृत्युदर कम गर्न ढिला नगरी ठोस कदम चाल्नु पर्ने देखिन्छ ।

केही समय अगाडि मैले जापानमा नेपाली विद्यार्थीले भोग्दै आएका र  भोग्नु परेका समस्या का बारेमा छोटो आलेख लेखेको थिए । त्यसमा मलाई जापानमा किन् अकालमा ज्यान गुमाएका छन् यसका समस्या सँगै कारण केके हुन यो पनि लेख्न भनेर धेरै रचनात्मक सल्लाह दिनु भएको थियो र त्यसै अनुसार आज जापानमा नेपाली विद्यार्थीहरूले किन अकालमा ज्यान गुमाएका छन् भनेर खोतल्ने प्रयास गरेको छु ।

खानपीन

जापानमा नेपालीहरूले अकालमै ज्यान गुमाउनका कारण धेरै छन् । ती मध्ये खानपिनमा ध्यान नदिनु पनि मुख्य कारण हो । खानपिनको समय व्यवस्थापन गर्न नसक्नु हो । दिनभरि भोकभोकै काम गर्नु ,खानामा हप्तौं कफी र पाउरोटी खानु, जापानमा अत्यधिक मात्रामा खाने चाउचाउ जस्तै जापानिज रामेन मात्र खाएर बस्नु, त्यस्तै जापानमा तरकारी महँगो हुन्छ भनी खाना सधै मासु मात्र खानु, अनि धेरै तनाव भयो भनेर दिन दिनै मदिरा सेवन गर्नु जस्ता खानपिनको कारणले पनि धेरै जना नेपालीले आफ्नो स्वास्थ्य नजानिंदोगरि बिगारेका छन् ।

विश्व प्रसिद्ध लेखक टम र्‍याथको पुस्तक ‘इट मुभ स्लिप’मा हामीले आफ्नो स्वास्थ्यलाई ठीक अवस्थामा राख्न के कसो गर्दा राम्रो हुन्छ भन्ने कुरा निकै सरल तवरले लेखेका छन्। उनको मन्त्र नै उचित खाना, नियमित व्यायाम र यथेष्ट निद्रा हो । तर जापानमा आएका बिधार्थीमा भने यो नियम लागू पालन गर्न सकिँदैन जसको प्रत्यक्ष असर हामीमा पार्दछ ।

मानिसको आहार, विहार र आराम गर्ने उचित आदतबाट मानिस दीर्घजिवी हुन सक्ने कुरा पुस्तकमा विभिन्न तथ्य सहित बताइएको छ। मानिसमा रोगब्याधी वंशाणुगत रूपमा नै हुने गरेको छ भने पनि स्वच्छ जीवनशैलीबाट त्यस्तो अवस्थालाई रोक्न सकिन्छ । आज मानिसबाट नै सिर्जित दूषित वातावरणमा जिउनु पर्ने वाध्यता र मानिसले स्वास्थ्यका साधारण नियम पनि पालना नगर्नाले निकै प्रतिरोध्य  रोगहरू को सिकार भइरहेका हुन्छौ ।

अस्वभाविक खानपानले मानिसको सुगर, प्रेसर मृगौला, मुटु, कलेजो जस्ता अङ्गमा असर गर्नुका साथै रक्तचाप बढ्ने, शरीरमा कोलस्ट्रोलको मात्रा वृद्धि हुनेजस्ता समस्या देखापर्ने गर्दछ ।

खानपानमा ध्यान नदिने तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा सामान्य व्यक्ति पनि रोगी बन्ने र रोगी व्यक्तिका शारीरिक अङ्गसमेत काम नलाग्ने हुनसक्ने हुनाले सन्तुलित खाना मात्र खानुपर्छ ।

जापान बसेर लामो समय काम गर्ने इच्छा छ भने रक्सी, मासु, चिन्ता र अनिँदो त्याग्नुपर्छ । हामीले राम्रो शरीरलाई स्वस्थ राख्नका लागि स्वस्थ खालका खाना नै बढी खानुपर्छ । एक अध्ययनले के देखाएको छ भने जापानमा नेपालीको मृत्यु हुनुको मुख्य कारण अधिक मात्रामा मदिरा पिउने, अनिँदो बस्ने, पानी नपिउने र मासु बढी खाने हो । यसखालको खानपान भएको मानिसलाई कोलेस्ट्रोल बढ्ने, रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, पैसा, चिन्ता, कामको चाप, टेन्सनले डिप्रेसन हुनेजस्ता रोग बढ्छन् ।

गलत परामर्श

सबैभन्दा पहिले नेपालमा रहेका कन्सल्टेन्सिहरुले विद्यार्थीलाई जापानमा पठाउनका लागि विभिन्न मोह सिर्जना गरि अनेक विज्ञापनहरू गर्दछन । विज्ञापन यसरी गरिन्छन् की मानौं विदेशमा सुनको अण्डा दिने कुखुरा पाइन्छ अनि जापान आउनका लागि सीओई पाउनासाथ जिन्दगीले एउटा नाटकीय मोड लिँदै कायापलट गरिदिन्छ । किनकि विदेशमा जानेवित्तिकै सबथोक सहजै आर्जन गर्न सकिन्छ – धन, सम्पत्ति, पढाइ आदिआदि ।

कुनै पनि परामर्शदाताले आफ्नो व्यावसायिक सफलतालाई मध्येनजर गर्दै विज्ञापन गर्नुलाई स्वभाविक मान्न सकिएला तर एउटा विद्यार्थीको भविष्यसँग सम्बन्धित भएका कारणले यदि परामर्शदाताले केवल विद्यार्थी तान्नका लागि मात्र विज्ञापन गर्छ भने त्यो व्यापारमुखी परामर्शदाता मात्र होइन, त्यो त विद्यार्थीको रूपमा मान्छेको तस्कर गर्ने व्यवसायी हो ।

यिनी त अझ मानव तस्कर भन्दा पनि निकृष्ट व्यवसाय संचालन गरिरहेछन्, झुटको खेती गरिरहेछन् र मान्छेलाई गलत परामर्श दिएर विद्यार्थीको जीवनमाथि ठूलो कुठाराघात पनि गरिरहेकाछन् । साँचो बोल्न किन् जान्दैनन् १ उनीहरूलाई जे जस्तो भए पनि म दुःख गरेर उच्च शिक्षा हासिल गर्न जाँदैछु वा जानुपर्छ भन्ने कुरा किन् सिकाउँदैनन् रु धन कमाउने भए अरु देश छन् नी इपिएस मार्फत कोरिया गए छिट्टै कमाई हुन्छ भन्न किन् सक्दैनन् ?

नेपालबाट अध्ययनका लागि जापान जस्तो समृद्ध देशमा आउने विद्यार्थीहरूले आफ्नो नेपालीपना, अनुशासन, लगनशीलता, कर्मठता, मेहनत, आज्ञाकारी, शिष्टता जस्ता व्यवहारलाई प्रयोग गरी विदेशीसामु आफ्नो पहिचान झल्काउनुपर्छ भन्ने कुरा सिकाउन किन् जान्दैनन् ?

विद्यार्थी भएर विदेशमा जाँदा के कति कुरामा ध्यान दिनुपर्छ, कति कुराले विद्यार्थीलाई मर्का पार्न सक्छ र विद्यार्थी जीवनमा केके उतारचढाव हुन सक्छन् भनेर यसको गुण र दोषका बारेमा पनि परामर्श दिन सक्ने परामर्शदाता भएमा मात्र विद्यार्थीको मनमा केवल रंगीन सपना मात्र भरिँदैन, विद्यार्थीलाई भविष्यमा आइपर्ने कठिनाइसँग जुध्न पनि हौसला श्रृजना हुन्छ ।

समस्या त अझ के छ भने नेपालमा परामर्शदातालाई अहिलेसम्म न त सरकारले, न त अरू कसैले नै निगरानी गरेको देखिन्छ वा त्यसतर्फ कुनै कार्यक्रम नै ल्याइएको छ । यो वर्ष यति विद्यार्थी पठायौँ र अर्को वर्ष यति विद्यार्थी पठाउने लक्ष्य छ, आज फलानो विद्यार्थीलाई सिओई पाएकोमा बधाई, आज यतिवटा सिओई आयो, त्यसैले हामीजस्तो परामर्शदाता कोही छैन भनेर कराउने परामर्शदाताले के बुझ्न जरुरी छ भने विद्यार्थी संख्याले मात्र गुणस्तरीयताको मापन हुँदैन ।

पठाइएका विद्यार्थीमध्ये कतिजनाले अध्ययन पूरा गरे अनि त्यही विषयमा काम गरिरहेका छन् त भन्ने प्रश्न मूल कुरो हो ।

पैसा कमाउने उद्देश्यले विद्यार्थी भिसामा जापान आएका बिधार्थीले सोचेजस्तो नभएपछि आत्महत्या सम्मको अवस्थामा पुगेको विभिन्न तथ्याङ्क प्रकाशन भइरहँदा, जापान आउनुअघि कन्सल्टेन्सीले मासिक २ लाखसम्म कमाइ हुने झुठो आश्वासन किन् बाँडिरहेका छन् ? मासिक जापानमा २ लाख मज्जाले कमाउन सकिन्छ भन्ने बेला जापानको खर्च को बारेमा किन् भन्न सक्दैनन् ? यति नभनेका कारण आज दिन प्रतिदिन आत्म हत्याका घटना बढ्दै गएका छन् ।

विद्यार्थी जीवनको संघर्ष

त्यस्ता कमै बिधार्थी होलान् जापान आउने, जो पढ्ने मनसाय बनाएर आएका छन् । नत्र धेरै जना जतिसक्दो छिटो धेरै पैसा कमाउने सपना बुनेर आउँछन् । बिहान आमाले ओछ्यानमा चिया लिएर उठ बाबु, नानी भन्दा नउठ्ने विद्यार्थि जापान आउँदा मोबाइलमा बज्ने आलरामको आवाज सँगै उठ्नु पर्ने हुन्छ ।

आफै खाना बनाएर खाने, कलेज जाने, काम जाने सबै ब्यवस्थापन गर्न नसक्दा पनि यस्ता नराम्रा परिणाम आएका छन् ।

जापानमा आउने विदेशी बिधार्थीहरुले कानुन अनुसार काम गर्न पाउने भनेको हप्तामा २८ घन्टा मात्र हो । हप्तामा २८ घण्टा काम गरेको कमाईले आफ्नो खर्च, खाना, कलेज फी, मोबाइल बिल, बस ट्रेन भाडा, स्वास्थ्य बीमा लगायत खर्च समेत पुग्दैन । अनि नेपाल कसरी कमाएर पठाउने ?

यो समस्या व्यवस्थापन गर्न सकेनन् भने मुख्यता विद्यार्थीहरु भित्रभित्रै मानसिक यातना भोग्न बाध्य भइरहेका हुन्छन् ।

अभिभावकको बुझाइमा कमी

हाम्रो समाजमा ‘फलानाको छोरोले विदेश गएको यति महिनामैँ यति पैसा पठायो, तैँले किन पठाउँदैनस्’ भनेर पैसा कमाउनुलाई नै बढी प्राथमिकता दिइन्छ ।

यो नहोस् पनि किन् नेपालमा भएका अभिभावकले छोरा छोरीलाई जापान पढ्न होइन पैसा कमाउन भनेर साहु कहाँ गएर ऋण लिएका पठाउने गरेका हुन् । अनि अझ फलानोको छोरा छोरीले यति पठायो भन्ने हौवाले त झन् अभिभावकको दिमागमा धेरै नै जरो गाडेको पाइएको छ जसले गर्दा अध्ययन गर्न आएका विद्यार्थीले पढाइलाई भन्दा बढी कामलाई प्राथमिकतामा राख्न खोज्दछन् र यसैको फलस्वरुप अनेक समस्याले ग्रसित हुँदै जाँदा त्यसले ज्यान जानेसम्मको घटनाहरु निम्त्याउनेगरेको पाईन्छ ।

सामाजिक सञ्जालले छरेको भ्रम

हरेक कन्सल्टेन्सीमा गएर हेर्ने हो भने सपनाको देश जापान भनी जापानका ठूला भवन, मन्दिर आदि राखेर आकर्षण गरी विज्ञापन गरेका हुन्छन । अझ आधुनिक युगमा त फेसबुक, ट्वीटर, टिक टिक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालले पनि विद्यार्थीको मन भड्काउनका लागि मद्दत पुर्‍याएका छन् ।

त्यस्तै जापानमा रहेका साथीहरुले समुन्द्री तटका फेसबुकको भित्तामा राखिने जापानका सुन्दर दृश्यका तस्वीर, साथीभाइले गरेका मोजमस्तीका तस्वीरहरू हेरेर पनि युवावस्थाका विद्यार्थीहरु सजिलैसँग आकर्षित भएर जापान आउने सपना देख्न गरेका हुन्छन् ।

सपना देख्नु कुनै पाप होइन तर समस्या के हुन्छ भने फेसबुकको भित्तामा केवल राम्राराम्रा, मोजमस्ती र रमाइला पलहरू मात्र आइरहेका हुन्छन् । यसले गर्दा विद्यार्थीले मनमनै विदेशमा गएर सुखसयल गर्ने अनेक आकांक्षा सजाउन पुग्छन् । कसैले पनि आफूले दुःख गरेको वा विदेशमा पीडा र व्यथाका तस्वीरहरू राख्दैनन् जसले गर्दा विद्यार्थीले विदेशमा सुख मात्रै पाइन्छ भन्ने मानसिकता बोकेर विदेशिने सपना देख्दछन् ।

विद्यार्थीलाई विदेशिने सपना देखाउने मामिलामा सामाजिक सञ्जालले सत्यतथ्य सूचना प्रवाह गर्नेभन्दा पनि भ्रम फैलाउने काम बढी गरेको पाइन्छ । विदेशमा गएर विद्यार्थीले भोग्नुपर्ने संकर्ष, दुःखका, पीडाका अनि वेदनाका कथाहरूलाई पनि यो सशक्त माध्यममार्फत् बाहिर ल्याउन सकिएको खण्डमा विद्यार्थीहरू सचेत र जागरुक हुन सक्छन् र विदेशिनुअघि धेरैपटक सोचेर, बुझेर र जानेर मात्र त्यो निर्णय लिन सक्छन् ।

अन्त्यमा, विद्यार्थीहरूले जापानमा कोठाभाडा, खाना खर्च, कलेजको फी, जापान आउँदा लागेको नेपालको ऋण सबै तिर्नका लागि आर्थिक सङ्कलन गर्ने क्रममा पर्याप्त मात्रामा आराम नगर्ने, अनिँदो बस्ने, चिन्ता लिने, कतिपय विद्यार्थीहरू रातमा दुई वा तीन घण्टा मात्र सुतेर काम गर्ने, पानीभन्दा सस्तो मदिरा अत्यधिक पिउने, पानी नपिउने, सागसब्जी नखाने र बढी मासु खानेजस्ता कार्य निरन्तर अघि बढिरहेको खण्डमा मानिस जापान वा विश्वको कुनै पनि देशमा रहे पनि ज्यान न हो । कति दिन पो टिक्छ र ?

विदेशमा अध्ययन गर्न जानुसँगै अनेक दुःख, कष्ट, र पिडाहरू पनि हुन्छन् । दुःख जहाँ पनि छ । विद्यार्थी जीवनमा हुनु पनि स्वभाविकै हो । तर यसलाई समस्याको रूपमा मात्र लिइनु हुँदैन । यसलाई त आफ्नो क्षमताको प्रदर्शन गर्न सकिने गतिलो प्लेटफर्मको रूपमा लिएर सोही अनुरूप जीवनको केही उर्जाशिल वर्षलाई दृढ संकल्प र इच्छाशक्ति लिएर पार लगाउने अठोटका साथ आउन जरुरी छ । निम्न मध्यम वर्गीय परिवारबाटै आएका तर दृढ संकल्प र अठोट लिएर संघर्षशिल भएर आएका अनेक व्यक्तिहरू अहिले स्थापित भएका उदाहरणहरू पनि यही समाजमा प्रशस्तै छन् । समस्याबाट भाग्नु समाधान होइन, डटेर सामना गर्ने अठोट गरौं । विशेषत जापान आउनुअघि र आएपछि विद्यार्थी सहित जो कसैले आफुभित्र संघर्ष गर्ने, दुःख सहने आत्मबल तथा आत्मविश्वास बोकेर अघि बढ्नु पर्दछ ।