(Japan) 13 th December | 2024 | Friday | 1:11:09 AM || (Nepal) 9:56:09 PM
 
 


स्व. सुजन राउतको आमालाई मर्मस्पर्शी चिठी

  POSTED ON : Wednesday, 03 January, 2024 | Views : 1938

स्व. सुजन राउतको आमालाई मर्मस्पर्शी चिठी


आमा सञ्चै छु कसरी भनुँ, सपना खोज्दा खोज्दै अस्ताएछु । तिमीलाई धेरै खुसी दिन्छु, बुवाको अवशेषपछि तिम्रो सहारा बन्छु भनेर शहर पसेको थिए । तिमीलाई काठमाडौंको ठूलो महलमा राख्ने सपना देखेको थिएँ । तिमी डरैडरमा भीर पाखामा घाँस दाउरा गर्न जान्छ्यौ तिमीलाई भिर पाखाबाट शहरका चिल्ला सहरमा ल्याउने सपना थियो । 

आमा तिमीले मलाई खर्च पुगोस् भनेरै नयाँ गुन्यु चोली किन्ने पैसा मलाई दिएर त्यही पुरानो गुन्यु चोली लाएकी थियौ । आमा मलाई केही पर्दैन भन्दा पनि आफ्नो गासबाट बचाएर मलाई चामल र तरकारी पठाएकी थियौ । तिमीले दालमा सुटुक्क लुकाएर राखिदिएको त्यो हजार रुपियाँ पनि डेरामा रहेको दालको बोराभित्रै छ आमा । 

आमा, तिमीलाई मन्दिर जस्तो घरमा सजाएर भित्तामा तिम्रो ठूलो तस्वीर झुन्ड्याउने रहर थियो । सपना बुन्न नपाउँदै आफै ओइलाउन पर्‍यो । तिमीलाई छर छिमेकमा चाडबाड आउँदा, शुभ कार्य हुँदा दक्षिणा दिन सक्दैनौं भन्ने बुझेको भएर कसैले कहिल्यै बोलाएनन् । तिम्रो गलामा सुनका हार कत्ति सुहाउँथे होला, खै कहिल्यै लाउन पाइनौं । 

हुन पनि तिमीलाई सन्तानकै खुसी प्यारो थियो । छोराले राम्रो गरोस्, राम्री घरकी बुहारी भित्र्याओस्, बुढेसकालमा बुहारीले पनि आफ्नै आमाले जस्तै माया गरोस् भन्ने चाहेकी थियौ । हेर आज म आफै अस्ताउन पर्‍यो । मैले के मागेको थिएँ र आमा । देशमा रोजगार छैन विदेश जान्छु न भनेको थिएँ ।

देशैमा केहि गर्छु भन्दा केहि गर्ने वातावरण दिएनन । केहि सिप नलागेसि परदेशिएर (दक्षिण कोरिया गएर) आफ्ना र आफ्ना को मुखमा माड लगाउछु भनेर जान खोज्दा नया नेपाल बनाउछु भन्ने अभिवावक ले नै छातिमा ड्याम ड्याम गोलि ठोकेर मारिदियो । म त के भएको रहेछ भनेर आन्दोलन भएको ठाउँमा पुगेको मात्र थिए । न त मैले ठुलो मान्छे को गाडि जलाएको थिए न त उहालाइ ढुङ्गा मुडा नै गरेको थिए । तर आज तिनीहरूले नै मलाई मारेर छोडे आमा । 

दुःख नमान पनि कसरी भनुँ आमा तिमीलाई, दुःखको खालमै डुबाएर गएको छु । पीर नमान आमा । दुःख यस्तै रहेछ । सुख आउँछ भन्ने कहिल्यै नलेखेको रहेछ मेरो भाग्यमा ।

तिमीलाई सुख दिने चाहँदा चाहँदै अस्ताएँ । अब अर्को जन्म मिल्ने रहेछ भने तिम्रै काखबाट जन्मिन पाउँ आमा । य​त्ति चाहि अन्तिममा भ​न्छु आमा, अर्को ज​न्म​ पाइ हाले भ​ने य​स्ता ब्य​भिचारिह​रुले शाश​न ग​र्ने देश ज​हाँ आफ्नो अधिकार माग्दा ज्यानै लिने ग​र्द​छ​न् हो, त्यस्तो देश​मा म​लाई ज​न्म​ न​दिनुस है ! ज​हाँ निमुखाले बाच्ने स​मेत अधिकर पाइदैन​ । फेरि त्यस्तो देशमा जन्मेर अकालमै किन मर्नु, त्य​स्तो देशमा फेरि ज​न्म​नु न​प​रोस है आमा !