जापानमा रहेका नेपालीहरुको प्रमुख समस्या मध्ये एक हो कुकभिषामा आएका युवाहरुको पीडा । दिन प्रतिदिन कुक भिषामा जापान आउने साथीहरुको समस्या निकै जटिल बन्दै गईरहेको पाईन्छ ।
जापान मात्र होईन तपाई कुनैपनि नयाँ परिभेषमा जाँदै हुनुहुन्छ भने त्यहाँको मौसम, बस्तुस्थिति, सांस्कृतिक रहनसहन र बस्नको लागि कत्तिको सहज हुन्छ कि हुँदैन भन्ने सामान्य कुरा जानकारी राख्नु पर्दछ ।
आज कुक भिषामा जापान आउदै गर्नु भएका र आउन चाहनेहरुले जापानमा आए पछि र आउनु आगाडी के के कुराहरु जान्नु आवश्यक छ यो लेख सामग्रीमा त्यस बारेमा केही खोतल्ने प्रयास गरिएको छ ।
पहिलो कुरा अधिकाशं कुक भिषामा आउनेहरुले जापानी भाषा पनि राम्ररी पढ्नु भएको हुदैन । जापान आउने बेलामा जापान लेराउने एजेन्टहरुको सबै कुरा बिश्वास गरेर युवाहरु जापान आउननै हतार गर्नेहरु छन् ।
हाम्रो सम्पर्कमा आउनु भएका साथीहरुको कुरा सुन्दा कुक भनेर १० बर्ष सम्म काम गरेको प्रमाणित सटिफिकेट भने भएको तर ज्ञान भने नभएको पाईन्छ ।
जापानमा जापान सरकारको नियम अनुसार हो भने कुक भिषामा जुन सम्बन्धित रेस्टुरेन्टमा काम गर्छु भनि आएको हो त्यही रेस्टुरेन्ट वा सम्बन्धित ज्ञान भएको रेस्टुरेन्टमा काम गर्नु पर्ने ब्यवथा रहेको पाईन्छ । अझ भनौं जहाँ भिषा छ त्यहाँ भन्दा बाहिर काम गर्न पाईंदैन । गरेको पाईए जापानले तत्काल पक्राउ र नेपाल फर्काईदिने गर्दछ ।
तर एजेन्टहरुले नेपालमा भने कुक भिजामा जापान जादा गर्न हुने र गर्न नहुने, कुक भिषामा आउनु भएकाहरूले अरु बाहिर काम गर्ने नपाउने र कुक पेसानै त्यो पनि भिषा भएको ठाउँमा मात्रै काम गर्नुपर्छ भन्ने कुरा गरेकै हुँदैनन् ।
जापानमा आएर पनि बस्न खान समेत दुख भएको र अहिले सम्म भाषाको ज्ञान नभएको कारणले काम पाउन नसकेका कयौं दाजुभाईलाई यहाँ हरेक दिन मैंले भेट्ने गरेको छु । हाम्रो हाक्केंन कम्पनी केओपीमा काम खोज्न आएका नाम नभने सर्तमा एक कुक दाई ले बताउनु भए अनुसार उहाँलाई आफ्नै मान्छेको रेस्टुरेन्टमा काम गर्न भनि १३ लाख रुपैयाँ लिएर लेराईएको रहेछ ।
आएको तीन महिनामै रेष्टुरेण्ट बन्द भएपछि उहाँको काम त गुम्यो नै बस्ने र खाने ठाउँको समेत बिचल्ली भयो । भाइ मलाई सहयोग गर्नु पर्यो, आफन्त भनेपनि मलाई ल्याउने दलाल रैछ काम नै दिएन भनि गुनासो गर्नु भयो ।
हाम्रो हाक्केंन कम्पनीमा मात्र महिनाकै १०/१५ जना यस्तो भिषामा आउनुभएका दाजुभाईहरु गुनासो लिएर आउनुहुन्छ कामको खोजीमा । सकेको सहयोग गरेपनि नमिल्ने ठाउँमा काम लगाईदिन भन्नेहरुलाई मिल्दैन भन्दा उल्टै रिसाएर समेत जाने गर्नुहुन्छ ।
अझ कुकहरूको डिपेनडेण्टमा आऊनेहरूले न भाषा पढेर आउनुहुन्छ या यहाँ पढ्न ध्यान दिनुहुन्छ अनि आउँदा जापानमा बस्दा कत्तिको खर्च हुन्छ भन्ने कुराको समेत ज्ञान नराख्दा दुवैजना थप समस्यामा पर्ने गरेको पाईन्छ । कुक भिषामा आउनेले राम्रो काम नपाउने अनि डिपेन्डेन्टमा आउनेसँग न अंग्रेजी भाषा न सिप, जापानी भाषा त हुने कुरै भएन त्यसले गर्दा थप समस्या बल्झने गरेको पाईएको छ ।
कुक भिषामा आउनुभएकाहरुको भिषा चेन्ज गर्न मिल्दैन भन्ने कुराको ज्ञान समेत नहुनु आदि जस्ता कारणहरुले यो समस्या बढ्दै गएको जस्तो लाग्दछ ।
कुक भिषामा आउनेहरु भाषा, सिप र जापानबारे त्यति जानकार नहुँदा उनिहरुलाई ल्याउने, काम लगाउने व्यक्ति वा कम्पनीले फाईदा लिन खोज्ने त भईहाल्यो । जसका कारण राम्रो कुकको सिप जानेका व्यक्तिहरुले समेत राम्रो तलब सुविधा पाउन सकेका छैनन् । अधिकाशंले सुरुमा ८ देखी १२ मान मात्र तलब पाउने गर्दछन् भने राम्रो सिप भएका कुकहरुले समेत १५ देखी १८ मान भन्दा बढी तलब पाएको पाईंदैन । उनिहरुले जापानी नियम अनुसार विदा, सेवा सुविधा पाउने कुरा त जापानमा सपना मात्रै हो । मुस्किलले हप्ताको एकदिन छुट्टी त पाउँछन् बिरामी वा अपर्झट २ ४ दिन बिदा लिनुपर्दा कि त कामबाट निकालिन्छन् अथवा आफैंले काम छोड्नुपर्ने हुन्छ । काम जोगिएपनि त्यस्तो विशेष अवस्थामा बिदा बस्नु परेको दिनको पैसा भने नेपाली तथा ईण्डियन साहुजीहरुले दिंदैनन् ।
यदि कोहि कुक भिषामा आउदै हुनुहुन्छ भने कम्तिमा यि कुरा बुझेर, सरसल्लाह लिएर मात्र आउनु भएमा तपाईहरुले जापानमा आएपछि जति दुख पाउनुहुनेछ त्यसमा धेरै कमी हुनेछ
नेपालमा हुँदै ध्यान दिनुपर्ने कुराहरू :
१. जापानी भाषामा दैनिक बोलीचालीको भाषा राम्ररी बोल्न र बुज्न सक्ने भएर आउने ।
२.नेपाली र इन्डियन खाना बनाउन राम्रो संग सिप सिकेर आउने ।
३. आफुले कुरा गरिरहेको एजेन्टको र कुनै रेस्टुरेन्टको मालिक हो भने उहाँहरु कस्तो खालको मान्छे हो साथीभार्इसंग बुझ्ने ।
४. पैसा कति लाग्ने, कहिले दिने, कसलाई दिने जस्ता कुरामा विचार गर्ने र पैसा बैंक मार्फत नै दिने र दिएको सबै रेकडै आफु संग सुरक्षित रूपमा राख्ने ।
५. आफु जान लागेको रेस्टुरेन्ट कसको हो रु कहीले खुलेको हो रु कसैलार्इ बेचिसकेको छ कि छैनरु कुन ठाँउमा छ रु ब्यापार कति हुन्छ रु कर्मचारी कति छन् ? सबै बुझ्नुहोस्।
६. काम गर्ने दिन ,घण्टा, तलब, बिदाको ब्यबस्था पहिले नै साहुसँग सम्झौता गरेर कागजपत्र बलियो बनाउनुहोस र भोलि गएर सम्झौता बिपरित भएमा के गर्ने त्यो पनि फिक्स गर्नुहोस ।
७.काम गर्ने ठाँउ र बस्ने ठाँउ कता छ रु भोली डिपेनडेन्टमा आउनेलाई भिषा लगाईदिने नलगाईदिने, काम पाँउछ कि पाउँदैन सोध खोज गर्नुस
८. आफु जान लागेको रेस्टुरेन्ट भएको ठाउँको वातावारण कस्तो छ राम्रो संग बुझ्ने जस्तै स्( रेस्टुरेन्ट भएको ठाउँ चिसो ठाउँ हो कि, गर्मी ठाउँ हो कि आदि ।
९. डिपेनडेन्टमा आउने बेलामा गर्नु पर्ने केहि डकुमेन्टेसनको काम र चाहिने डकुमेन्टहरु के के चाहिने हुन्छ बुझेर केहि तयारी गर्नु पर्ने डकुमेन्ट तयारी गर्ने
१०. भिषा तथा इजिबिलिटि को डकुमेन्टेसनको काम गर्दा सम्वन्धित ठाउँबाट गरे पनि पेस गर्ने बेलामा समन्धित व्यक्ति आफैले राम्रो संग चेक गरेर मात्र पेस गर्ने
जापान तथा विदेश आइसकेपछि ध्यान दिनु पर्ने कुराहरु :
१. कुनै ठाउँमा जादै हुनुहुन्छ त्यस देशको सामान्य नियमहरु आफुभन्दा जानकार, त्यो देशमा रहेका व्यक्तिहरुसँग सोधखोज गर्ने र अनिवार्य पालना गर्ने
२. जुन देशमा गएपनि तपाई सुरुको अवस्थामा हुनुहुन्छ । त्यसैले सुरुमा त्यस ठाउँ अनुसार डकुमेन्टहरु बनाउनु पर्ने हुन्छ, जापान आउनु भयको छ भने सुरुमा रेसिडेन्ट कार्ड लिए पछि त्यसमा ठेगाना भर्ने बैंक खाता खोल्ने, इन्सुरेन्स कार्ड बनाउने आदि काम गरे पछी अरु कामहरु गर्न पनि अलि सजिलो हुन्छ
३. काम सुरु गर्नु अगाडी सम्झौता अनुसारको काम वा तलब छ की छैन सबै बुझेर सुरु गर्नुहोस् ।
४. नयाँ ठाँउ नयाँ तरीका हुने हुँदा आफ्नो मनखुसी नगरी आफु भन्दा सिनियर सँग सोधेर सिकेर गर्नुहोस।
५. आफुले पनि गरिएका सम्झौतालार्इ सधैँ पालना गर्नुहोस्।
६. डिपेनडेन्टमा आउने श्रीमान तथा श्रीमती लाइ सकेसम्म स्नातक तह अध्ययन सकेर बोलाउनुहोस्, किनभने डिपेन्डेन्टमा आउनेले पनि यदि स्नातक छ र भाषा राम्रो छ भने अरु जापानी कम्पनिमा वर्किगंमा परिवर्तन गर्न मिल्छ र पछि कुक भिषामा आउने व्यक्ति चाहिँ डिपेण्डेन्टमा जान पनि मिल्छ।
७. डिपेनडेन्टमा बोलाँउदा छिटो होइन की भाषा पढ्न लगाएर सामान्य बोल्न सक्ने बनाएरमात्र बोलाउनु राम्रो हुन्छ ।
८. अरुको कुरा सुनेर विभिन्न संगठन मा लाग्ने ,आफु आएको कम्पनिलाइै थाहा नै नदिइ काम छाड्ने, लुकेर बाहिर काम गर्ने जस्ता कुरा कहिल्लै नगर्नु , यदि चेकिङ्ग परेमा कार्वाही तथा डिपोर्ट पनि गर्न सकिने हुनसक्छ
ियदि माथि उल्लेखित कुरा तपाईले पालना तथा सम्पूर्ण जानकारी लिनुभएको छ भने तपाई जापान सहित जुनसुकै देशमा कुक भिषामा जानुभएमा तपाईले सामर्ना गर्नपर्ने धेरै समस्याहरु आफैं समाधान हुनेछन् ।
सुरेश घिमिरे ( KOP Company ) Saitama japan