रोजगारीका सिलसिलामा दैनिक सयौं नेपाली विदेशिरहेका छन् । पछिल्ला केही बर्षहरुमा नयाँ पुस्ताका जनशक्ति विद्यार्थी भिसामा अमेरिका, जापान, अष्ट्रेलिया, यूरोपलगायत देश जानेक्रम पनि बढिरहेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेको संख्या पनि दैनिक बढिरहेको छ । विभिन्न खाडी मुलुक लगायत मलेसिया, कोरिया, मकाउलगायतका देशहरु नेपालीको भरपर्दो रोजगार गन्तब्य बनिरहेको छ । पछिल्लो समय नेपाल र जापान सरकारबीच भएको सम्झौता अनुसार नेपालीका लागि जापान पनि अब रोजगारको आकर्षक गन्तब्य बन्ने पक्कापक्की जस्तै भएको छ । जापानले नेपाल लगायत अन्य देशबाट ३ लाख ५० हजार कामदार लैजाने निर्णय गरिसकेको छ ।
सन् २०१९ अप्रिल महिनाबाट जापानले कामदार लैजान सुरु गर्दैछ । विदेशी कामदारहरूले १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न पाउनेगरी दुई प्रकारका नयाँ भिसा अनुमति प्रणालीमार्फत कामदारलाई जापान पुर्याइने छ । अब भने नयाँ आवासीय नीति अनुरुप दक्ष नेपाली कामदार जापान पठाइने सरकारी तयारी छ । उच्च दक्षता भएका कामदारहरुले यहाँ भिसाको अवधी थप्न पाउनेछन् र सेवा सुविधाहरु पनि थपिने छन् ।
जापानमा आधिकारिक रुपमा बसोबास गरिरहेका नेपालीहरुको संख्या ८५ हजारको हाराहारीमा रहेको छ जसमा अधिकांश विद्यार्थी र कामदार छन् । व्यावसायीका रुपमा पनि नेपालीहरुको संजाल ठूलो छ । हाल जापानमा बसेर अध्ययन र रोजगारी गरिरहेका युवाहरुले हामीसँग जापानको सुःखदुःख वा अनुभव साटेका छन् ।
नेपाली र जापानीलाई सुविधा समान छ- राजन गौतम

म धादिङबाट जापान आएको पाँच बर्ष भयो । यहाँ एक टेलिफोन सेवा प्रदायक कम्पनीमा कार्यरत छु । दैनिक आठ घण्टा काम गर्नुपर्छ बढी समय गर्नुपर्दा ओभरटाइमको छुट्टै पैसा पाइन्छ ।
भिसा अनुसारको तलब सुविधा तोकिएको हुन्छ । यहाँ सामान्य नेपाली वा जापानी सबैको तलबस्तर समान हुने गर्दछ । त्यसैले यहाँ आएर जापानी कम्पनीमै जागिर खाने व्यक्तिले न्युनतम मासिक दुई लाख कमाउँछन् ।
कामको अनुभव, सीप तथा शैक्षिक र प्राविधिक योग्यता थपिदै जाँदा तलव मासिक चारलाखसम्म हुनेगर्छ । सम्झौता अनुसार तलब नपाईने समस्या यहाँ पनि छ । त्यसैले दलालहरुसँग सचेत रहनुपर्छ । विद्यार्थीको हकमा हप्तामा २८ घण्टा काम गर्न पाइन्छ तर त्यसबाट आएको तलबले खान बस्न नै हम्मे पर्छ ।
२८ घण्टा भन्दा बढी काम गर्दा भिसा एक्स्टेन्सन नहुने, राम्रो काम नपाउने लगायतका समस्याहरु छन् । नेपालीहरुका हकमा भाषागत समस्या हो । जापानी भाषामा दक्षता हासिल गर्नुपर्छ । साथै हातमा प्राविधिक सीप नहुँदा अर्को समस्या पर्छ । जापान आउनु अघि जापानी कानुन, नियम, भाषा र सीप जान्नु जरुरी हुन्छ ।
सही मरामर्श र भाषामा कमजोर हुँदा समस्या - गणेश विष्ट

नेपाली संस्कारमा हुर्किएका हामीलाई जापानमा काम गर्न कठिन छ । खोटाङबाट जापान आएदेखि म कडा परिश्रममा दिन विताइरहेको छु । म दैनिक १२ घण्टा काममा खटिन्छु ।
हुनत काममा हाकीमदेखि सामान्य कामदार पनि उत्तिकै खटिन्छन् । तर यहाँको भाषा, संस्कृति, दैनिक जीवनशैलीसँग एडजस्ट हुन नेपालीलाई धेरै समय लाग्ने रहेछ । सही मरामर्श र भाषामा कमजोर हुँदा नेपालीले आत्महत्या पनि गरिरहेका छन् । जापानीहरु धेरै खट्ने मजदुरलाई राम्रो मान्छन् । तर नेपालीलाई त्यति राम्रो व्यवहार गरिरहेको पाएको छैन ।
विद्यार्थी भिसामा आएकालाई काम खोज्न गारो, कामदार भिसामा आएकालाई त जापानीज संस्कार र संस्कृतिमा एडजस्ट हुन नै धेरै समय लाग्ने रहेछ ।
१४ घन्टासम्म परिश्रम गरिरहेको छु -अच्युत जंग थापा

म सन् २००८ मा नुवाकोटबाट जापान आएको हुँ । रेष्टुरेन्टको कामदार भएकाले दैनिक १२ देखि १४ घण्टा खट्छु । तर नेपाली कामदारहरुलाई यहाँको भाषा र संस्कृतिले धेरै समस्यामा पार्छ । कमाउन त यहाँ आएका नेपालीले १ लाख देखि २ लाख २० हजारसम्म न्यूनतम कमाउँछन् । तर परिश्रम धेरै गर्नुपर्छ । जुन पेशामा आबद्ध हुने हो सो कुरा नेपालमै निर्णय गरेर आउँदा राम्रो हुन्छ । नत्र यहाँ आएर अलमल परिन्छ र धेरै दुःख पाइन्छ ।
ठूलो समस्या भनेकै भाषा हो -तारा नेपाल

म सिन्धुपाल्चोकबाट जापान आएको ६ बर्ष भयो । यहाँको रेष्टुरेन्टमा काम गरिरहेको छु । तर परिश्रम र मेहेनत धेरै गर्नुपरिरहेको छ । नेपालीहरुका लागि ठूलो समस्या भनेकै भाषा हो । तर यहाँ मेहेनती, इमान्दार र अनुशासित भएर काम गर्न सकियो भने राम्रो कमाउन सकिन्छ ।
आत्मबल बलियो बनाएर जापान आउनुहोला -चासिला वाइबा तामाङ

म काभ्रेबाट चार बर्ष अघि जापान आएको हुँ । एउटा जापानिज कम्पनीमा काम गरेर मासिक दुईलाख सम्म कमाउँछु । जापान सरकारले दिने विभिन्न प्रकारका भिसा अनुसार पनि कमाइ फरक पर्छ ।
त्यसैले जापान आउनुभन्दा अगाडी आत्मबल बलियो बनाएर हातमा सीप लिएर मात्र आउनुपर्छ । जस्तोसुकै काम गर्न र खटिन तयार हुन्छु भन्ने मानसिकता बनाउनुपर्छ । यहाँ कानुन कडा छ, परिवार ल्याउनलाई पनि समस्या पर्छ ।
जीवनस्तर मंहगो छ, कमाए अनुसार बचत हुँदैन -सिर्जना केसी

गुल्मीबाट जापान आएको दुईबर्ष नाघ्यो । भाषा विद्यालयमा अध्ययन पछि म काम गर्न थालेको छु । दुई ठाउँमा काम गरेर महिनाको सरदर दुई लाख रुपैंयाँ कमाउछु । सुरुमा भाषा र नियम नजान्दा धेरै दुःख पाइयो । खाना र संस्कृति नबुझ्दा पनि दुःख पाइन्छ तर विस्तारै बानी पर्छ । सकेसम्म नेपालमै एनफोर लेभलसम्मको भाषा सिक्दा राम्रो हुन्छ । तर जापानको जीवनस्तर मंहगो भएकाले कमाइ अनुसार बचत गर्न चाहीं निकै समस्या पर्छ ।
योग्यता अनुसारको सुरक्षित जागिर पाइन्छ - नविना दाहाल

काभ्रेबाट जापान छिरेको दुईबर्ष बढी भयो । पढ्दै काम गरिरहेको छु । जापान सुरक्षित र योग्यता अनुसार जागिर पाउन सकिने देश हो ।
भाषामा दक्षता र हातमा सीप भएपछि यहाँ राम्रो जागिर पाउन समस्या छैन् । तर परिश्रम चाहीं धेरै गर्नुपर्छ । जापानको नियम र संस्कृतिका बारेमा मजाले अध्ययन गर्नुपर्ने रहेछ ।
जापान आउनुअघि जान्नै पर्ने तीन कुरा भाषा, भिषा र नियम -सुमित गिरी

सन् २०१४ मा बर्दियाबाट जापान आएको हुँ । विना योजना आउँदा धेरै दुःख पाइने रहेछ । यहाँको नियम र भाषाका बारेमा धेरै ज्ञान लिनुपर्छ ।
भिसा, भाषा, नियम नजान्दा धेरै दुःख पाइने रहेछ । धेरै पैसा कमाउँछु भन्ने सपना नदेख्दा राम्रो हुने रहेछ । न्यूनतम यहाँ कमाइ हुने भनेको एक देखि दुईलाखा रुपैंयाँसम्म हो । तर खर्च धेरै हुने भएकाले बचत गर्न समस्या पर्छ ।
कतिपय स्थानमा नेपालीहरुले नेपालीहरुकै ब्यवहाबाट े पनि दुःख पाइरहेका छन् । त्यसैले जापान आउनुअघि भाषामा ज्ञान, भिषाको प्रकार र काम, यहाँको नियम जान्नु अत्यावश्यक छ ।
भाषा र अनुशासन यहाँको पहिचान -ज्याक खड्का

जापान शान्त र अनुशासित देश हो । नेपालमा जस्तो कानुन उलंघन गर्दा यहाँ कसैले पनि छुट पाउँदैन । भाषा र अनुशासन यहाँको पहिचान हो । त्यसैले यसका बारेमा जानकार रहनुपर्छ ।
जापानको टोकियो, साइतमा कानागावा, इबरागी, तोचिगी, ओसाका, नागोयालगायतका स्थानमा नेपालीको धेरै बसोबास छ ।
नेपालबाट आउन लाग्नु भएका वा चाहना भएका व्यक्तिले कुन स्थानमा जान लागेको हो त्यहाँको बारेमा बुझेर, जापानी भाषा र यहाँ रहेका नेपालीहरुसँग जानकारी लिएर, पढाई, काम, कमाई र बचत बारे बुझेर आए पछि पछुताउनुपर्दैन ।
२८ घण्टा काम गर्ने समयनै विद्यार्थीको लागि समस्या -विष्णु रोकाया

कालीकोट जिल्लाको म अध्ययनको लागि केही समय काठमाडौंमा रहेँ । जापान आएको ८ महिना भयो । विद्यार्थीको रुपमा आएको मेरो अनुभवले बिदेशीहरुको लागि भाषा नै जापानको महत्वपूर्ण पक्ष हो । भाषा जानेको र नजानेकोमा काम, कमाई, जापानीले गर्ने व्यवहार, आत्मबल, देखी यहाँको समग्र संघर्षमै फरक पार्दछ । विद्यार्थीले हप्ताको २८ घण्टा मात्र काम गर्न पाउने नियम छ । त्यो भन्दा बढी काम गरेको भेटिएमा भिषा लाग्ने सम्भावना न्यून हुन्छ अर्थात् नेपाल फर्कनुपर्ने हुन्छ ।
नेपाली विद्यार्थीहरु प्राय कसैले पनि त्यो नियम पालना गरेको पाएको छैन । अर्थात् तोकिएको समयभन्दा बढी काम गर्ने गर्छन् । तर बढी काम गरेको नदेखियोस् भनेर हातमै पैसा पाउने काम देखी धेरैवटा बैंक खाता खोलेर कम्पनी पिच्छे बैंक खाता प्रयोग गर्ने गर्दछन् । यसो गर्नुको कारण भिषामा समस्या नपरोस् भनेर हो । कमाई महिनाको १५ मान देखी २ लाखसम्म हुन्छ । तर खर्च, विद्यालय शुल्क सबै कटाउँदा मुस्किलले १ लाख रुपैयाँ बचत हुन्छ ।
ठाउँ हेरेर कमाई पनि फरक हुने गर्छ भने खर्च पनि त्यसै अनुसार हुने गर्छ । जापान आउनुअघि दिनको कम्तिमा १० घण्टा काम गर्न सक्छु, दिनको ६ वा त्यो भन्दा कम सुतेर पनि संघर्ष गर्न सक्छु, भाषा अध्ययन प्राथमिकतामा राख्ने अनि जापानको कडा नियम र अनुशासन पालना गर्ने दृढ संकल्प सहित आएमा केही बर्षको कठिन संघर्षपछि नेपाल फर्कनु पर्दापनि धेरै कुरा सिकेर जान सकिन्छ ।
जापानमा भिसा र काम

हाल २७ वटा विविध शिर्षकको भिसामा जापानमा बस्न पाइन्छ । जसमा अब दुई वटा थपेर २९ वटा भिसा प्रकार बनाउने तयारी जापानको छ । जापानले नयाँ भिषा प्रक्रिया अनुसार लिने कामदारलाई अर्धदक्ष र दक्ष कामदार छुट्टाएको छ । जसको पाँच बर्षे भिसा कायम गरिएको छ । दक्ष कामदारका हकमा भने भिसा नवीकरण सहज हुने भएको छ । आप्रवासी नीतिमा खुकुलो बनाएको जापानले विभिन्न क्षेत्रमा नेपालीहरुलाई पनि रोजगारीको अवसर प्रदान गर्ने तयारी गरिहेको छ े ।
नेपालीहरुले करिब १४ वटा औद्योगिक क्षेत्रमा कामको अवसर पाउनेछन् । जसमा होटल, रेष्टुरेन्ट, निर्माण, कृषि, उद्योग, नर्सिङ केयरलगायत छन् । तर यि काममा जान न्युनतम भाषा र सम्वन्धित सीपको दक्षता अनिवार्य चाहिने व्यवस्था गरिने बताईएको छ । खवरहरु अनुसार भाषा परीक्षा मार्फत कामदार छनोट गरिने छ । कामदारलाई कति खर्च लाग्ने भन्ने निर्णय नभएपनि शुन्य लागत अर्थात् कामदारले कुनैपनि शुल्क तिर्नुनपर्ने जापानी समाचारसंस्थाहरुले बताएका छन् ।
पत्रकार युवराज गौतमले साप्ताहिक पत्रिकामा लेख्नुभएको यो समाचार सामग्री साभार गरिएको हो ।