मेरो जन्म हुनु पहिले नै दुई बच्चा खेर गएका, म सामान्य किसान परिवारको छोरो,आमाले मलाइ जन्म दिनु भएको केही घन्टा अघि सम्म जंगलमा घाँस दाउरा गर्दै हुनुहुन्थ्यो रे । त्यसै दिन जंगलमा गैंडाले लखेटेछ। सर्किनी माइली, मेरो आमा अनि गाउँघरका अन्य दिदी बहिनी संग जंगल जानू भएको मेरो आमा बेथा लागेपछी हतार हतार घांसको भारी फालेर मकै बारिमा जानू भएछ, साथिमा थिइन सर्किनी माइली ।
पुसको १ गतेको चिसो ठन्डीमा मकै बारिमा मेरो जन्म भयो । दुई बच्चा खेर गैसकेका, यो पनि मर्छ कि भनेर आमाले मलाइ जन्मने बित्तिकै तल्लो जातको छोरो बनाउन पर्छ रे भनेर सर्किनी माइली (गाउँमा त्यही नामले बोलाउथे) को दूध पिलाएर उनको छोरो बनाउनु भएछ। कसैले आमालाइ तल्लो जातको धाइआमा भयो भने बच्चा मर्दैन रे भनेर लगाएछन।त्यसदिन देखि सर्किनी माइली मेरो धाइआमा बन्नु भो कसैले आमालाई तल्लो जातले लगाएको फरियाको भोटो बनाइदे रोग लाग्दैन मर्दैन भनेर लगाएछन।मेरो घर भन्दा केही पर बस्ने दमिनी माइली दिदिको फरियाको भोटो सिलाइदिनु भएछ मेरा लागि ।
सानै थिए जात के हो उच निच के हो केही ज्ञान थिएन। नेपाली समाज भित्र छिरेको छुवाछुतको कुप्रथा बाट मेरो घर पनि अछुतो थिएन। छोइछिटो बार्ने, तल्लो जात भनिएकालाइ भाडा अलग गर्ने,भांडामा आगोको कोइला हालेर पानीले निभाएर चोख्याउने यस्तै यस्तै देख्दै आएको थिएं ।
आठ बर्षको भए पछि मेरो ब्रतबन्ध गर्ने समय भयो। सबै गाउँकालाइ निम्तो थियो त्यसमा मेरो धाइ आमा पनि आउनु भयो । ब्रतबन्धमा,बिहेमा धाइ आमालाइ पनि आफ्नो गक्ष अनुसार कपडा नगद दिने चलन रहेछ।त्यसै क्रममा धाइ आमालाई पनि कपडा र पैसा दिने समय आयो।मेरो घरको डिल भन्दा माथी अलगै भएर धाइआमा बस्नु भएको थियो । मेरो आमाले ब्लाउजको कपडा र नगद धाइ आमालाइ नछोइ दे बाबू भन्नू भयो । मैले अल्क्क धाइआमालाइ नछोइ कपडा र नगद दिए । त्यो परिस्थितिले मेरो मस्तिष्कमा एउटा तरंग पैदा गर्यो । जुन आमाको दूध मैले पिए,त्यही आमालाइ मैले छुन नहुने कस्तो कुचलन,कस्तो पाखन्ड,यो पक्कै गलत हो भनेर मेरो बाल मस्तिष्कमा त्यसै बेला देखि जरो गडेको थियो ।
सानै थिए आंट गरेर बोल्न सकिन, तर पनि धाइ आमाको छोरा भाइ अनि दिदी संग खेल्न जान्थे,स्कुलमा हुदा पनि मेरो सबैभन्दा मिल्ने साथी सानो जात भनिएकैहरु थिए । आठ कक्षामा पढ्दा एकदिन एउटि केटि साथिलाइ घरमा जात नभनी लिएर गए।घरको सबै तिर बस्न छुन मलाइ त आपत्ती भएन, तर मेरो हजुरआमाले उसको बुवालाइ चिनेका रहेछन बेलुका धन्दै मलाइ मार्नु भएन गाली गरेर।
समय बित्दै गयो, जात साचै के रहेछ ? साचै नै यो त धर्म बाट नभै अधर्म बाट अछुत बनाइएको रहेछ। पुरातन समाजका केही ठगहरुले अनि हाम्रो कमजोरी खोज्ने विदेशी शक्तीहरुले यो कुप्रथालाइ झन मलजल गरेका रहेछन।मैले जातको विसयमा धेरै बुझ्ने प्रयत्न गरेर सन्तुष्ट भएपछी घर परिवारलाई बुझाउन कोसिस गरें।अहिले मेरा बुवा आमाले पनि बुझ्दै हुनुहुन्छ, जातलाई छुवाछुतलाई धर्म र पापमा लगेर जोडिदिए पछि पुराना पुस्ताहरु डराउनु स्वाभाविक हो, हामिले बुझेकाले बुझाउन सक्नु पर्दछ, कोसिस गर्नु पर्दछ।आज घर ब्यबहारको कारणले केही बर्षदेखि परदेशमा छु ।
मलाइ मेरो ती धाइआमाको याद आइरहन्छ।एक पटक ती आमाको पाउमा ढोगेर "आमा आफ्नो स्वार्थका लागि तिम्रो दूध चल्ने समाजले तिमिले छोएको पानी चलाएन, मलाइ माफ गर्नु होला मेरो परिवारले गरेको अनि जानी नजानी मैले गरेको त्यो अपराधबाट मलाइ मुक्त गरिदिनु होला´ भन्न मन लागेको छ। बर्सौ देखिको मेरो घुटन सबै निकाल्न मन छ । तिम्रो हातले पकाएर दिएको एक निवाला संगै बसेर खान मन छ। आखिर तिमिले मलाई तिम्रो दूध पिलाएकी छौ। तिम्रो मातृवत्सल कुनै दिन मलाइ पनि बाडेकी थियौ आमा। तर मैले यो समाजले सिकाएको कुप्रथालाइ बर्सौ सम्म तोड्न सकिन तिमिलाइ आमा भनेर अंगालो हाल्न सकिन, तिमिलाइ झन कस्तो मन दुख्यो होला ।
एक पटक तिमिसंग भेटेर माफी माग्न मन छ, एक पटक रुन मन लागेको छ अनि मेरो आँसु संगै यो कुप्रथा सदैका लागि बगाउन मन छ ।